डुडुवामा स्थानीय सरकार संचालन र सकारात्मक सोचसम्बन्धी तालिम

रबिन्द्र बोहरा

बाँके/असार २८

डुडवा गाउँपालिकामा एकदिने स्थानीय सरकार संचालन र सकारात्मक सोच सम्बन्धि तालिम सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको आयोजना र बास नेपालको सहजिकरणमा आइतबार उक्त तालिम संचालन गरिएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यले उक्त तालिम संचालन गरिएको हो ।

तालिमको सहजिकरण राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले गरेका थिए । उनले तालिमको सहजिकरण गर्दै शुभारम्भमा पालिकाका जनप्रतिधि र कर्मचारीहरुमा जति सकारात्मक भावना र विश्वास हुन्छ त्यती नै पालिकाको विकास हुने र जनताहरुका अपेक्षाहरु पूरा गर्न सकिने बताए ।

तालिमको सहजिकरणका विषय बस्तुलाई प्रस्तुत गर्दै पूर्व प्रमुख सूचना आयुक्त बास्कोटाले संविधानले स्थानीय तहलाई नागरिकको सबैभन्दा नजिकको सरकारका रूपमा स्थापित गरेकोले जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षतालाई उच्च प्राथमिकता दिनुपर्ने बताए उनले पालिकाले छिटो छरितो गुणस्तरीय सेवा कसरी प्रदान गर्न सकिन्छ भन्ने विषयमा विभिन्न कानुन, तवर तरीका र त्यसको कार्यान्वयन बारे प्रस्तुतिकरण गरेका थिए ।

उनले विभिन्न पालिकाका असल अभ्यासको बारेमा जानकारी गराउँदै डुडुवा गाउँपालिकाले पनि त्यस्ते असल कार्य गर्न सक्ने बताए । उलने विशेषत पछिल्लो बदलिदो समयमा आफुले गरेका कार्यहरुको बारेमा बजारीकरण गर्नुपर्ने र आम नागरिक समक्ष सूचनाको पुहँच स्थापित गर्नुपर्ने बताए ।

तालिमा स्थानीय सरकार सञ्चालन ऐन, संविधानले स्थानीय तहलाई प्रदान गरेका अधिकार, सार्वजनिक उत्तरदायित्व, प्रभावकारी सञ्चार, नेतृत्व विकास, द्वन्द्व व्यवस्थापन, गुनासो सुनुवाइ प्रणाली, कार्यसम्पादन सुधार तथा परिणाममुखी प्रशासनका विषयमा व्यावहारिक उदाहरणसहित प्रस्तुतीकरण गरिएको थियो ।

तालिममा सकारात्मक सोच, एलजिपास र त्यसको १०० अंक प्राप्त गर्न गर्नुपर्ने कार्यहरु, पालिका संचालन तथा सभा संचालनको बारेमा बास्कोटाले प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रमा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले स्थानीय सरकारलाई जनअपेक्षा अनुरुप बनाउँदै लैजान जनप्रतिनिधि र कर्मचारीको क्षमता विकासको लागि यस्ता खालका तालिम र कार्यक्रम आवश्यक रहेको बताउँदै तीन तहको सरकारको समन्वयको अभावको कारण विकासको दिगोपनामा समस्या उत्पन्न हुने गरेका बताए ।

१०५ जनाको सहभागिता रहेको तालिमको संचालन बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले गरेका थिए भने बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत र तालिमको उदेश्य बारे जानकारी गराएका थिए ।

  • २८ असार २०८३, आईतवार प्रकाशित

  • Nabintech