एक्काइसौँ शताब्दीको तेस्रो दशकमा आइपुग्दा विश्वले ज्ञान, विज्ञान र प्रविधिको क्षेत्रमा इतिहास कै तीव्र परिवर्तन अनुभव गरिरहेको छ।
कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence), बिग डाटा, रोबोटिक्स, क्लाउड कम्प्युटिङ, जैविक प्रविधि र डिजिटल अर्थतन्त्रले मानव सभ्यताको कार्यशैली मात्र होइन, सोच्ने तरिका पनि परिवर्तन गरिरहेको छ। आज विद्यालयका कक्षाकोठा भन्दा धेरै ठूलो “कक्षा” इन्टरनेट बनिसकेको छ, जहाँ विश्वका उत्कृष्ट विश्वविद्यालयका व्याख्यान देखि अनुसन्धान सामग्रीसम्म केही सेकेन्ड मै उपलब्ध छन्।
यस परिवर्तित परिवेशबाट नेपाल पनि अछुतो छैन। पछिल्ला वर्षहरूमा विद्यालयहरूमा सूचना प्रविधिको पहुँच विस्तार भएको छ। डिजिटल बोर्ड, कम्प्युटर प्रयोगशाला, अनलाइन कक्षा, ई–लाइब्रेरी, कोडिङ शिक्षा र कृत्रिम बुद्धिमत्ताको प्रयोग बारे बहस बढेको छ। राष्ट्रिय शिक्षा नीति, विद्यालय शिक्षा क्षेत्र योजना तथा नयाँ पाठ्यक्रम सुधारका प्रयासहरूले पनि प्रविधि मैत्री शिक्षालाई प्राथमिकता दिएका छन्। तर यहीं एउटा मूल प्रश्न उठ्छ, के हामी प्रविधिमा दक्ष पुस्ता त तयार गर्दैछौँ, तर जीवन जिउन सक्ने, जिम्मेवार, नैतिक र मानसिक रूपमा स्वस्थ नागरिक निर्माण गर्न सफल भएका छौँ त ??
आजको शिक्षा प्रणालीले विद्यार्थीलाई परीक्षा पास गर्न सिकाइरहेको छ। तर जीवनका कठिन मोडहरू पार गर्न कति तयार बनाइरहेको छ? सूचना धेरै छ, तर विवेकको अभ्यास कति छ? सीप बढेको छ, तर संवेदनशीलता कति बढेको छ? यही प्रश्नको उत्तर खोज्नु आजको सबै भन्दा ठूलो शैक्षिक चुनौती हो।
शिक्षा केवल रोजगारी प्राप्त गर्ने माध्यम होइन, शिक्षा असल मानिस निर्माण गर्ने प्रक्रिया हो। विद्यालयले डिग्री मात्र होइन, दृष्टिकोण पनि दिनुपर्छ। यदि शिक्षाले उत्कृष्ट इन्जिनियर, चिकित्सक, वैज्ञानिक वा प्राविधिक त बनायो, तर उनीहरूमा इमान्दारी, करुणा, उत्तरदायित्व र सामाजिक चेतना विकास गर्न सकेन भने त्यो शिक्षा अधुरो रहन्छ।
विश्वप्रसिद्ध शिक्षाविद् नेल्सन मण्डेलाले भन्नुभएको थियो—”Education is the most powerful weapon which you can use to change the world.” तर संसार बदल्ने यो शक्तिशाली हतियार तब मात्र प्रभावकारी हुन्छ, जब त्यसले ज्ञानसँगै चरित्र निर्माण पनि गर्छ। आज विश्व श्रम बजारको स्वरूप तीव्र गतिमा फेरिँदै छ।
विश्व आर्थिक मञ्च (World Economic Forum) ले प्रकाशित गरेको Future of Jobs Report अनुसार आगामी दशकमा कृत्रिम बुद्धिमत्ता र स्वचालनका कारण लाखौँ परम्परागत रोजगारी परिवर्तन हुनेछन् भने विश्लेषण क्षमता, रचनात्मक सोच, समस्या समाधान, भावनात्मक बुद्धिमत्ता, सहकार्य, अनुकूलन क्षमता र नैतिक निर्णय जस्ता मानवीय सीपहरूको माग झन् बढ्नेछ। त्यसैले आजको शिक्षा केवल तथ्य याद गर्ने प्रक्रियामा सीमित रहन सक्दैन। भविष्यमा सफल हुने विद्यार्थी त्यो हुनेछ, जसले प्रविधिलाई उपयोग गर्न जान्ने मात्र होइन, त्यसको सामाजिक, नैतिक र मानवीय प्रभाव बुझ्ने क्षमता पनि राख्नेछ।
नेपालमा पनि अभिभावकहरूको पहिलो प्राथमिकता प्रायः उच्च अंक, प्रतिष्ठित शैक्षिक संस्था र आकर्षक पेशा बन्न पुगेको देखिन्छ। तर जीवनमा सफलता केवल शैक्षिक उपलब्धिले निर्धारण गर्दैन। बालबालिकालाई सबैभन्दा धेरै चाहिने कुरा महँगो उपहार होइन, अभिभावकको समय, विश्वास, माया र संवाद हो। घरभित्रको वातावरण नै बालबालिकाको पहिलो पाठ्यपुस्तक हो। उनीहरूले हामीले बोलेको भन्दा बढी हामीले गरेका व्यवहारबाट सिक्छन्। मानसिक सन्तुलन, आत्मविश्वास, संवाद क्षमता, नेतृत्व, सहानुभूति, अनुशासन र नैतिक निर्णय क्षमता त्यत्ति कै महत्वपूर्ण आधार हुन्। दुर्भाग्यवश, आजका धेरै बालबालिका बाहिरबाट आत्मविश्वासी देखिए पनि भित्रभित्रै तनाव, असुरक्षा, प्रतिस्पर्धाको दबाब र एक्लोपनसँग संघर्ष गरिरहेका छन्।
सामाजिक सञ्जालले तुलना गर्ने संस्कृति बढाएको छ। डिजिटल संसारमा निरन्तर सक्रिय रहनुपर्ने दबाबले उनीहरूको आत्मसम्मान र मानसिक स्वास्थ्यमा असर गरिरहेको छ।
विश्व स्वास्थ्य संगठन (WHO) ले किशोर-किशोरीहरूको मानसिक स्वास्थ्यलाई विश्वव्यापी सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौतीका रूपमा उल्लेख गरेको छ। उपलब्ध अन्तर्राष्ट्रिय तथ्याङ्कले किशोरावस्था मै धेरै मानसिक स्वास्थ्य समस्या सुरु हुने देखाउँछ, तर ती मध्ये धेरैले समय मै आवश्यक सहयोग पाउँदैनन्। नेपालमा पनि विद्यालय उमेरका बालबालिका माझ परीक्षा तनाव, डिजिटल लत, साइबर बुलिङ, सामाजिक एक्लोपन, पारिवारिक संवादको कमी र भावनात्मक असन्तुलनबारे चिन्ता बढ्दै गएको विभिन्न अध्ययनहरूले औँल्याएका छन्। यसले शिक्षा प्रणालीलाई एउटा स्पष्ट सन्देश दिन्छ, अब पाठ्यपुस्तक मात्र होइन, जीवनका पाठ पनि सिकाउनुपर्ने बेला आएको छ।
विद्यालयमा गणित, विज्ञान, भाषा र कम्प्युटरसँगै जीवनोपयोगी शिक्षा, नैतिक शिक्षा, भावनात्मक बुद्धिमत्ता, मानसिक स्वास्थ्य सचेतना, डिजिटल नागरिकता, आर्थिक साक्षरता, सामाजिक उत्तरदायित्व, सञ्चार सीप, संघर्ष व्यवस्थापन, नेतृत्व विकास र मानवीय मूल्यहरू लाई अनिवार्य रूपमा समेट्न आवश्यक छ।
आजको विद्यार्थीलाई “के सिक्ने?” भन्दा पनि “किन सिक्ने?” र “कसरी जीवनमा प्रयोग गर्ने?” भन्ने प्रश्नको उत्तर दिन सक्ने शिक्षा चाहिएको छ मेरो व्यक्तिगत बिचारमा।
यदि शिक्षा जीवनसँग जोडिएन भने विद्यालयबाट दक्ष कर्मचारी त निस्केलान्, तर जिम्मेवार नागरिक ननिस्कने खतरा बढ्नेछ। राष्ट्रको समृद्धि केवल प्रविधिको विकासले होइन, त्यसलाई सही दिशामा प्रयोग गर्ने नैतिक नागरिकबाट सुनिश्चित हुन्छ।
यही कारणले आजको सबैभन्दा ठूलो शैक्षिक सुधार भनेको ज्ञान, प्रविधि, नैतिकता र मानसिक स्वास्थ्य बीच सन्तुलन कायम गर्ने शिक्षा प्रणालीको निर्माण हो।









