नेपालगञ्जको आकर्षण वाटरपार्क

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ नेपाल देशको नाममा बनेको एक मात्र सहर नेपालगञ्ज । नेपालगञ्जलाई चिनाउने धेरै स्थानहरु छन् । त्यस मध्येको एक हो –नेपालगञ्जको धम्बोझीमा अवस्थित वाटरपार्क । उक्त पार्क आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ ।

तालको पुनःनिर्माणसँगै तयार भएको पूर्वाधार विकासले पर्यटकको पहिलो रोजाईमा पर्न थालेको हो ।

वाटरपार्क सहरको बीच भागमा रहेकाले सर्वसाधारण सजिलै त्यहाँ पुगेर रमाउने गरेका छन् । वाटरपार्कको पुनःनिर्माणसँगै मोटरबोट सञ्चालन भएपछि त्यहाँ आन्तरिक पर्यटकको चापबढेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं १ का वडाध्यक्ष प्रमोद रिजाल बताउँछन् ।

वडाध्यक्ष रिजाल वाटरपार्क जिल्लाकै प्रमुख पयर्टकीय क्षेत्रको रूपमा बिकसित भएको बताउँछन् ।

वाटरपार्क घुम्न, व्यायम गर्न र बोटिंगका लागि आकर्षणको केन्द्र बनेको छ । चुच्चे आकारको फराकिलो वाटरपार्कको सौन्दर्यमा जो कोही मोहित हुने गरेका छन् ।
विसं २०६५ मा सुुरु भएको वाटरपार्क योजनाअनुसार त्यहाँ आकर्षक फूलबारी, बाल उद्यान लगायत संरचनाहरु निर्माण भएका छन् ।

पन्ध्र वर्ष पुरानो वाटरपार्क योजनाअन्तर्गत ६५ बिघा क्षेत्रफलमध्ये १० बिघामा तलाउ छ भने बाँकीमा बसोबासको पूर्वाधारयुक्त आधुनिक बस्ती बसाउने योजना छ । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार वाटरपार्क क्षेत्रभित्र छ देखि १८ मिटरसम्मको पक्की सडक निर्माण भएको छ ।

नेपालगञ्जको सुर्खेतरोडबाट बर्दियाको गुलरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडकलाई पनि वाटरपार्कसँग जोड्ने योजना छ । वाटरपार्कमा सेवा प्रदायक कम्पनी बोटेबोराले मोटरबोट सेवा सञ्चालन गरेको छ ।

एक करोड आठ लाखको लागतमा व्यावसायिक सेवा सुरु गरेको कम्पनीले जनाएको छ । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरिङ गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट सञ्चालन गरेवापत नेपालगञ्ज उपमहानगरपालिकालाई वार्षिक रु २५ लाख बुझाउने सम्झौता गरेको छ ।

पर्यटकले मोटरबोट चढ्न रु दुई सय ५० तिर्नुपर्छ । बाह्र सय वर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर शयर गर्न सक्नेछन् । वाटरपार्कमा जेटस्कि, पाँचवटा पावरस्पोट्र्स, फ्लोटिङ रेष्टुरेण्ट, अपोजिट बन्जी, साइक्लिङ, जिपलाइनलगायत सेवा विस्तार गर्ने योजना रहेको सो कम्पनिले जनाएको छ ।
वाटरपार्क नेपालगञ्जमा पर्यटन प्रर्वद्धन गर्ने दृष्टिकोणले वि.सं.२०५४ सालमा स्थापना गरिएको एक ताल हो । जलबिहारका माध्यमबाट पर्यटकलाई मनोरञ्जन दिने उद्धेश्यले तत्कालिन नेपालगञ्ज नगरपालिकाले ४ विगाह २ कठ्ठा ४ धुर जमिनमा वाटपार्क स्थापना गरेको थियो । वाटपार्क नेपालगञ्ज उपमहानगरपालिकाल १ र १८ मा अवस्थित छ । यो नेपालगञ्जको प्रवेशद्धार नजिकै छ । वाटरपार्कलाई मनमोहक ताल पनि भन्ने गरिन्छ ।

वि.स. २०५४ मा निर्वाचित नेपालगञ्ज नगर समितिले तयार गरेको बृहत नेपालगञ्ज पर्यटकीय योजना अन्तर्गत ताललाई आधुनिक पर्यटकीय केन्द्रको रुपमा बिकसित गरिएको हो ।

हाल वाटर पार्क जग्गा एकीकरण आयोजना अन्र्तगत यो पार्क निर्माण भएको हो । वाटरपार्क आयोजनाको क्षेत्रफल झण्डै ६५ बिघा रहेको छ । यसभित्र ६ मिटरदेखि २१ मिटरसम्मको सडक रहेको छ । यसैगरी न्यूनतम कित्ताको क्षेत्रफल ६ धुर र मोहडा पनि ६ धुर नै रहेको छ । ५ प्रतिशत खुल्ला क्षेत्र छुट्टाइएको छ । वाटर पार्क आयोजनामा स्थानीयको ३८ प्रतिशत योगदान रहेको छ ।

वाटरपार्कको १० बिघा तलाउले ओगटेको छ । २०६४ सालमा बस्ती विकासका लागि वाटरपार्क जग्गा एकीकरण शुरू भएको बताईन्छ ।

  • २ बैशाख २०८३, बुधबार प्रकाशित

  • Nabintech