राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ नेता तथा पूर्वमन्त्री फत्तेह सिंह थारुको राजनीतिक यात्रा नेपाल र विशेषगरी बाँकेको राजनीतिक इतिहासमा स्मरणीय मानिन्छ वहाँ नेपालकै राजनीतिको एक चीरपरिचित व्यक्तित्व हुनुहुन्थ्यो ।

वि.सं. १९९६ सालको शरद ऋतु (औपचारिक अभिलेखअनुसार १५ अक्टोबर १९३८) मा बाँकेको थपुवा गाउँमा जिम्दार देवीराम थारु र भगवतीदेवी थारुका जेठा छोराका रूपमा जन्मिनुभएका थारुले नेपालगन्जको मंगलप्रसाद माध्यमिक विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गर्नुभयो । त्यसपछि गोरखपुरबाट एसएलसी, प्रयागराजबाट आइए, त्रिचन्द्र क्याम्पसबाट स्नातक तथा भारतको लखनउ विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र डिप्लोमा इन फरेन अफेयर्स पूरा गर्नुभयो । पश्चिम नेपालको थारु समुदायबाट एमए डिएफए गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो उहाँ ।

थारुले २०२३ सालमा हसनापुर गाउँ पञ्चायतको प्रधानपञ्च निर्वाचित हुँदै राजनीतिक यात्रा सुरु गर्नुभयो। त्यसपछि बाँके जिल्ला पञ्चायत सदस्य, २०२८ सालमा जिल्ला पञ्चायत सभापति तथा पछि राष्ट्रिय पञ्चायत सदस्य बन्नुभयो । ३ पटक बाँके जिल्ला पञ्चायतको सभापति र एक पटक गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिको सदस्य पनि हुनु भएको थियो । शिक्षित र स्पष्टवक्ता नेताका रूपमा उहाँ तत्कालीन राजा वीरेन्द्रको समेत ध्यानाकर्षण गर्न सफल हुनुभएको थियो ।

पञ्चायतकालमा विभिन्न उतारचढाव, निलम्बन र राजनीतिक विवादका बाबजुद उहाँ आफ्नो अडानमा दृढ रहनुभयो । २०३८ सालपछि भएका विभिन्न निर्वाचनमा पाँच पटक पराजित र तीन पटक विजयी हुनुभएका थारुले राष्ट्रिय पञ्चायत सदस्य, सञ्चार राज्यमन्त्री, शिक्षा तथा संस्कृति राज्यमन्त्री, कृषिमन्त्री, उद्योगमन्त्री तथा रक्षामन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो। उहाँ तराईका रैथाने समुदायबाट नेपालको रक्षामन्त्री बन्ने पहिलो व्यक्ति मानिनुहुन्छ ।

पञ्चायतकाल र बहुदलीय कालमा समेत उहाँ बाँकेबाट २०३८, २०४३, २०५१ गरि ३ पटक निर्वाचित भएर ७ पटक मन्त्री हुनु भो । उहाँले शिक्षा, संचार, कृषि, रक्षा, उद्योग र वाणिज्य जस्ता मन्त्रालय चलाउनु भएको थियो । पहिले पञ्चायती व्यवस्था र पछि राप्रपामा लागेर राजनीति गर्नु भएका श्री फतेहसिंह थारु आफ्नो राजनीतिक जीवनमा सधैँ विद्रोही नै हुनु भो । तर उहाँले आफ्नो सैद्धान्तिक धरातल र राष्ट्रवादी कित्तालाई कहिल्यै पनि छाड्नु भएन ।

२०४७ सालको जनआन्दोलनका क्रममा सार्वजनिक अपमानसमेत सहनुपरे पनि उहाँ राजनीतिबाट विचलित हुनुभएन । २०५१ सालको प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. ३ बाट विजयी हुँदै पुनः राष्ट्रिय राजनीतिमा स्थापित हुनुभयो । त्यसपछि पनि उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहनुभयो ।

विक्रम संवत् १९९६ साल शरद शुक्ल सप्तमी तिथिमा बाँकेको थपुवा गाउँका जमिनदार श्री देवीराम थारुको जेष्ठ पुत्रको रुपमा जन्मिनु भएका श्री फतेहसिंह थारुलाई राजनीतिमा लागेर आफ्नो सबै सम्पत्ति सक्ने स्वच्छ चरित्रको नेता भनेर सबैले श्रद्धा गर्थे । यो वर्ष आगामी दशैँको सप्तमी तिथि फूलपातिको दिनमा उहाँ ८७ वर्षको पुग्नु हुने थियो ।

लामो राजनीतिक जीवनमा आफ्नो अधिकांश सम्पत्ति सार्वजनिक जीवनमै खर्च गर्नुभएका थारु पैत्रिक घर ध्वस्त भएपछि नेपालगन्जको घरबारीटोलमा बसोबास गर्दै आउनुभएको थियो। स्पष्ट अभिव्यक्ति, स्वाभिमानी व्यक्तित्व र बाँकेको विकासमा पुर्याएको योगदानका कारण फत्तेह सिंह थारु नेपाली राजनीतिमा सदैव स्मरणीय व्यक्तित्वका रूपमा रहिरहनुहुनेछ ।

स्वस्थ र प्रसन्नचित्त स्वभावका धनी उहाँलाई कहिल्यै बिसञ्चो भएको सुनिएन तर आज अचानक नेपालगन्जको वेस्टर्न हस्पिटलमा उहाँको देहावसान भएको समाचारले स्तब्ध र मर्माहत बनाएको छ।
एक आदर्श र निष्ठावान राजनीतिक पूर्व रक्षामन्त्री श्री फतेहसिँह थारुज्यूमा हार्दिक भावपूर्ण श्रद्धाञ्जलि। उहाँका शोकसन्तप्त परिजनमा हार्दिक समवेदना । पुत्र पुत्र Tarak Singh र Naresh Singh Tharu ज्यू समेत सबै परिजनलाई भगवानले धैर्य धारण गर्ने शक्ति दिउन् ।
ॐ शान्तिः शान्तिः शान्तिः ।









