पर्यटकीय तथा धार्मिक महत्व बोकेको रानीसैन क्षेत्रको सीमा विवादलाई लिएर बाजुरा र हुम्लाबीच तनाव उत्पन्न भएको छ । बाजुराको हिमाली गाउँपालिका–३ लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण तथा सीमा विवाद समाधानका विषयमा छलफल भइरहेका बेला झडप भएको हो ।
‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियानमा सहभागी धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल सहित करिब ४० जनाको टोली घटनास्थल पुगेको थियो । टोलीले ड्रोनमार्फत भिडियो खिच्ने क्रममा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका करिब २५० देखि ३०० जना स्थानीय आक्रोशित बनेपछि विवाद चर्किएको बताइएको छ ।
स्थिति तनावग्रस्त बन्दै जाँदा स्थानीय र टोलीबीच हातपात तथा झडप भएको थियो । घटनामा जनप्रतिनिधि, कर्मचारी तथा सुरक्षाकर्मी गरी ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा सदस्य पेमा गारा गुरुङ, लक्ष्मी गुरुङ, मिनु कुँवर, प्रहरी सहायक हवलदार महेश धामी तथा प्रमुख प्रशासकीय अधिकृत कुल बहादुर थापा रहेका छन् । घाइतेहरूको ढाड, गर्धन, छाती तथा खुट्टामा चोट लागेको जनाइएको छ ।
घटनापछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय तथा दुवै जिल्लाका जनप्रतिनिधिहरूले सीमा विवाद समाधानका लागि पहल थालेका छन् । रानीसैन क्षेत्रको सीमा विवाद लामो समयदेखि कायम रहँदै आएको छ । स्थानीयवासीले तत्काल सरकारी स्तरबाट स्पष्ट सीमा निर्धारण गरी स्थायी समाधान गर्न माग गरेका छन् ।









