रानीसैनका नाममा विवाद होइन, विकास, सुरक्षा र सहकार्यमा एकता आवश्यक

पवनराज उपाध्याय

रानीसैन, च्याचौर, लाम्पाटा लगायतका बाजुरा–हुम्ला सीमाक्षेत्र आज केवल भूगोलको विषय मात्र बनेका छैनन्, यी क्षेत्र अब विकास, पर्यटन, सुरक्षा र सामाजिक सद्भावसँग जोडिएका संवेदनशील विषय बनेका छन्। यस्तो अवस्थामा तथ्य, इतिहास र आपसी समझदारीलाई आधार बनाएर समाधान खोजिनुपर्नेमा पछिल्ला दिनहरूमा देखिएको तनाव, आक्रोस र अराजक गतिविधिले सम्पूर्ण सुदूरपश्चिम तथा कर्णाली क्षेत्रकै शान्ति र विकासप्रति चिन्ता बढाएको छ।

ऐतिहासिक रूपमा हेर्दा रानीसैन क्षेत्र बाजुरा जिल्लाको भूगोलभित्र रहेको विषय विभिन्न सरकारी नक्सा तथा प्रशासनिक अभिलेखबाट स्पष्ट देखिन्छ। बाजुरा र हुम्लाको साझा सीमाक्षेत्र कहाँ–कहाँसम्म फैलिएको छ भन्ने कुरा राज्यका आधिकारिक नक्साबाट सहजै बुझ्न सकिन्छ। यस्ता विषय तथ्य, प्रमाण र सरकारी संयन्त्रमार्फत समाधान गरिनुपर्छ। तर दुर्भाग्यवश पछिल्लो समय केही समूहले भावनात्मक उत्तेजना फैलाउँदै हिंसात्मक गतिविधि गर्नु अत्यन्त दुःखद पक्ष हो।
लामो समयदेखि राज्यको प्रभावकारी उपस्थिति कमजोर भएका कारण रानीसैन, च्याचौर र लाम्पाटा आसपासका क्षेत्रमा चोरी–तस्करी, अवैध जडीबुटी निकासी तथा वन्यजन्तुको सिकारजस्ता गतिविधि हुने गरेको स्थानीयवासीको गुनासो रहँदै आएको छ। बाघ, भालु, कस्तुरी, डाँफे जस्ता दुर्लभ वन्यजन्तुको संरक्षण तथा बहुमूल्य जडीबुटीको व्यवस्थापनका लागि समेत राज्यको सक्रिय उपस्थिति आवश्यक देखिएको थियो। तर सुरक्षा, सडक, सञ्चार, स्वास्थ्य, पर्यटन पूर्वाधार र सरकारी निगरानीको अभावले यी क्षेत्र वर्षौंदेखि ओझेलमा परिरहेका छन्।

यद्यपि, पछिल्ला वर्षहरूमा हिमाली गाउँपालिकाले यस क्षेत्रलाई पर्यटन, धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न योजना अघि सारेको देखिन्छ। प्रहरी चौकी स्थापना, पर्यटकीय पूर्वाधार निर्माण, सडक पहुँच विस्तार तथा स्थानीय युवालाई रोजगारीसँग जोड्ने प्रयास सकारात्मक कदमका रूपमा लिन सकिन्छ। यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन हुन सके भने बाजुरा र हुम्ला दुवै जिल्लाका नागरिक लाभान्वित हुने निश्चित छ। विकास कुनै एक जिल्लाको मात्र विषय होइन, यो साझा समृद्धिको आधार हो।

तर दुःखको कुरा, पछिल्लो एक हप्तायता हुम्लाबाट आएका केही अराजक समूहद्वारा निर्माणाधीन प्रहरी चौकी भत्काउने, कामदारमाथि आक्रमण गर्ने, स्थानीयका घरमा लुटपाट तथा त्रास सिर्जना गर्ने गतिविधि भएको खबर सार्वजनिक भइरहेका छन्। अझ धनगढी उपमहानगरपालिकाका प्रमुख न्यउष् ज्बmब िनेतृत्वको टोलीलाई रानीसैन भ्रमण गर्न नदिइएको, हिमाली गाउँपालिका बाजुराका अध्यक्षसहित जनप्रतिनिधि र कर्मचारीमाथि हातपात भएको तथा केही स्थानीय घाइते भएको घटनाले अवस्था थप गम्भीर बनाएको छ। लोकतान्त्रिक समाजमा असहमति हुन सक्छ, तर हिंसा र डरको राजनीति कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।

यस्ता घटनाले केवल दुई जिल्लाबीचको सम्बन्ध बिगार्दैनन्, यसले विकासका सम्भावना पनि कमजोर बनाउँछ। पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, लगानी आकर्षण र सामाजिक सद्भाव कायम गर्न शान्तिपूर्ण वातावरण अनिवार्य हुन्छ। यदि सीमाको नाममा द्वन्द्व र आक्रमण बढ्दै जाने हो भने यसबाट सबैभन्दा बढी असर स्थानीय नागरिक, गरिब किसान, युवा तथा भविष्यको सम्भावनामाथि पर्नेछ।

आज आवश्यकता विवादलाई चर्काउने होइन, संवादलाई बलियो बनाउने हो। बाजुरा र हुम्ला ऐतिहासिक, सांस्कृतिक र सामाजिक रूपमा नजिक रहेका जिल्ला हुन्। यहाँका नागरिकबीच पुस्तौँदेखि पारिवारिक, धार्मिक र सामाजिक सम्बन्ध रहँदै आएका छन्। केही व्यक्तिको उत्तेजक गतिविधिका कारण दुई जिल्लाबीचको आत्मीय सम्बन्ध बिग्रन दिनु हुँदैन। राज्यका निकाय, स्थानीय सरकार, नागरिक समाज, बुद्धिजीवी र सरोकारवालाहरूले संयमता अपनाउँदै वार्ता र तथ्यका आधारमा समाधान खोज्न आवश्यक छ।

यस घटनाप्रति घोर भर्त्सना व्यक्त गर्दै बाजुरा र हुम्ला जिल्लाका सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार तथा सङ्घ सरकारको तत्काल ध्यानाकर्षण गराउन चाहन्छु। दोषीमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही गरियोस्। घाइतेहरूको उचित उपचारको व्यवस्था गरियोस्। साथै दीर्घकालीन रूपमा सीमा विवाद समाधान गरी शान्ति, सुरक्षा, पर्यटन विकास र स्थानीय समृद्धिको वातावरण निर्माण गरियोस्।
रानीसैन विवादको प्रतीक होइन, सम्भावनाको केन्द्र बन्नुपर्छ।
हिंसाको होइन, विकास र सहकार्यको साझा भूमि बन्नुपर्छ।

  • ७ जेष्ठ २०८३, बिहीबार प्रकाशित

  • Nabintech