२०६० सालतिरको कुरो हो महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययन गर्दै गर्दा एकजना साथी मार्फत बास नेपाल तत्कालिन बागेश्वरी असल शासन क्लवको गडियनपुर गणेश मन्दिरको भवनमा रहेको कार्यालयमा पुगेको थिएँ । क्लबको कार्यालय बेलुका ५ बजे देखी खूल्दो रहेछ ।
त्यतिखेरै म टुडे नेपाल नामक स्थानीय दैनिक पत्रिकामा काम गर्थें ।केही दिन अगाडी समाचार संकलनको क्रममा भेटिएका ब्यक्ति नमस्कार शाह सोही कार्यालयमा अध्यक्ष हुनुहुँदो रहेछ । सानो टेबुल एउटा काठको कुर्सीमा अध्यक्ष र एउटा सानो फलामको बेन्चमा अन्य पदाधिकारीहरु बस्नुभएको थियो । दुई घण्टा जति उहाँहरु सँगै बसेर उहाँहरुको कुराहरु सुने साथै उहाँहरुको भ्रष्टाचार बिरोधी कार्यक्रमहरुको बारेमा जानकारी पाएपछि त्यही दिन नै क्लवको साधारण सदस्यता लगें । साधारण सदस्यता लिएको ३ महिनामै क्लवको अबिधेशन भयो, सोही अबिधेशन बाट म सहसचिव पदमा बिजय भई मेजर फाईभमा काम गर्ने अवसर पाएँ ।
संस्थामा काम गर्दै गर्दा बिभिन्न चरणमा असल शासनका लागि स्थानीय जागरण तालिम, उद्घोषण तालिम, नेतृत्व बिकास तालिम, आधारभुत पत्रकारिता तालिमहरु लिने अवसर पाएँ भने प्रो. पब्लिक असल शासन कार्यक्रमका निर्र्देशक केदार खड्का बाट असल शासनका लागि स्थानिय जागरण तालिमको प्रशिक्षक प्रशिक्षण तालिम ९ त्इत् ० पनि लिने मौका पाएँ । जुन तालिमा बिभिन्न जिल्लाहरुबाट आएका रेडियो श्रोता क्लवका साथीहरु सँग पनि भेट भयो । संस्थामा काम गर्दै गर्दा नमस्कार शाह, शम्भुराजा रेग्मी, गणेश खड्का, सिता बोहरा, उमा थापामगर, बिबेक पराजुली, टेकराज रानाभाट, ईश्वर जिसी, खडक रावत, शिव थापा, रमेश सिटौला, युवराज जंग शाह, शिवा शाह, संगिता जिसी, चम्पा कडायत, सरिता काफ्ले, मणीराम बटाला, दिनेश गौतम, ईश्वर बिक, राजु लामिछाने, रज्जव बागवान, कल्पना अधिकारी, भुपेन्द्र बस्नेत, सुशिल थापा, खड्क केसी, चिरिञ्जीबी वली लगायत बाँके जिल्लाका तत्कालिन गाबिसहरुका रहेका उपशाखाका धेरै साथीहरु सँग सहकार्य गर्ने अवसर प्राप्त भएको थियो ।
बिभिन्न भ्रष्टाचार बिरुद्ध कामहरु गर्ने क्रममा हामीले बिभिन्न सरकारी कार्यालयका कर्मचारीहरु समयमा कार्यालय उपस्थित हुन्छन् की हुदैनन् भनेर फरक दिन फरक कार्यालयमा असल शासनका लागि नागरिक अनुगमन गथ्र्यौं । भ्रष्टाचार बिरुद्ध खबरदारी गर्ने भ्रष्टाचार बिरुद्ध शुद्धीकरण कार्यक्रम गर्ने गर्दथ्यौं ।
सार्बजनिक सरोकार राख्ने कार्यालयहरुमा नागरिकहरुले सरल तरिकाले सेवा पाए नपाएको बिषयमा नागरिक गुनासो लेखन कार्यक्रमहरु गथ्र्यौं ।
संस्थामा कुनै श्रोत थिएन, सबै हामी स्वयंसेवक रुपमा काम गथ्र्यौं । भ्रष्टाचारका बिरुद्ध काम गरिरहँदा आफ्नो खर्च चलाउन हामी सबैलाई धौ पथ्र्र्यौ । यहि क्रममा नेपालगञ्ज बुलबुलियामा रहेका नेपाल प्रेस ईन्सिटच्युटबाट ३ महिने पत्रकारिता तालिम पनि लिने अवसर प्राप्त गरेका थिएँ । जतिखेर मा बासुदेब श्रेष्ठको सम्पादनमा प्रकाशन हुने पत्रिका उज्यालो साप्ताहिक, पुर्ण ढकाल सम्पादक रहेको पत्रिका दिशानिर्देश साप्ताहिकमा प्रतिनिधि र हाम्रै संस्था बाट प्रकाशित असल शासन साप्ताहिकको सहसम्पादकमा काम गरीरहेको थिएँ ।
असल शासनका लागि स्थानिय जागरण तालिम र उदघोषण तालिम दिन एक्लै झोला बोकेर बर्दियाको बगनाह, भुरीगाँउ, टिकापुर, बाँकेका बनकटवा, बानियाभार, चिसापानी, कम्दी, सितापुर, राधापुर, फत्तेपुर, कचनापुर, समशेरगञ्ज सम्म पुग्ने गर्दथे भने कहिले काँही त झोला बोकेर हिँडेपछि कार्यालयमा एक हप्ता पछि मात्र आउँथे । बाँकेका बिभिन्न गाँउ बिकास समितिमा उपशाखा गठन गर्ने र उनीहरलाई सुशासन, पारदर्शिता, जवाफदेहीता र सुचनाको हकको बिषमा तालिम दिनुका साथै साप्ताहिक पत्रिकामा समाचार लेख्ने काम गर्दै आएको म केही समय आफैले लेखेका समाचारका कारण धेरै तनाव भोग्नु पर्यो । आफ्नै गाउँको स्वास्थ्य चौकीको हबिगतको बारेमा समाचार लेख्दा ६ महिना सम्म घर जान नपाएको पिडा अहिले पनि सम्झना आउँछ । गोकर्णको तालुमा आलु, नर्सिङ होम हात्तीको देखाउने दाँत, स्वास्थ्यका कर्मचारीको हालीमुहाली लगायतका समाचारले केही समय तनाव दिएका थिए । संस्थाका अध्यक्ष नमस्कार शाहको साथ र उहाँको जोश र जाँगरले भ्रष्टाचार बिरुद्धको यात्रामा हौसएिको म सहसचिव भएर काम गर्दै आएपनि केही समय कोषाध्यक्षको जिम्मेवारी पनि सम्हालेको थिए ।
२०६१ को अबिधेशनमा सबैको सल्लाह र आग्रहमा केन्द्रीय उपाध्यक्षमा लडें तर साथी शिव थापासँग झिनो मतले पराजित भएँ । भ्रष्टाचार बिरुद्धको अभियानमा सक्रिय हुन अध्यक्ष नमस्कार शाहको प्रेरणाले गर्दा पराजित भएपनि यो यात्रामा अगाडी बढ्ने मेरो चाहना रोकिएन । जस्ले गर्दा केही समय पछि नै केन्द्रीय उपाध्यक्ष पदमै रहेर काम गर्ने अवसर पाएँ । सोही क्रममा अफिसमा दैनिक हाजिर हुनेहरु मध्ये केही साथीहरु न्युनतम पारिश्रमिक लिने गरी कर्मचारीको रुपमा काम गर्ने अवसर पाएँ । जसमा अध्यक्ष नमस्कार शाह निर्देशक र म उपनिर्देशकको भुमिकामा रह्यौं । जति खेर मेरो तलव ४ हजार थियो जुन त्यतिखेर राम्रै तलब पाएको महशुस भएको थियो ।
पहिलोपटक तलव पाउनेगरी काम गर्दा निकै उत्साहित भएँ । त्यो भन्दा पनि यस संस्थामा लागेर धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको थिएँ । स्कुले जीवनमा कसैसंग नि बोल्न डराउने, आफ्नो परिचय पनि दिन गाह्रो लाग्ने म मा धेरै मान्छे अथवा समुहमा बोल्न सक्ने हिम्मत बढेको थियो । २०६२ को जनआन्दोलन पश्चात केही समय बैदेशिक यात्रामा जाने निधो गरे । जुन कुरा सुनेर अध्यक्ष तथा निर्देशक नमस्कार शाहले बिदेश नजान सुझाव दिनु भएको थियो तर पनि म गएँ ।
बिभिन्न कार्य ब्यस्तता, बिभिन्न समय परिस्थितिका बाबजुत म जहाँ रहेपनि नमस्कार शाह सँग प्रत्यक्ष सम्पर्क मै रहेर संसथाका बिभिन्न गतिबिधिहरुका बारे अवगत नै हुन्थे । सोही क्रममा बास नेपालले मलाई बिदेश प्रतिनिधिको पनि जिम्मेवारी प्रदान गरेको थियो । बैदेशिक यात्रा सकेर २०७८ मा स्वदेश फर्केपछि फेरी पनि बास नेपाल सँग जोडिन पुगे । अहिले बास नेपालको जनसम्पर्क अधिकृत तथा असल शासन पोष्टको सह सम्पादकको रुपमा काम गर्ने अवसर पाएको छु । काम गर्दै जाँदा बिभिन्न चुनौती त हुन्छन् नै तर पनि चुनौती भन्दा नि धेरै उपलब्धिहरु भएको महशुस गरेको छु । २०५७ सालमा स्थापना भएर हाल २५ औं बर्ष रजत समारोह सम्म आईपुग्दा संस्थामा धेरै आरोह अवरोह छिचोलेको यस संस्थाले हाल देशका सबै जिल्लामा आफ्नो सञ्चालीकरण गरेर सशक्त रुपमा अभियान सञ्चालन गर्दै आएको छ ।
संस्था स्थापनाकालका सहकर्मीहरु सबैले आ आफ्नो गन्तब्य तताउँदा समेत अडिक भएर संस्थालाई सम्हालेर राख्ने संस्थापक सचिव शाह र तत्कालिन अबस्थामा आआफ्नो कार्य ब्यस्तताका बावजुत संस्थाबाट बाहिरिएका सम्पुर्ण मित्र तथा शुभचिन्तकहरुको माया र साथले सस्था यो अवस्था सम्म आईपुगेको छ ।
संस्था रजत बर्ष सम्म आईपुग्दा संस्थामै काम गरेका साथीहरु हाल कोही राष्ट्रसेवकको रुपमा सरकारी उच्च पदमा काम गरिरहेका छन« भने कतिपय कलाकारिता देखी बिभिन्न ब्यवसाय सञ्चालन गरिरहेका छन् ।
संस्थागत कामकै शिलशिलामा बिभिन्न क्षेत्रमा गएर आफ्नो परिचय दिदैगर्दा ए होर म पनि शुरुवाती चरणमा बास नेपालमा काम गरेको, ए हो म पनिसंस्थाको सदस्य थिए, म अहिले यो स्थान सम्म आईपुग्न बास नेपालको योगदान रहेको छ जस्ता उहाँहरुको प्रतिक्रिया सुन्दा गर्व लाग्छ ।
७७ जिल्ला शाखा ४९ उपशाखा ६३ ईकाई र ५ हजार बढि युवाहरु आबद्ध भएको यस संस्थाले देशमा ब्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ति, घुसखोरी जस्ता बेथितिका बिरुद्ध सशक्त रुपमा अभियान सञ्चालन गर्दै आएको छ भने असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बालअधिकार, बाल संरक्षण, लैंगिक हिँसा न्यूनीकरण, सामुदायिक सशक्तिकरण र संस्थागत विकासका क्षेत्रमा काम गर्दै देश ब्यापीरुपमा आवाज उठाउँदै र खबरदारी गर्दै आएको छ । बिभिन्न जिल्लाहरुमा रहेका शाखाहरुबाट मासिक रुपमा साझा कार्यक्रमहरु गर्दै आएको छ । तत्कालिन अबस्थामा बाँके जिल्लामा सिमित बागेश्वरी असल शासन क्लव हाल देश ब्यापी मात्र नभई बिदेशमा समेत बिदेश प्रतिनिधि राखेर काम गर्दै आएको छ ।
बास नेपाल जस्तो संस्थामा लागेर भ्रष्टाचार बिरुद्धको अभियानमा लागेर गर्वको महशुस गरेको छु । काम त जस्ले पनि जहाँ पनि गर्न सक्छ तर भ्रष्टाचार बिरुद्धको अभियानमा काम गर्नु चानचुने कुरा हैन । ७७ जिल्लामा संगठन बिस्तार गरेका यस संस्थामा मैले सबै जिल्लाहरु सँग समन्वय र सहकार्य गर्दै आएको छु । सबै जिल्लाहरु सँग सम्पर्क भएको छ, सम्बन्ध बिस्तार भएको छ । सबै जिल्ला शाखाहरुबाट संस्थाको उद्धेश्य अनुरुपको अभियान सञ्चालन भएको छ त्यो नै खुशी लाग्छ । लाग्छ भबिश्यमा म जहाँ जुन अवस्थामा रहेपनि यस संस्था प्रति मेरो धारणा, संस्थाको उद्धेश्य बिपरीत कहिल्यै पनि लाग्ने छैन ।
जय बास, जय शुसासन ।
(कार्की बास नेपालको जनसम्पर्क अधिकृत हुन् ।)









