२०८३ साल वैशाख २१ गते आफ्नै साथीहरूको हातबाट निर्ममतापूर्वक हत्या गरिएका युवा बिशाल चन्दको घटनाले स्तब्ध बनेको परिवार अझै न्यायको पर्खाइमा थिए । घटनापछि पक्राउ परेका आरोपितहरूमाथि भएको थुनछेक बहसको आदेशपछि भने मृतकका आफन्त आक्रोशित बनेका छन् ।
जिल्ला अदालतले बुधबारे जेठ १३ गते दिपेन्द्र राज गिरि लगायत चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर एक जना नाबालकलाई अभिभावकको जिम्मा लगाउने तथा अर्का एक जनालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्ने निर्णय भएपछि मृतक बिशालका आफन्तहरूले असन्तुष्टि जनाएका छन् ।
फैसलापछि अदालत परिसरमा मृतकका परिवारजन र शुभेच्छुकहरूले विरोध जनाउँदै नाराबाजी गरेका थिए। “बिशालले पूर्ण न्याय पाउनुपर्छ” भन्ने आवाजले अदालत परिसर गुञ्जिएको थियो । न्यायको अपेक्षामा रहेका आफन्त र प्रहरीबीच केहीबेर तनाव सिर्जना हुँदा झडपसमेत भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको थियो । आफ्नो छोरा, दाइ र साथी गुमाएको पीडामा रहेका परिवारजन आँसु झार्दै न्यायको माग गरिरहेको देखिन्थे । उनीहरूले अदालतको आदेशलाई अधुरो न्यायको संज्ञा दिएका छन् ।
बिशाल चन्द अब फर्केर नआउने भए पनि उनको आत्माले न्याय खोजिरहेको अनुभूति परिवार र शुभेच्छुकहरूले गरिरहेका छन् । घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग अहिले थप चर्किएको छ ।









