नेपालगन्ज । खजुरा गाउँपालिका वडा नम्बर १ मा तिन दिने सीप मुलक अचार बनाउने तालिम सम्पन्न भएको छ ।
खजुरा गाउँपालिका वडा नम्बर १ को सहयोग तथा बास नेपालको आयोजनामा जनजातिहरुका लागि सीपमुलक तथा आयमुलक कार्यक्रम अन्तरगत उक्त तालिम सम्पन्न भएको हो । तालिममा स्थानीय कृषि उपजको उपयोग गर्दे विभिन्न प्रकारका अचार बनाउने सीप प्रदान गरिएको थियो ।

जेठ २५ गते देखि सञ्चालन भएको उक्त तालिममा आँप, मुला, तिमुर, मिक्स अचार लगायत अचार बनाउने सीप प्रदान गरिएको तालिमका प्रशिक्षक राधीका खत्रीले असल शासनलाई बताईन् । तालिममा वडा नम्बर १ का १५ जना जानजाति महिलाहरुको सहभागिता रहेको थियो ।

तालिमको समापन कार्यक्रममा बोल्दै सहभागिहरुले सीपमुलक अचार बनाउने तालिम अत्यन्तै उपयोगी भएको बताउदै यसले घरपरिवारसँगै ब्यवसायिक रुपमा समेत काम गर्न सकिने बताए । तालिमको समय छोटो भएकाले ब्यवसायिक रुपमा काम गर्न यस्ता सीपमुलक तालिमका लागि बजेट विनियोजन गरिदिन वडा कार्यालयलाइ अनुरोध गरेका थिए । तालिमको समापन कार्यक्रममा बोल्दै प्रशिक्षार्थीहरुले सिकेको सीपलाई ब्यवहारमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

खजुरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनबिर क्षेत्रीले उद्घाटन गरेको तालिमको समापन कार्यबाहक वडाध्यक्ष राम कुमार सुनारको प्रमुख आतिथ्यता, बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।
समापनमा वडा सचिब मन्जु शर्मा, वडाका कर्मचारी मन कुमारी राना, बास नेपालकी लेखा अधिकृत राष्टि बुढा मगर, सामुदायिक सहजकर्ता ज्योती बुढा मगर लगायतको उपस्थिती रहेको थियो । समापनमा तालिमका सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सुनारले तालिम प्रभावकारी रहेको बताएका थिए ।













