स्वादिलो सेकुवा पस्किदै उदासी

असल शासन प्रतिनिधि

बर्दियाको रानीपुर चौराहामा अचेल एउटा छुट्टै चहलपहल बढेको देखिन्छ। त्यहाँ आउने ग्राहकहरुलाई व्यस्तताका बीच स्वादिलो सेकुवा पस्किदै गरेकी भेटिन्छिन्, ४२ वर्षीया उदासी थारु। नाम उदासी भएपनि उनको अनुहारको सहज मुस्कान र उनले पस्किने स्वादले धेरैको मनमा खुसी भर्ने काम गरेको छ। तर, यो व्यावसायिक सफलताको पछाडि वर्षौंदेखिको उनको सङ्घर्ष, पारिवारिक उतारचढाव र निरन्तरको मेहनत लुकेको छ।

केहि वर्ष अघिसम्म उनको परिवार अधिया खेतीपाती गरेर गुजारा चलाउँथ्यो, जसबाट घरखर्च चलाउन निकै मुस्किल परेपछि उनले आफ्नै केही व्यवसाय गर्ने सोच बनाइन्। उदासीले मात्र दुई हजार रुपैयाँको सानो पुँजीबाट आफ्नो व्यवसायको जग बसालेकी थिइन्। त्यही दुइ हजार रुपैयाँले केही आवश्यक भाडाकुडा र बोइलर कुखुरा किनेर उनले स्थानीय स्तरमा सानो पसल सुरु गरिन् । व्यवसाय कसरी चलाउने भन्ने कुनै ठूलो अनुभव नभएपनि उनी आफैंले काम सिक्दै अगाडि बढिन्।

सङ्घर्षका मोडहरु सजिला थिएनन्: उनीहरु सुकुम्बासी बस्तीमा बस्ने भएकाले विभिन्न कानुनी र सामाजिक असुरक्षाहरु थिए। छिमेकी र गाउँका कतिपय मानिसहरूले विरोध गर्ने, ईष्र्या गर्ने र त्यहाँबाट विस्थापित गराउन खोज्ने जस्ता समस्याहरु आइपरे पनि रानीपुरको त्यहिँ चौरा नै उनीहरुको परिचय र जीविकोपार्जनको आधार बनिसकेकाले उनीहरुले हिम्मत हारेनन् ।

बिचमा कोराना महामारी र लकडाउनका कारण व्यवसाय ठप्प हुँदा परिवारमा ठूलो आर्थिक सङ्कट पर्यो। त्यस कठिन परिस्थितिमा उनका श्रीमान् कामको खोजीमा लमजुङको जलविद्युत आयोजनामा गए र त्यहाँ ६ महिना कडा श्रम गरेर १ लाख १० हजार रुपैयाँ ल्याए। त्यही रकमबाट उनीहरुले फ्रिज र अन्य आवश्यक सामानहरू थपेर पसललाइ थप व्यवस्थित बनाए । बिस्तारै उनको पसल “रानीपुर सेकुवा” को नामले चर्चित हुन थाल्यो। अहिले यो व्यावसाय सञ्चालन भएको करिब ६–७ वर्ष भइसकेको छ र यसले उनीहरुको जीवनस्तरमा सुधार ल्याएको छ ।

सुरुमा एक्लै सङ्घर्ष गरेकी उदासीलाई अचेल काममा सघाउन घरका तीन जना बुहारीहरुपनि साथमै छन्। उनका छोरा हाल काठमाडौंमा बसेर थप अध्ययन र वैदेशिक रोजगारको तयारी गरिरहेका छन्। अहिले उदासीको पसलमा दैनिक ३० देखि ४० के.जी सम्म र कहिलेकाहीँ ६०–७० के.जी सम्म पनि कुखुराको मासु खपत हुने गर्छ। प्रति के.जी ७५० रुपैयाँका दरले बिक्री हुने सेकुवा र अन्य पिय पदार्थहरूको कारोबारबाट दैनिक आम्दानी सन्तोषजनक हुने गरेको छ। यहिँ व्यवासायकै बलमा उनीहरुले दुइ कठ्ठा जग्गा समेत जोड्न सफल भएका छन्। अब स्थायी घर बनाउने उनीहरुको योजना रहेको छ।

आफ्नो जीवनको भोगाइलाई सम्झिदै उदासी थारु भन्छिन् कि मानिससँग सीप र मेहेनत गर्ने जागर छ भने उसले जहाँ बसेरपनि आफ्नो जीविकोपार्जन गर्न सक्छ। आफ्नो हातमा सीप भए घर जग्गा वा अन्य भौतिक सम्पत्तिको अभावमा पनि अगाडि बढ्न सकिन्छ भन्ने उनको दृढ विश्वास छ।

परिस्थिति जस्तोसुकै कठिन भएपनि, सानो स्रोत र दृढ इच्छाशक्तिका साथ निरन्तर लागिपर्ने हो भने जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा उनको यो सङ्घर्षशील यात्राले सिकाउँछ। उनलाई यो ९८०४१३६९७ नम्बरमा सम्पर्क गरेर उनले बनाएको मीठो सेकुवा खाएर सहयोग गर्न सक्नुहुन्छ।

Pic & Story:- Katha Project

  • २६ असार २०८३, शुक्रबार प्रकाशित

  • Nabintech