समय सँग एउटा अनौठो बानी हुन्छ, यसले मानिसलाई अगाडि धकेल्छ, तर स्मृतिलाई पछाडि कतै सुरक्षित राखिदिन्छ। जीवनका धेरै दृश्यहरू बिस्तारै धमिला हुँदै जान्छन्, तर केही यस्ता पनि हुन्छन्, जसलाई वर्षौं बिते पनि समयले मेट्न सक्दैन।
मेरा लागि त्यस्तै एउटा अमूल्य सम्झना हो, विद्यालयका दिनमा साथीहरूलाई भराउन लगाइने ‘अटो’। त्यो कुनै साधारण डायरी थिएन। त्यो त बालमनका निष्कपट भावना, भविष्यका रंगीन सपना र छुट्टिने डरले लेखिएका अक्षरहरूको सानो संसार थियो।
परीक्षा सकिने बेला, कक्षा परिवर्तन हुने दिन वा विद्यालय छोड्ने समय आउँदा हामी एकअर्कालाई अटो दिँदै भन्थ्यौँ, “राम्रोसँग भरिदेऊ है!” त्यसबेला कसैले पनि त्यो केही पानाको डायरीले भविष्यमा यति धेरै भावनाको भारी बोकेर बस्नेछ भन्ने कल्पना गरेका थिएनौँ। अटोका प्रत्येक पानामा एउटै प्रकारका प्रश्न हुन्थे—नाम, ठेगाना, मनपर्ने रङ, मनपर्ने गीत, ठूलो भएर के बन्ने इच्छा, र अन्त्यमा एउटा सन्देश। तर सबै भन्दा धेरै मन छुने ठाउँ भनेको त्यही अन्तिम हरफ हुन्थ्यो, जहाँ साथीहरूले मिलन र बिछोडका सायरी लेख्ने गर्थे।
“पिपलको रुखलाई बिर्से पनि,
वरको रुखलाई नबिर्सिनु,
मेरो अनुहारलाई बिर्से पनि,
मेरा यी २/४ शब्दहरूलाई नबिर्सिनु!!”
सायद ती सायरी साहित्यिक दृष्टिले अत्यन्त परिष्कृत थिएनन्। कतिपय त कुनै पुरानो कापी वा क्यालेन्डरबाट सारिएका हुन्थे। तर ती शब्दहरूमा कृत्रिमता थिएन। त्यहाँ बाल्यकालको निर्दोष विश्वास थियो। साथी कहिल्यै टाढा हुँदैनन्, सम्बन्ध कहिल्यै टुट्दैन र समय सधैं यस्तै रहनेछ। जीवनले भने आफ्नै पाठ पढाउँदो रहेछ। विद्यालयको प्राङ्गण छाडे पछि सबै आ-आफ्ना बाटा लागे। कोही विदेश पुगे, कोही आफ्नै गाउँघरमा बसिरहे, कोही परिवार र जिम्मेवारीको घेरा भित्र हराए।
कहिल्यै छुट्दैनौँ भन्ने कसम खाएका अनुहारहरू आज सामाजिक सञ्जालको भीडमा पनि भेटिन मुस्किल पर्छन्। कतिपयको खबर वर्षौं देखि छैन। कतिपयसँग भेट हुँदा पनि पहिलाको त्यो निश्चिन्त हाँसो कतै हराइसकेको महसुस हुन्छ। यही नै जीवनको यथार्थ रहेछ।
बाल्यकालले सम्बन्धलाई स्थायी सम्झन्छ, तर समयले सम्बन्धलाई परीक्षामा राख्ने रहेछ। केही सम्बन्ध दूरीले पनि जोगिन्छन्, केही नजिक भएर पनि हराउँछन्। अटोमा लेखिएका “सधैं सम्झिरहनू” भन्ने वाक्यहरू आज पढ्दा मनमा मीठो पीडा जाग्छ। सम्झना त रहिरहे, तर सम्झिने मानिसहरू जीवनका फरक-फरक अध्यायमा अल्झिए। आज पनि मेरो दराजको सुरक्षित ठाउँमा त्यो पुरानो अटो सुरक्षित छ।
यसका पानाहरू पहेँलिएका छन्, मसी फिक्का भइसकेको छ, कतिपय अक्षर समयले धमिला बनाइ दिएको छ। तर ती अक्षरहरूमा कैद भएका अनुहारहरू भने अझै उज्यालै छन्। एउटा पाना पल्टाउँदा विद्यालयको घण्टी बज्न थाल्छ, खेल मैदानमा साथीहरूको हल्ला सुनिन्छ, खाजाको आधा भाग बाँडेर खाएको स्वाद फर्किन्छ र कुनै कुनाबाट बाल्यकाल फेरि मुस्कुराउँदै आइपुग्छ।
आजको पुस्ताले डिजिटल संसारमा सयौँ तस्बिर र हजारौँ सन्देश सुरक्षित राखेका होलान तर हातले लेखिएका ती केही हरफको न्यानोपन र माया कुनै क्लाउडमा सुरक्षित फाइलले दिनै सक्दैन। किनकि हस्त लिखित अक्षरमा व्यक्तिको स्पर्श मिसिएको हुन्छ, भावनाको ताप मिसिएको हुन्छ र त्यो समयको सुगन्ध मिसिएको हुन्छ। सायद त्यसैले पुरानो अटो केवल एउटा डायरी होइन, त्यो समयसँग गरिएको मौन संवाद हो। त्यो प्रमाण हो कि कहिल्यै हामी पनि यति निष्कपट थियौँ, जहाँ मित्रता लाभ-हानि भन्दा माथि थियो, जहाँ बिछोडको कल्पनाले नै आँखा रसाउँथ्यो, र जहाँ भविष्य अझै सपना मात्र थियो।
जीवनले धेरै कुरा दियो, अनुभव, जिम्मेवारी, सफलता, असफलता। तर एउटा कुरा फेरि कहिल्यै दिएन, अटोको अन्तिम पानामा लेखिएको त्यो निष्कपट वाक्य, “मलाई कहिल्यै नभुल्नु है।” वास्तवमा, मानिसहरू बिर्सिन्छन्, ठेगानाहरू फेरिन्छन्, बाटाहरू छुट्टिन्छन्। तर बाल्यकाल कहिल्यै बिर्सँदैन। यो कहिलेकाहीँ पुरानो डायरीको एउटा पाना पल्टाएर चुपचाप सोध्छ- “तिमी अझै तिनै साथीहरूको सम्झनामा मुस्कुराउन सक्छौ?” र म सँग त्यसको उत्तर आज पनि एउटै छ “हो, म ती पाना पल्टाएर मुस्कुराउन सक्छु किनकि अटोका ती पानामा मेरो बाल्यकाल अझै जीवित छ।”









