बाँके/असार २६
नेपालगन्ज उपमहानगरपालिकामा गठित टोल विकास संस्थाहरुको सहभागीतामा सम्पन्न फोहोर व्यवस्थापनमा स्थानीय नेतृत्व र नागरिक संलग्नता कार्यक्रममा फोहोर व्यवस्थापनको लागि सातबुँदे प्रतिबद्धता जाहेर भएको छ । बास नेपालले हरित नेपालगन्ज सामुदायिक फोहोर रुपान्तरण कार्यक्रम अन्तर्गत सम्पन्न गरेको कार्यक्रममा उक्त प्रतिबद्धता गरिएको हो ।
प्रतिबद्धताहरुमा नेपालगन्ज उपमहानगरपालिकाको सम्बन्धित वडामा फोहोर व्यवस्थापन गर्न, टोल विकास संस्थाको परिचालन गर्न, कार्यक्रम गर्न उपमहानगरपालिकालाई लिखित रुपमा आग्रह गर्ने, टोल विकास संस्था मार्फत नियमित सामुदायिक सरसफाइ अभियान संचालन गर्ने, नेपालगन्ज उपमहानगरपालिकाको प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनको लागि आआफ्नो तर्फबाट पहल गर्ने, सार्वजनिक स्थानमा फोहोर फाल्ने व्यक्ति, निकायलाई कानुन बमोजिम दण्ड, जरिवाना गर्न उपमहानगरपालिकालाई आग्रह गर्ने, हरेक वडामा बढि फोहोर हुने सार्वजनिक स्थानहरुको अनुगमन गरी फोहोर व्यवस्थापन गर्न सम्बन्धित वडाको ध्यानाकर्षण गराउने, स्वयंसेवि रुपमा सरसफाईमा निरन्तर संलग्न रहने व्यक्तिलाई प्रोत्साहन गर्नका लागि आवश्यक कार्यविधि अवलम्वन गरि सम्मान गर्न वडा तथा उपमहानगरपालिकालाई आग्रह गर्ने र सार्वजनिक स्थानमहरुलाई फोहोर निषेधित क्षेत्र घोषणा गर्न जनचेतना, वकालत, दवावका कार्यहरु संचालन गर्ने रहेका छन् ।

कार्यक्रममा उपमहानगरपालिका स्तरीय पाँच सदसीय फोहोर व्यवस्थान समिति समेत गठन गरिएको छ । समितिको संयोजकमा वडा नं. २ का पूर्व वडा अध्यक्ष सुनिल सिंह हमाल, सदस्यहरुमा मिना पौड्याल, शुशिला चन्द, रामचन्द्र तिवारी, दिल बहादर थापा चयन भएका छन् ।
कार्यक्रममा सहभागीहरुले आआफ्नो तर्फबाट फोहोर व्यवस्थापनको लागि रचनात्मक सुझाव दिएका थिए । वडा नं. २ का पुर्व वडा अध्यक्ष सुनिल सिंह हमालले फोहोर व्यवस्थापनको लागि सचेतनाका साथै कानुनि दण्ड समेत आवश्यक रहेको बताए । त्यस्तै वडा अर्का सहभागी दिल बहादुर थापाले टोल विकास संस्थालाई सशक्त बनाउनुपर्नेमा जोड दिए । वडा नं. १२ को पूर्व वडा अध्यक्ष बुद्धि सागर सुवेदीले फोहोर व्यवस्थापनमा पछिल्लो समय भएका गतिविधहरुको प्रशंसा गर्दै आफ्नो टोलको फोहोर व्यवस्थापनको लागि स्वयं आफै जिम्मेवार भएर लाग्नु पर्ने बताए ।

बास नेपालका कार्यक्रम निर्देशक नमस्कार शाहले कार्यक्रमको बारेमा जानकारी दिँदै टोल विकास संस्था समुदायको पहिलो अंग भएकाले समुदायको विकासका साथै फोहोर व्यवस्थापनमा महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्ने बताउँदै हाल फोहोर व्यवस्थापन हुन नसक्दा नेपालगन्ज निकै अव्यवस्थित हुन पुगेको बताए ।
कार्यक्रमको सहजिकरण बास नेपालका परियोजना अधिकृत रबिन्द्र बोहराले गरेका थिए भने कार्यक्रमको अन्तमा बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले टोल विकास संस्था क्रियाशिल भएर लाग्न अनुरोध गर्दै कार्यक्रमको समापन गरेका थिए ।
बास नेपाल र क्लिन अप नेपालद्धारा द कोकाकोला फाण्डेसनको आर्थिक सहयोग र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकामा सामुदायिक फोहोर रुपान्तरण कार्यक्रम विगत एक वर्ष देखि संचालन भईरहेको छ ।









