अछाम जिल्लाका कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय शासन कार्यसम्पादन मूल्यांकन (ीन्एब्क्) तथा योजना तर्जुमा विषयक तालिम सम्पन्न भएको छ । असल शासन मिडिया र बास नेपाल को सहजीकरणमा सञ्चालन भएको उक्त तालिमले स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
तुर्माखाँद गाउँपालिकामा जेठ १० गते आयोजित तालिममा गाउँपालिकाका अध्यक्ष डम्मर बहादुर बिसी, उपाध्यक्ष बिमला शाही, प्रमुख प्रशासकीय अधिकृत देव राज चौधरीललगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो ।
तालिममा नेपाल सरकारका पुर्व सचिब तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्ण हरि बास्कोटाले स्थानीय सरकारको विगत, वर्तमान अवस्था र आगामी कार्यदिशा वारे प्रशिक्षण दिँदै संघीय शासन प्रणाली सफल बनाउन स्थानीय सरकारको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उनले भने, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । यसको प्रभावकारी सञ्चालनले मात्र लोकतन्त्रको वास्तविक अनुभूति नागरिकसम्म पुग्छ । योजनाबद्ध विकास, पारदर्शिता, जवाफदेहिता र सुशासनमार्फत स्थानीय तहले नागरिकको विश्वास जित्नुपर्छ।”
उनले स्थानीय तहमा योजना तर्जुमा गर्दा नागरिकको वास्तविक आवश्यकता पहिचान, प्राथमिकता निर्धारण र दीर्घकालीन सोच आवश्यक हुने उल्लेख गर्दै स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीलाई सुधारको अवसरका रूपमा लिन आग्रह गरे ।

गाउँपालिका अध्यक्ष डम्मर बहादुर बिसीले तालिमले स्थानीय सरकार सञ्चालनमा थप स्पष्टता र आत्मविश्वास प्रदान गरेको बताए । “हामीले दैनिक काम गरिरहेका विषयहरूलाई अझ व्यवस्थित, परिणाममुखी र जनउत्तरदायी बनाउन यस्तो तालिम निकै उपयोगी भएको छ,” उनले भने । तालिममा गाउँपालिका उपाध्यक्ष बिमला शाही र प्रमुख प्रशासकीय अधिकृत देव राज चौधरीले तालिम समय शान्धर्भिक र उपलब्धिमुलक भएको बताएका थिए ।
त्यसैगी कमलबजार नगरपालिकामा जेठ ११ गते सोही तालिम सम्पन्न भएको छ । तालिममा नगर प्रमुख यज्ञ ढकाल सहित जनप्रतिनिधि र कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो । प्रशिक्षणका क्रममा कृष्ण हरि बास्कोटा ले स्थानीय सरकारको प्राथमिकता, सकारात्मक सोच, असल अभ्यास तथा योजना तर्जुमा सीपका बारेमा विस्तृत प्रशिक्षण दिए । बास्कोटाले स्थानीय सरकार केवल बजेट खर्च गर्ने निकाय मात्रै नभइ परिवर्तनको नेतृत्व गर्ने संस्था भएको बताएका थिए । जनताको अपेक्षा बुझेर दीर्घकालीन सोचका साथ योजना बनाउन सके मात्रै समृद्ध स्थानीय तह निर्माण सम्भव हुने बास्कोटाले तालिमको क्रममा बताए ।
नगर प्रमुख यज्ञ ढकालले तालिमले योजना निर्माण र कार्यान्वयन प्रक्रियामा नयाँ दृष्टिकोण दिएको बताए । ढकाले स्थानीय तहको समग्र कार्यसम्पादन सुधार गर्न यस्ता व्यावहारिक तालिम अत्यन्त आवश्यक भएको बताएका थिए ।

सोही दिन ढकारी गाउँपालिका मा पनि तालिम सम्पन्न भएको थियो । तालिममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउद, उपाध्यक्ष नेत्रकला देवी शाही, प्रमुख प्रशासकीय अधिकृत नरेश बहादुर बोहरा लगायत जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि गरी ७० बढीको सहभागिता रहेको थियो ।
तालिममा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर साउदले तालिमले स्थानीय सरकार सञ्चालनमा व्यवहारिक ज्ञान दिएको उल्लेख गर्दै आगामी दिनमा यसबाट सिकेका विषयहरू कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका थिए । उपाध्यक्ष नेत्रकला देवी शाहीले तालिमले स्थानीय सरकार सञ्चालन, योजना तर्जुमा र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण ज्ञान दिएको बताइन् । उनले सिकेका विषयलाई व्यवहारमा लागू गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने प्रतिबद्धता व्यक्त गरिन् । तालिममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत नरेश बहादुर बोहरा ले तालिमबाट प्राप्त ज्ञानले जनप्रतिनिधि र कर्मचारीबीच समन्वय बढाउने तथा स्थानीय शासन कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

तालिममा प्रशिक्षक कृष्ण हरि बास्कोटा ले स्थानीय तहका असल अभ्यासहरू, योजना तर्जुमाका चरणहरू र स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीका सूचकहरूबारे जानकारी गराउँदै स्थानीय तहको सफलता केवल भौतिक विकासमा सीमित नभइ सेवा प्रवाह, पारदर्शिता, उत्तरदायित्व र नागरिक सन्तुष्टि पनि उत्तिकै महत्वपूर्ण सूचक भएको बताए ।

बास नेपाल का कार्यकारी निर्देशक तथा कार्यक्रम प्रबन्धक मन भण्डारी ले सञ्चालन गरेको उक्त तालिममा सहभागीहरूले स्थानीय शासन सुदृढीकरण, योजना निर्माण प्रक्रिया सुधार तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रम फलदायी भएको बताएका छन् ।









