मेरो घर सुर्खेतको गुर्भाकोट नगरपालिका वडा न. ११ मा पर्छ । म पढाईको शिलशिलामा बिगत ९ वर्ष अघिदेखि नेपागञ्ज उपमहानगरपालिका वडा न. १ मा बसोबास गर्दै आएकी छु । म अहिले स्नातक तह दोस्रो वर्षमा अध्ययन गर्दै छु र बिगत ६ वर्ष देखि म बाससंग आबद्ध छु ।
भेरी प्राबिधिक शिक्षालयको सेक्रेटरीयल म्यानेजमेन्ट बिषय १८ महिने कोर्ष १ वर्ष उक्त शिक्षालयमा पढेर ६ महिना ओ.जे.टी. गर्ने क्रममा म बासमा आबद्ध भएँ ।
१ वर्ष बिभिन्न कार्यहरुमा इन्र्टन, स्वयंसेवकको रुपमा काम गर्दै, बासद्धारा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित हेल्पडेस्कको सहजकर्ता, अकाउन्टबिलिटि ल्याबको फेलो हुँदै हाल बास नेपालले एफकेबि युकेको सहयोगमा सञ्चालन गरिरहेको नेपालमा बसोबास गर्ने महिला तथा बालिकाहरुको महिनवारी स्वच्छदा तथा व्यवस्थापन कार्यक्रममा शिक्षा अधिकृत र संस्थाको कार्यक्रम सहायकको रुपमा कार्यरत छु । साथै संस्थाले मलाई दिएको जिम्मेवारी बमोजिम ५ वर्ष देखि नै कपडा बैंकको संयोजकको रुपमा काम गर्दै आईराखेकी छु ।
बास नेपाल नेपालगञ्जले २०७६ साल देखि हुनेले दिऔं, नहुनेले लैजाऔंं भन्ने मुख्य उद्धेश्यका साथ कपडा बैंक स्थापना गरि सञ्चालन गर्दै आएको छ । यो बैंक शुरुमा धम्बोझि चौकमा स्थापना गरिएको थियो । सो ठाउँमा सो बैंक व्यवस्थित हुन नसकेपछि नेपालगञ्ज उपमहानगरपालिका वडा न. १० मा पर्ने गणेशमान चोक प्रहरी बिटको छेउमा स्थान्तरण गरिएको थियो ।

जहाँ विपन्न वर्गका मानिसहरुले निःशुल्क कपडाहरु छानेर लैजाने गर्छन् भने कपडा बैंकमा कैयौं व्यक्तिहरुले आफै आएर राखिदिने गर्दछन् त कतिले हामीलाई सम्पर्क गरेर लैजान बोलाउने गर्दछन् । यस्तो राम्रो सामाजिक कार्यको जिम्मा मलाई दिनुभएकोमा बास नेपालका आदरणिय अग्रजहरुमा कृतज्ञता ब्यक्त गर्दछु, कपडा बैंक ब्यवस्थापन गर्ने क्रममा अग्रज सरहरुको सल्लाह लिदैं प्रभावकारी रुपमा अगाडी बढिरहेकीछु ।
१० बजे देखि ५ बजेको बिचमा कपडा बैंकलाई हरेक दिन आधा, एक घण्टाको समय दिएर ब्यवस्थापन गर्ने गरेकि छु । कपडा बैंक सार्बजनिक बिदा र शनिबार बाहेक हरेक दिन बिहान १० बजे देखि साँझको ५ बजे सम्म खुल्ला हुनेगरी ब्यवस्थापन गरिएको छ । ७ वर्षको अवधिमा हजारौं ब्यक्तिहरुले कपडा बैंकबाट कपडा प्राप्त गर्नुभएको छ । कपडा नियमित, आँशिक वा पटके रुपमा सहयोग गर्ने ब्यक्तिहरुपनि धेरै हुनुहुन्छ । कपडा बैंकको लागि थाहा भएका मानिसहरुले कार्यालयमै आएर दान गर्नुभएको कपडाहरु संकलन गरेर कपडा बैंकमा राख्ने, ब्यवस्थापन गर्ने, कपडा लैजाँदै गरेका व्यक्तिहरुको भिडियोहरु सामाजिक सञ्जालमा राख्ने गरिएको छ ।
कपडा बैंकका लागि जानकारी दिएर कपडा दान गर्ने व्यक्तिहरुको नाम, नामेशी र कपडाहरुको बिबरण अभिलेख राख्ने गरिएको छ, लैजानेहरुको अभिलेख राख्न असम्भव छ । कपडा बैंक एक मानविय भावनाले खोलिएको बैंक हो ।
कपडा बैंकको जिम्मेवारी प्रदान गर्दा म र म सँगै काम गर्ने सहकर्मीलाई दुईजना मध्ये कस्ले गर्न सक्छौ भन्दा स्वईच्छाले मैले कपडा बैंक हेर्ने जिम्मेवारी लिएकि थिएँ । मैले संयोजकको भुमिका लिएता आबश्यक कार्यहरुमा मलाई बासको सबै टिमले सहयोग गरेको छ, यहि सहयोगका कारण कपडा बैंकलाई प्रभावकारी व्यवस्थापन गर्न सकिएको छ ।
कपडा बैंक स्थापना गरेदेखि धेरै जसो सडकमा नाङ्गो शरिर लिएर हिँडिराख्नुभएका बुवाआमा र असहाय बालबालिकाहरुको लागि धेरै राहत मिलेको छ । हामी भन्दा अगाडी र सँगै देशभर खोलिएका यस्ता खुला कपडा बैंकहरु लगभग सबै ठाउँमा बन्द भईसक्दा बास नेपालले सञ्चालन गरेको कपडा बैंक विगत ७ वर्ष देखि निरन्तर प्रभावकारी ढंगले सञ्चालन भईराखेको छ । कपडा बैंकमा जम्मा भएका कपडा कपडा बैंकबाट निःशुल्क रुपमा लैजान मिल्ने त भईनै हाल्यो, कपडा बैंकका लागि संकलित कपडाहरु आवश्यकताका आधारमा दुरदराजमा रहेका सहयोगापेक्षि समुदायबासीहरुलाई सोही ठाउँमा लगेर समेत बितरण गर्ने गरिएको छ ।
यो कपडा बैंकमा विभिन्न ठाउँका मानिसहरुले लगेर आफ्नो आवश्यकता पूरा गर्ने गरेका छन् । नियमित रुपमा लैजानेहरुको संख्या ठूलो छ ।
हामीले कपडा संकलनको अभियान समेत चलाउँछौं । स्वयंसेवकहरुको सहयोगमा कैयौं पटक बजारमा गएर कपडाहरु संकलन गरेका छौं । बैंक बिशेष गरि मज्दुर, गरिवहरुको लागि आशाको केन्द्र बनेको छ ।
नेपालगञ्जको गणेशमान चोक सबैलाई पायक पर्ने ठाउँ भएर पनि होला यस बारे धेरैलाई जानकारी छ । कपडा बैंक सञ्चालन र व्यवस्थापन गर्न सजिलो पक्कै छैन । कतिपय व्यक्तिहरुले असल मनशायका साथ कपडाहरु स्वस्फुर्त रुपमा बैंकमा ल्याएर राखिदिनुहुन्छ, कतिपय व्यक्तिहरुले फाटेका, च्यातिएका, असाध्यै फोहर कपडाहरु ल्याएर पनि राखिदिनुहुन्छ, यसरी कतिपयले त यो बैंकलाई फोहर फाल्ने कन्टेनर बनाउनु भएको छ । सबै भन्दा ठूलो कुरा सोचनैं हो, वहाँहरुको सोच जे सुके होस्, हाम्रो सोच र उद्धेश्य पबित्र छ । राम्रा, नराम्रा, सफा, फोहर कपडा बर्गिकरण गर्ने मेरो हरेक दिनको दैनिकी हो, सफा राम्रा, कपडा बैंकमा राख्छौं, फोहर कपडा त्यहि छेउमा जम्मा गर्छाैं, ति कपडाहरुलाई डम्पिंग साईडमा लैजानका लागि नेपालगञ्ज उपमहानगरपालिकाको ट्याक्टरसँग समन्वय गरेका छौं ।
बास नेपालले सञ्चालन गरेको यो कपडा बैंक साच्चिकै महान कार्य हो । किनकि यस बैंकले गरिवलाई न्यानोपन दिएकोछ, शरिर छोप्ने इज्जत दिएकोे छ । यस बैंकका लागि लायन्स क्लब लगायतका संस्थाहरुले बेला, बेलामा कपडा सहयोग गर्नुभएको छ । बैंकको बारेमा जानकारी पाएपछि नेपालगञ्जको एक बिद्यालयका भाइबहिनीहरुले हामीलाई खवर गरेर कपडा हस्तान्तरण गरेको दिन म सधैं सम्झिन्छु । फोहर कपडाहरु उठाउँदाको दुःख सफा, राम्रा कपडाहरु आफ्नै आँखा अगाडी लगेको, विपन्न ब्यक्तिहरुको मुहारमा कपडा लैजाँदाको खुशि देख्दा कता हराउँछ कता ? र त अविछिन्न यो कर्म गरिरहेको छु ।
कपडा बैक सञ्लाचन गर्दा धेरै समस्याहरु आए, कपडा दान कम, लैजानेहरुको संख्या अत्याधिक हुँदा हामीलाई समस्या हुने गर्दछ । अर्काे तर्फ सफा भन्दा फोहर कपडा बढि हुने, लैजाने व्यक्तिहरुले कपडा बैंक अस्त, व्यस्त बनाईदिने लगायतका समस्याहरु हामीले भोगिरहेका छौं । यो बैंक सञ्चालन गरेर न बासले कुनै आम्दानी गर्ने हो न हामी व्यवस्थापनमा संलग्न कर्मचारीले केही पारिश्रमिक पाउने हो । यो त मानविय भावनाबाट ओतप्रोत भएर गरिएको स्वयंसेवि कार्य हो । नकारात्मक समाजमा राम्रो तरिकाले कपडा व्यवस्थापन भएको बेला, कपडा लैजाँदै गर्दा, व्यवस्थापन गर्दै गर्दाको अवस्था नदेख्ने, त्यस बेलाको तस्विर नलिने, जव कपडा लैजाने व्यक्तिहरुले कपडा यताउति गरिदिनुहुन्छ, जब कपडा खाली हुन्छ, त्यति बेलाको तस्विर लिएर सामाजिक सञ्जालमा पोष्ट गरिदिने मान्छे पनि हामीले भेट्यौं तर त्यस्ता कुराले हामीलाई केही फरक पार्दैन, कसैले जवरजस्ति यो काम गराएर हामीले गरेका होईनौं । पबित्र मनशायबाट गरिएको कार्य कसैको नकारात्मक टिप्पणिले रोकिने वाला छैन । कपडा दान गर्ने मान्छेले गरेकै छन्, सहयोग आवश्यक भएका मान्छेहरुले दिनहुँ लिईरहेकै छन्, उनीहरुको मुहारमा खुशीयाली छाएकै छ, न कपडा दिने, न कपडा लिनेहरुको रिस, आक्रोश र ठुस्कानले हामीलाई केही फरक पार्ने वाला छैन । कपडा लिदै गरेका सयौं सहयोगापेक्षिहरुको अनुहारमा आएको खुशीयाली सामाजिक सञ्जाल मार्फत लाखौंले हेरेका छन्, रुचाएका छन् ।
जेन्जी आन्दोलनको क्रमा कपडा बैंक जलाइयो, किन र केका लागि जलाइयो, यो जलाएर कसले के पाए, अझ त्यो जल्दै गरेको कपडा बैंकको फोटो, भिडियो हाल्नेहरुको उद्धेश्य के कति परिपूर्ति भयो त्यो थाहा भएन तर एक्कासी बैंक जलेको भिडियो हेर्दा मन भारी भयो । कैयौं गरिब परिवारको खुसि नै खोसिए झै लाग्यो । हामीले हरेश खाएनौं र केही दिनमै जलेको कपडा बैंकलाई सरसफाई, रंगरोगन गरेर सञ्चालनमा ल्यायौं ।
हाम्रो बैंकको प्रभावकारिता देखेर अन्य ठाउँहरुमा पनि अहिले शुरु गरिएको छ । यो हाम्रो लागि खुशीको कुरा हो । अब आउने दिनहरुमा अझ राम्रो व्यवस्थापनका साथ कपडा बैंक सञ्चालन गर्ने प्रतिबद्धता हाम्रो छ, यो यात्रा रोकिने छैन, कोही व्यक्ति नांगो हुन नपरोस्, पैंशाको अभावमा चिसोमा नकठ्यांग्रियोस्, गर्मिमा चिसोको कपडा लगाएर नगुम्सियोस् । यहि मान्यताका साथ कपडा बैंक दिनःदुखिहरुको सहारा बन्दै अघि बढ्ने छ । बस तपाईंहरुको साथ सधैं रहिरहोस् ।
(बास नेपालमा कार्यरत घर्ति मगर कपडा बैंककी संयोजक हुन् ।)









