बागेश्वरी मन्दिरमा गायत्री कुण्डीय महायज्ञ सम्पन्न

पवन राज तिमिल्सेना

नेपालगञ्ज / नेपालगञ्ज–२ मा अवस्थित बागेश्वरी मन्दिरको पूर्वपट्टिको प्राङ्गणमा नयाँ वर्ष २०८३ सालको पावन अवसरमा गायत्री यज्ञ तथा ९ कुण्डीय महायज्ञसहित विविध धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएका छन्।

नयाँ वर्षको पहिलो दिन बिहान ९ बजेदेखि १२ बजेसम्म भव्य कलश शोभायात्रा आयोजना गरिएको थियो। उक्त शोभायात्रामा महिला, पुरुष, कन्या तथा बालबालिकासहित ठूलो संख्यामा भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो।

सोही दिन दिउँसो १२ बजेदेखि २ बजेसम्म भोजन प्रसाद वितरण गरिएको थियो। साँझ ४ बजेदेखि ७ बजेसम्म सङ्गीतमय प्रज्ञा पुराण कथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियो। कथा वाचन भारतको वाराणसीबाट पधार्नुभएका गुरु अनिलेश तिवारी ज्युको मुखारबिन्दुबाट सम्पन्न भएको थियो, जसमा सङ्गीत टोलीको समेत आकर्षक प्रस्तुति रहेको थियो।

कार्यक्रम अवधिभर प्रत्येक दिन बिहान ५ बजेदेखि ६ बजेसम्म प्रज्ञा योग व्यायाम, बिहान ८ बजेदेखि ११ बजेसम्म नियमित देवपूजन तथा साँझ ४ बजेदेखि ७ बजेसम्म कथा वाचन कार्यक्रम सञ्चालन गरिएको थियो। त्यसपश्चात् सहभागीहरूका लागि भोजनको व्यवस्था गरिएको थियो।

मुख्य गुरुदेवका अनुसार यज्ञको आयोजना विचार शुद्धीकरण, असल व्यक्तित्व निर्माण तथा सभ्य र पवित्र समाज निर्माण गर्ने उद्देश्यले गरिएको हो। गायत्री परिवार महिला मण्डलकी अध्यक्ष तथा कार्यक्रम आयोजक श्रीमती चन्द्रकला शर्मा ज्युले संस्कार निर्माण तथा समग्र मानव कल्याणका लागि गायत्री मन्त्र उपदेशको आवश्यकता औँल्याउनुभयो। उहाँका अनुसार यज्ञ, पूजा–उपासना र आध्यात्मिक साधनाले लोककल्याणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

कार्यक्रम सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको बताउँदै श्रीमती बसुधा दीक्षितले सबैप्रति आभार व्यक्त गर्नुभयो। उहाँले गायत्री मन्त्र, योग तथा ध्यानमार्फत जनचेतना अभिवृद्धि गरी समाजमा धार्मिक जागरण ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो। यज्ञमार्फत वातावरण शुद्धीकरणमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको थियो।
यसैगरी सावित्री गिरीले गायत्री पूजा तथा मन्त्र उपदेशमार्फत समाजमा चेतना अभिवृद्धि भई आध्यात्मिक अभ्यासले असल समाज निर्माणमा सहयोग पुर्‍याइरहेको बताउनुभयो।

कार्यक्रममा आशा पाण्डेय, रामकुमारी गौड, ममता शुक्ला, बीमा मण्डल, विभा मण्डल तथा उपजोन बुरासे रोका लगायतका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। साथै जिल्ला गायत्री परिवार बाँके समन्वय समितिका संयोजक मनिष कर्माचार्यको विशेष सक्रियता उल्लेखनीय रहेको थियो।

कार्यक्रमअन्तर्गत विशिष्ट देवासनसहित विधिवत् यज्ञारम्भ गरिएको थियो। पुनःश्च, नामकरण, मुण्डन, व्रतबन्ध, गुरुदक्षिणा लगायतका विभिन्न वैदिक संस्कारहरू निःशुल्क रूपमा सम्पन्न गरिएको आयोजकले जनाएको छ।
वैशाख ५ गते विशेष पूजा–आरती तथा गायत्री पूजनका साथ कार्यक्रमको समापन गरिएको थियो। समापनका दिन पनि भक्तजनहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम अवधिभर दैनिक सयौँ भक्तजनहरूको सहभागिता रहेको जानकारी संयोजक कर्माचार्यले दिनुभयो।

आयोजकका अनुसार यस धार्मिक आयोजनाले स्थानीय समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सनातन संस्कारप्रति आस्था र आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याएको छ।

  • ५ बैशाख २०८३, शनिबार प्रकाशित

  • Nabintech