नयाँ वर्ष, नयाँ आशा

कविता

पवनराज उपाध्याय

श्रीगणेशाय नमः।
शुभारम्भ गरौं वाणी, मंगलमय ध्वनि भरौं,
नव वर्षको आगमनमा, हर्षित भई स्तुति गरौं।
जब समयको चक्र घुमी, आयो नव प्रभात,
त्रीआसी साल उदायो, लिएर उज्यालो साथ।
जसरी अयोध्यामा रामको राज्य भयो स्थापना,
त्यसरी नै हाम्रो भूमिमा फैलियोस् शान्ति र साधना।।

नमन गर्दछु सबै जनमा, जोडि श्रद्धाका हात,
सुख, शान्ति र समृद्धिको रहोस् सधैं साथ।
घर–घरमा दीप जलोस्, मन–मनमा उज्यालो,
दुःखका अन्धकार हटून्, फैलियोस् जीवनमा उज्यालो।।

जसरी वनवास सकेर राम फर्किए अयोध्या,
त्यसरी नै दुःख हटेर आउँदै जाओस् सौभाग्य।
अशान्ति, कलह र द्वेष टाढा भागून् सबै,
सद्भाव र प्रेमको फूल फुलोस् मनैमनै।।
जन–जनमा जागोस् उत्साह, उमङ्ग र आशा,
प्रत्येक हृदयमा बसोस् सफलता र विश्वास।
हासो झल्कियोस् ओठमा, आँखा नरोओस् कहिल्यै,
जीवनको बाटो बनोस् सधैं उज्यालो र सहिजै।।

कति छन् नेपालीका सपना, कति छन् रहर,
ती सबै पूरा होऊन्, मेटियोस् जीवनको कहर।
देश बनोस् समुन्नत, बलियो र आत्मनिर्भर,
विश्वमाझ चिनियोस् नेपाल, गौरवपूर्ण र उज्ज्वल।।

नहोस् कोही गुलाम यहाँ, नहोस् अन्यायको शासन,
स्वतन्त्रता र स्वाभिमान होस् हाम्रो पहिचान।
जसरी रामराज्यमा थियो न्याय र धर्मको जीत,
त्यसरी नै हाम्रो देशमा होस् सत्यको प्रतिष्ठित।।

बयासीका अधुरा काम, तिरासीमा पूरा होऊन्,
नयाँ योजना, नयाँ सोच, सफल भई अघि बढून्।
प्रगतिको बाटोमा हामी दृढ कदम चालौं,
समृद्ध नेपालको सपना साकार पारौं।।

हत्या, हिंसा र अन्याय, सधैंका लागि अन्त्य होऊन्,
शान्तिको सन्देशले धर्ती नै स्वर्ग बनोस्।
माया, प्रेम र सद्भावको गुञ्जियोस् मधुर गीत,
मानवता नै बनोस् अब सबैभन्दा ठूलो जीत।।

एकता र सहकार्यले देश बलियो बनाऔं,
मिलेर अघि बढ्दै हामी नयाँ इतिहास रचाऔं।
अधुरा सपना सबै अब साकार बनून्,
नयाँ वर्षसँगै नयाँ आशा पलाउन थालून्।।

अन्त्यमा यही प्रार्थना, यही छ मेरो कामना,
शान्ति छाओस् संसारभरि, रहोस् सधैं सद्भावना।
नयाँ वर्ष २०८३ ले ल्याओस् स्वर्णिम बिहान,
प्रत्येक जीवन बनोस् सफल, सुखी र महान।।

इति शुभम्। 🙏

  • ४ बैशाख २०८३, शुक्रबार प्रकाशित

  • Nabintech