नौमुले गाउँपालिकाका अध्यक्ष सुवेदीद्वारा शिक्षामा व्यक्तिगत लगानी

उत्कृष्ट विद्यार्थी र शिक्षकलाइ सम्मान

असल शासन प्रतिनिधि

दैलेख / दैलेखको नौमुले गाउँपालिकाका अध्यक्ष छवि सुवेदीले आफुले पाउने सेवा–सुविधाबाट प्राप्त रकममध्ये करिब दुई लाख रुपैयाँभन्दा बढी रकम खर्च गरी शैक्षिक क्षेत्रको गुणस्तर सुधारका लागि उदाहरणीय कार्य गरेको छन् ।

शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उत्कृष्ट विद्यालय, उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरूलाई सुवेदीले आफुले पाउने तलबबाट नगद पुरस्कारसहित सम्मान गरेका छन् । अध्यक्ष सुवेदीको व्यक्तिगत पहलमा गरिएको यस कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा, विद्यार्थीको मनोबल वृद्धि तथा शिक्षकको कार्यसम्पादनमा थप उत्साह जगाउने अपेक्षा गरिएको छ ।

सम्मान कार्यक्रम अन्तर्गत एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीमध्ये श्री भैरव माध्यमिक विद्यालय नौमुलेका सञ्जय चन्द प्रथम हुँदै ३० हजार रुपैयाँ, माध्यमिक विद्यालय पैतीका वीरेन्द्र बस्नेत द्वितीय हुँदै २० हजार रुपैयाँ तथा श्री भैरव माध्यमिक विद्यालय नौमुलेकी विनिता रोकाय तृतीय हुँदै १५ हजार रुपैयाँबाट पुरस्कृत भएका छन् । साथै सान्त्वना स्वरूप तीन जना विद्यार्थीलाई जनही १० हजार रुपैयाँ प्रदान गरिएको छ ।

त्यसैगरी विद्यालयतर्फ माध्यमिक विद्यालय पैती प्रथम हुँदै १५ हजार रुपैयाँ, माध्यमिक विद्यालय आलेगाउँ द्वितीय हुँदै १० हजार रुपैयाँ, श्री भैरव माध्यमिक विद्यालय नौमुले तृतीय हुँदै ७ हजार रुपैयाँ तथा माध्यमिक विद्यालय ठानडाँडा सान्त्वना स्थान हासिल गर्दै ५ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यसैगरी विषयगत उत्कृष्ट शिक्षकतर्फ भैरव मा.बि. का गणित शिक्षक नगेन्द्र बहादुर सिंह, लालिगुराँस मा.बि. का अङ्ग्रेजी शिक्षिका गीता कुमारी चन्द र भैरव मा.बि.का विज्ञान शिक्षक प्रदीप कुमार खड्का लाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । यस्तै दलिततर्फ उत्कृष्ट विद्यार्थी मनसरा बिक र जनजातितर्फ उत्कृष्ट विद्यार्थी रोहित थापा मगर लाई जनही ५ हजार रुपैयाँ प्रदान गरिएको छ।

एसईई परीक्षा उत्तीर्ण गर्ने सम्पूर्ण विद्यार्थीलाई जनही एक हजार रुपैयाँ तथा सम्मानपत्र प्रदान गरिएको बताइएको छ । अध्यक्ष सुवेदीले शिक्षामा गरिएको लगानी नै समृद्ध समाज निर्माणको बलियो आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, विपन्न समुदाय, असहाय नागरिक तथा विद्यार्थीहरूको हितका लागि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

स्थानीयवासी तथा शिक्षाक्षेत्रका सरोकारवालाले अध्यक्ष सुवेदीको यस कदमलाई अनुकरणीय, प्रेरणादायी तथा प्रशंसनीय कार्यको रूपमा लिएका छन् । व्यक्तिगत स्रोतबाट शिक्षा क्षेत्रमा गरिएको लगानीले विद्यार्थी, शिक्षक तथा विद्यालयबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै शैक्षिक गुणस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ ।

  • १९ जेष्ठ २०८३, मंगलवार प्रकाशित

  • Nabintech