काठमाडौं/ नेपालमा महिलाहरूमा पाठेघर, डिम्बाशय तथा प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरू पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएका छन् ।
अनियमित महिनावारी, पाठेघरको मासु (फाइब्राइड), डिम्बाशयको सिस्ट, एन्डोमेट्रियोसिस, पाठेघर झर्ने समस्या, अत्यधिक रक्तस्राव, पाठेघरको क्यान्सरका प्रारम्भिक अवस्था तथा बाँझोपन जस्ता समस्याले हजारौं महिलाहरूको शारीरिक, मानसिक र पारिवारिक जीवनमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।
यस्ता समस्याको समयमै पहिचान, वैज्ञानिक उपचार र अत्याधुनिक प्रविधि मार्फत सुरक्षित शल्यक्रिया उपलब्ध गराउने उद्देश्यका साथ एभरेष्ट अस्पताल, नयाँबानेश्वर, काठमाडौंले स्त्रीरोग तथा बाँझोपन उपचार सेवालाई थप सुदृढ बनाएको छ।
अस्पतालमा वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ डा. राजन शाह, स्त्रीरोग विशेषज्ञ डा. ललिता जोशी, डा. दिप्ती श्रेष्ठ तथा डा. जोत्सना शर्मा लगायतका अनुभवी चिकित्सकहरूको टोलीबाट सेवा प्रदान भइरहेको छ। नियमित ओपिडी परामर्श देखि जटिल शल्यक्रिया र बाँझोपन सम्बन्धी विशेषज्ञ सेवा एउटै स्थानबाट उपलब्ध गराइँदै आएको अस्पतालले जनाएको छ।

ओपिडी इन्चार्ज पार्वती पौड्यालका अनुसार- अस्पतालमा अहिले विश्वस्तरीय 3D, 4K Karl Storz Rubina System प्रविधि प्रयोग गरी स्त्रीरोग सम्बन्धी विभिन्न जटिल शल्यक्रिया सञ्चालन भइरहेको छ ।
यस प्रविधिबाट शरीर भित्रका अङ्गहरू अत्यन्त स्पष्ट रूपमा देखिने भएकाले शल्यक्रिया अझ सुरक्षित, सूक्ष्म तथा प्रभावकारी बन्ने विश्वास गरिएको छ। विशेषज्ञहरूका अनुसार, अत्याधुनिक ल्यापारोस्कोपिक प्रविधिको प्रयोगले बिरामीको शरीरमा सानो चिरा मात्र लाग्ने, शल्यक्रिया पछि हुने पीडा कम हुने, रक्तस्राव न्यून हुने, संक्रमणको जोखिम घट्ने तथा बिरामी छिट्टै सामान्य जीवनमा फर्किन सक्ने लाभ प्राप्त हुन्छ।
विशेष गरी पाठेघरको मासु, डिम्बाशयको सिस्ट, एन्डोमेट्रियोसिस, बाँझोपनका केही कारण तथा अन्य जटिल स्त्रीरोग सम्बन्धी शल्यक्रियामा यो प्रविधि प्रभावकारी मानिन्छ। स्त्रीरोग विशेषज्ञहरूका अनुसार धेरै महिलाहरूले लाज, संकोच वा बेवास्ताका कारण रोग जटिल भए पछि मात्रै अस्पताल पुग्ने प्रवृत्ति अझै कायम छ।
समयमै विशेषज्ञसँग परामर्श, आवश्यक परीक्षण तथा उचित उपचार गरे अधिकांश स्त्रीरोग सम्बन्धी समस्याको सफल व्यवस्थापन सम्भव हुने चिकित्सकहरूको भनाइ छ। बाँझोपन सम्बन्धी उपचारमा पनि दम्पती दुवैको वैज्ञानिक मूल्यांकन, कारणको पहिचान तथा व्यक्तिगत अवस्था अनुसार उपचार योजना आवश्यक हुने चिकित्सकहरू बताउँछन् ।
आधुनिक प्रविधि र अनुभवी विशेषज्ञ टोलीको समन्वयले उपचारको गुणस्तर थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। एभरेष्ट अस्पतालले महिला स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक, गुणस्तरीय सेवा तथा बिरामी मैत्री वातावरण मार्फत स्त्रीरोग तथा प्रजनन स्वास्थ्य सेवामा नयाँ मानक स्थापित गर्ने लक्ष्य लिएको जनाएको छ।
स्वस्थ महिला, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणका लागि नियमित स्त्री रोग परीक्षण, समय मै विशेषज्ञसँग परामर्श तथा आधुनिक उपचार सेवाको पहुँच विस्तार आजको प्रमुख आवश्यकता भएको स्वास्थ्य विज्ञहरूको निष्कर्ष छ।









