काठमाडौँ/ नायिका उषा रजकले आफूलाई ‘गृहमन्त्रीको मान्छे’ भनेर चिनिएका सन्जोक कार्कीले मध्यरातमा पटक पटक फोन गरेर मानसिक तनाव दिएको आरोप लगाएकी छिन् ।
सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै उनले सन्जोक कार्की गृहमन्त्री सुदन गुरुङका स्वकीय सचिव जेम्स कार्कीका भाइ रहेको दाबी गरेकी हुन् ।
रजकले आफ्नो आधिकारिक फेसबुक पेजमा मेसेन्जर च्याटको स्क्रिनसट पनि सार्वजनिक गरेकी छिन्। सार्वजनिक स्क्रिनसटअनुसार सन्जोक कार्कीले बिहान ३:१९, ४:०४ र ४:२३ बजे लगातार तीन पटक मेसेन्जर कल गरेका थिए ।
घटनापछि आफू साइबर ब्युरो पुगे पनि प्रहरीले उजुरी लिन नमानेको र रिपोर्ट दर्ता गर्न अस्वीकार गरेको रजकको दाबी छ । प्रहरीबाट अर्को व्यक्तिले अपमानजनक वा अपराधजन्य शब्द प्रयोग गरेको वा त्यस्तो प्रमाण नभएसम्म उजुरी दर्ता गर्न नमिल्ने जवाफ पाएको उनले भिडियोमार्फत बताएकी छिन् । सम्बन्धित व्यक्तिलाई कम्तीमा सम्झाइदिन आग्रह गर्दा पनि त्यसो हुन नसकेको उनको गुनासो छ ।
रजकले भ्रष्टाचार र शक्ति दुरुपयोगकै कारण अहिलेको पुस्तामा परिवर्तनको आवाज उठेको उल्लेख गर्दै परिवर्तनपछि स्थापित प्रतिनिधित्वको सम्मान गर्नुपर्ने बताएकी छिन् । शक्ति र पहुँचको आडमा कसैलाई मानसिक तनाव दिने वा अपमानित गर्ने व्यवहार स्वीकार्य नहुने उनको भनाइ छ ।









