बालबालिकालाई उत्प्रेरणा कि दुरव्यवहार ?

असल शासन प्रतिनिधि

दाङ/ दाङ जिल्लाको राप्ती गाउँपालिकामा शैक्षिक सुधार गर्ने भन्दै ‘उत्प्रेरणा जगाउने कार्यक्रम’ सञ्चालन गरिएको भनिए पनि सार्वजनिक भएका केही दृश्य र गतिविधिले गम्भीर प्रश्न उठाएका छन्।

तस्वीरमा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट तथा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकको उपस्थितिमा विद्यार्थीहरू भावनात्मक रूपमा अत्यधिक प्रभावित भएको जस्तो देखिने दृश्यले कार्यक्रमको उद्देश्य, विधि र प्रभावबारे बहस सिर्जना गरेको छ।

बालबालिकासम्बन्धी नेपालको संविधान, United Nations को Convention on the Rights of the Child (बालअधिकार महासन्धि) तथा Government of Nepal को बालबालिकासम्बन्धी कानुनले बालबालिकाको सर्वोत्तम हित, सम्मान, सुरक्षा र मानसिक स्वास्थ्यको संरक्षणलाई विशेष महत्व दिएका छन्।

शैक्षिक वा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गर्दा बालबालिकामा अनावश्यक मानसिक दबाब, भावनात्मक असर वा असहजता सिर्जना नहोस् भन्ने विषयमा विशेष संवेदनशीलता अपनाउनुपर्ने मान्यता छ।

स्मरण रहोस्, राप्ती गाउँपालिकाका सार्वजनिक विद्यालयहरूको हालै सार्वजनिक नतिजा करिब ३८ प्रतिशत मात्र रहेको बताइएको छ। यस्तो अवस्थामा शैक्षिक गुणस्तर सुधार, सिकाइ उपलब्धि वृद्धि, शिक्षक क्षमता विकास, विद्यालय व्यवस्थापन सुदृढीकरण र विद्यार्थीमैत्री सिकाइ वातावरण निर्माणलाई प्राथमिकता दिनुपर्ने अपेक्षा नागरिकहरूको छ।

शिक्षामा सुधार भावनात्मक प्रदर्शनबाट होइन, गुणस्तरीय सिकाइ, सकारात्मक वातावरण र मापनयोग्य नतिजाबाट पुष्टि हुन्छ।

नेपाल गुडवीभ फाउण्डेशनले दाङको राप्ती गाउँपालिकामा सञ्चालन गरिएको कार्यक्रमसँग सम्बन्धित सार्वजनिक सामग्री प्रति गम्भीर चासो व्यक्त गर्दै बाल संरक्षण, बालअधिकार, मनोसामाजिक सुरक्षा तथा बालमैत्री शिक्षासम्बन्धी कानुनी व्यवस्था र मापदण्डको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

बिज्ञप्तीमा भनिएको छ – विद्यालयमा सञ्चालन हुने हरेक कार्यक्रमले बालबालिकाको सर्वोत्तम हित र कुनै पनि प्रकारको हानि नगर्ने (Do No Harm)” सिद्धान्तलाई केन्द्रमा राख्नुपर्छ। बालबालिकाको सम्मान, सुरक्षा, गोपनीयता र सर्वोत्तम हितको संरक्षण हाम्रो साझा जिम्मेवारी हो ।

यसैगरि भिजिनरी भ्वाईस नेपालले बाल संरक्षणमा संवेदनशील बन्न आग्रह गर्दै उक्त घटनाको बिरोध गरेको छ ।

  • १३ असार २०८३, शनिबार प्रकाशित

  • Nabintech