नेपालगन्ज । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सामुदायिक वनको दिगो व्यवस्थापन गर्ने उद्देश्यले कोहलपुर नगरपालिका–९ स्थित श्री उषा हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा वृहत् वृक्षारोपण कार्यक्रम गरिएको छ ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको आर्थिक सहयोग, क्लिन अप नेपालको समन्वय तथा ड द्यष्ििष्यल त्चभभक ल्भउब िका नेपालको व्यवस्थापनमा आयोजित कार्यक्रममा महुवा, अर्जुन, हर्रो, सतिसाल, अमला, सितलचिनी, जामुन र खयर लगायत विभिन्न प्रजातिका २,४०० बिरुवा रोप्ने लक्ष्यका साथ वृक्षरोपण गरेर सुरुवात गरिएको हो ।

लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय भण्डारी लाल यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि यादबले सबै मिलेर बन संरक्षण गर्नुपर्नेमा जोड दिए । सो क्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य माननीय अम्बिका काफ्लेले वनको संरक्षण, जैविक विविधता र भावी पुस्ताका लागि हरियालीको महत्त्व रहेको बताए ।
कार्यक्रमका विशेष अतिथि नेपाल सरकारका पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटाले वन संरक्षण, वातावरणीय सन्तुलन तथा कार्बन प्राइसिङको अवधारणाबारे प्रकाश पार्दै वनको आर्थिक तथा वातावरणीय महत्त्व बढ्दै गएको बताए । युवा नेता सुधांशु कोइरालाले चीन भ्रमणका क्रममा देखिएका हरित विकासका अनुभव साझा गर्दै सामुदायिक वनमा फलफूलका बिरुवा रोप्न विशेष जोड दिनुपर्ने धारणा राखे। नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले वातावरण संरक्षण र सामुदायिक वनको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रनाथ योगीले सामुदायिक वन क्षेत्रले लामो समयदेखि विभिन्न समस्या भोग्दै आएको उल्लेख गरे ।

कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाह, क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछाने, परियोजना संयोजक प्रेम प्रकाश नेपाली, बास नेपालका निर्देशक हेमराज भट्ट , लाईन्सका पुर्व गभर्नर मधुसुदन शर्मा , नेपाली कांग्रेस बाँकेका जिल्ला सचिव तथा युवा नेता सुधांशु कोइराला,नागरिक समाजका संयोजक कृष्ण प्रसाद श्रेष्ठ सामाजिक अभियानता मीन मल्ल, कोहलपुर नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्रनाथ योगी लगायत विभिन्न क्षेत्रका जनप्रतिनिधि, सामाजिक अभियन्ता, वन डिभिजनका कर्मचारीहरु उपभोक्ता तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सामुदायिक वन जोगाऔँ, हरियाली बढाऔँ, सुखी समृद्धि बनाऔूँ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रममा वातावरणीय संरक्षण, जैविक विविधताको संवर्द्धन तथा हरित वातावरण निर्माणका लागि यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए। अभियानले स्थानीय स्तरमा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक वनको संरक्षण, विकास र दिगो व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।










