पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू सार्वजनिक भएपछि सम्बन्धित गृहमन्त्री सुधन गुरुङले सार्वजनिक रूपमा स्पष्टीकरण दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा हल्ला र तथ्य फरक विषय भएकाले प्रमाणका आधारमा मात्रै निर्णय हुनुपर्ने बताएका छन्।
स्पष्टीकरणमा “२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको” भन्ने आरोपको खण्डन गर्दै उनले धितोपत्र बजारमा कारोबार हुने सेयरतर्फ २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमै उल्लेख गरिएको बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही समूहभित्र समेटिएको दाबी गरेका छन्।
उनले मन्त्री हुनुअघि सेयर खरिद गरिएको विषयलाई लिएर उठाइएको प्रश्नप्रति सेयरमा लगानी गर्नु अपराध नभएको बताएका छन्। सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको र त्यसको सबै विवरण रेकर्डमा रहेको उल्लेख गरेका छन्। लगानीको स्रोतबारे पनि उनले ऋण (कर्जा) मार्फत रकम जुटाइएको बताएका छन्। २०८० साल भदौ २९ गतेको लिखित तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ माध्यमबाट आएको र सोही रकम लगानीमा प्रयोग गरिएको दाबी गरेका छन्।
विवादित व्यक्तिसँग साझेदारी गरिएको भन्ने आरोपबारे एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको उनको भनाइ छ। एउटै कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्म लगानी हुने उल्लेख गर्दै चयन गरेर आरोप लगाउनु न्यायोचित नहुने बताएका छन्। ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ सम्बन्धी आरोपबारे उनले यस विषयको छानबिन गृह मन्त्रालयले नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागले गरिरहेको बताएका छन्। यदि हस्तक्षेप गरेको भए प्रक्रिया नै अघि नबढ्ने उनको दाबी छ।
व्यापारिक लगानीमा भविष्यका सबै अवस्था पहिल्यै थाहा नहुने भन्दै पछि भएका घटनालाई अघि गरिएको निर्णयको दोष बनाउनु तथ्यभन्दा सुविधा अनुसारको व्याख्या भएको बताएका छन्। उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने उल्लेख गर्दै हल्ला छिटो फैलिने तर सत्य प्रमाणसहित मात्र आउने बताएका छन्।
उनले आफूमाथि लागेका आरोप र सत्य एउटै कुरा नभएको उल्लेख गर्दै पार्टीले गर्ने हरेक निर्णय पालना गर्ने तथा अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको जनाएका छन्।









