मेरो देश र म

समुन्नत राष्ट्र निर्माणमा शिक्षित, सचेत र सशक्त महिलाहरूको अपरिहार्य भूमिका

असल शासन प्रतिनिधि

पार्वती पौड्याल पारु  / राष्ट्रको समृद्धि सडक, भवन र पुलले मात्र मापन हुँदैन, यो त नेपालमा बसोवास गर्ने यहाँका नागरिकको चेतना, महिलाहरूको सम्मान र समाजको नैतिक उचाइबाट मापन हुन्छ।

मेरो देश केवल एउटा भूगोल होइन, यो मेरो पहिचान, संस्कार, इतिहास र भविष्यको साझा सपना हो। यस देशको माटोमा असंख्य त्याग, बलिदान र संघर्षका कथाहरू छन्। तर आजको युगमा राष्ट्रलाई बलियो बनाउने सबै भन्दा ठूलो शक्ति हतियार होइन, देशका चेतनायुक्त नागरिकहरू हुन्। र त्यस्ता नागरिक निर्माण गर्ने पहिलो विद्यालय भनेको परिवार हो, जसको केन्द्रमा प्रायः महिलाहरू नै हुन्छिन्। शिक्षित महिलाहरू केवल आफ्नो जीवन मात्र परिवर्तन गर्ने व्यक्तिहरू होइनन्, उनीहरू त पुस्ताको भविष्य निर्माण गर्ने बलियो शक्ति हुन्।

एउटी आमाले शिक्षाको मूल्य बुझिन् भने उनका सन्तानले सभ्यता सिक्छन्। एउटी शिक्षिकाले ज्ञान बाँडिन् भने समाज उज्यालो बन्छ। एउटी राजनीतिक गर्ने महिलाले इमान्दारी र दूरदृष्टिका साथ नेतृत्व गरिन् भने लोकतन्त्र बलियो बन्छ। एउटी कामकाजी महिलाले आफ्नो कर्मलाई सम्मान गरिन् भने आर्थिक आत्मनिर्भरता र सामाजिक समानताको ढोका खुल्छ। तर केवल पद वा अवसर प्राप्त गर्नु नै सशक्तीकरण होइन। वास्तविक सशक्तीकरण तब हुन्छ, जब महिलाले आफ्नो ज्ञान, विवेक, नैतिकता र मानवीय संवेदनालाई समाजको परिवर्तनसँग जोड्छिन्। अधिकारसँगै उत्तरदायित्व, स्वतन्त्रतासँगै अनुशासन, र सफलतासँगै विनम्रता पनि उत्तिकै आवश्यक हुन्छ। आज सामाजिक सञ्जाल हाम्रा विचारहरू राख्ने सार्वजनिक मञ्च बनेको छ। यही मञ्चमा यदि हामी घृणा, भ्रम, चरित्रहत्या र विभाजन भन्दा माथि उठेर ज्ञान, प्रेरणा, सहिष्णुता र सकारात्मक चेतना फैलाउन सक्यौं भने डिजिटल संसार पनि राष्ट्र निर्माणको बलियो आधार बन्न सक्छ। विशेष गरी शिक्षित, सामाजिक, राजनीतिक र कामकाजी महिलाहरूले आफ्ना आवाजहरूलाई केवल व्यक्तिगत अभिव्यक्तिमा सीमित नराखी समाजलाई दिशा दिने माध्यम बनाउन आवश्यक छ। हामीले छोरीलाई केवल पढाउन होइन, सोच्न सिकाउनुपर्छ। महिलालाई केवल अवसर दिन होइन, निर्णय गर्ने वातावरण दिनुपर्छ। नेतृत्वमा केवल सहभागिता होइन, गुणस्तरीय नेतृत्वको सम्मान हुनुपर्छ। समानता भनेको प्रतिस्पर्धा होइन,  समानता भनेको सम्मान, अवसर र न्यायको सुनिश्चितता हो। राष्ट्र निर्माण कुनै एक नेता, एक सरकार वा एक संस्थाको जिम्मेवारी मात्र होइन। यो प्रत्येक नागरिकको दैनिक व्यवहारबाट सुरु हुन्छ। जब महिलाले आफ्नो ज्ञानलाई समाजको हितमा प्रयोग गर्छिन्, जब पुरुषले महिलाको क्षमतालाई सम्मान गर्छन्, जब परिवारले समान अवसरको संस्कार दिन्छन्, तब मात्र समृद्ध राष्ट्रको आधार तयार हुन्छ। हामी सबैले आफैँलाई एउटा प्रश्न सोधौं, के म मेरो देशका लागि समस्या बढाइरहेकी छु, कि समाधानको हिस्सा बनिरहेकी छु? यही प्रश्नको उत्तरले हाम्रो व्यक्तिगत चरित्र र राष्ट्रको भविष्य निर्धारण गर्नेछ।

आउनुहोस्, हामी यस्तो नेपाल निर्माण गर्ने प्रण गरौं जहाँ महिलाको सम्मान कुनै नारा मात्र नहोस्, व्यवहार बनोस्,  जहाँ शिक्षा प्रमाणपत्रमा सीमित नरहोस्, चरित्रमा देखियोस्, जहाँ राजनीति सेवाको पर्याय बनोस्, र जहाँ कामलाई लिङ्गले होइन, योग्यता, इमान्दारीता र समर्पणले मूल्याङ्कन गरियोस्। मेरो देश तब महान् हुनेछ, जब यहाँका प्रत्येक महिलाहरू सुरक्षित, शिक्षित, आत्मनिर्भर, सम्मानित र नैतिक नेतृत्वको प्रतीक बन्नेछिन्। र म तब सच्चा नागरिक हुनेछु, जब मेरो विचार, मेरो व्यवहार र मेरो कर्मले त्यो यात्रामा एउटा सकारात्मक योगदान पुर्‍याउनेछ। देश बदल्ने सबैभन्दा ठूलो क्रान्ति बन्दुकले होइन, शिक्षित चेतना, असल चरित्र र समान अवसरले मात्र सम्भव हुन्छ।

  • १ श्रावण २०८३, शुक्रबार प्रकाशित

  • Nabintech