नेपालगञ्ज। डुडुवा गाउँपालिका वडा नम्बर ६ स्थित जयन्दु बाल सुधार गृह परिसरमा वृक्षारोपण तथा केराका बिरुवा रोपण गरिएको छ ।
हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई विशेष हरित महिनाको रुपमा मनाउने उद्धेश्यले बास नेपाल वातावरण विभागको आयोजनामा हरित वातावरण निर्माणप्रति सामूहिक प्रतिबद्धता सहित बृक्षारोपण गरिएको बास नेपाल वातावरण विभाग प्रमुख हेमन्तराज काफ्लेले बताएका छन् ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री माननीय रत्न खत्री प्रमुख अतिथि रहेको कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि खत्रीले केराको बिरुवा रोपेर गरेका थिए । सो क्रममा बोल्दै प्रमुख अतिथि खत्रीले बिरुवा रोप्नु भावी पुस्ताको जीवन सुरक्षित गर्नु भएको उल्लेख गर्दै वातावरण संरक्षण जलवायु परिवर्तन न्यूनीकरण तथा हरित विकासका लागि प्रत्येक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । हरित अभियानमा लुम्बिनी प्रदेश सरकारको सदैब सहयोग र सहकार्य रहने उनको प्रतिबद्धता थियो ।

कार्यक्रमका बोल्दै समाजसेवी जेकेएसले जयन्दु बाल सुधार गृहमा केराका बिरुवा तथा विभिन्न प्रजातिका वृक्ष रोपिएको उल्लेख गर्दै यस्ता अभियानले आम नागरिकमा प्रकृतिप्रतिको माया, जिम्मेवारी र आत्मनिर्भरताको भावना विकास गर्ने विश्वास ब्यक्त गरे। बास नेपालले वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सञ्चालन गर्दै आएका अभियानहरू प्रशंसनीय रहेको उनको भनाई थियो ।
कार्यक्रम अन्तर्गत डिभिजन वन कार्यालयको सहयोगमा पारिजात, अर्जुन, कटहर, सितलचिनी, कल्की लगायतका बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवाहरू रोपिएका थिए। साथै फलफूल उत्पादन र हरियाली विस्तार गर्ने उद्देश्यले १ सय केराका बिरुवासमेत रोपिएको छ।

कार्यक्रममा जग्गादाता तथा संरक्षक जेकेएस सिंह, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्सका पूर्व गभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, निर्देशक हेमराज भट्ट, हरित अभियन्ता तथा बासका बाताबरण बिभाग संयोजक हेमन्तराज काफ्ले, समाजसेवी कमल काफ्ले , दैलेखी समाजका डिबि थापा, बास नेपालका लेखा अधिकृत राष्टि बुढा मगर, कार्यक्रम अधिकृत रविन्द्र बोहरा, देबेन्द्र अधिकारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा केराका ५० बढी बिरुवा देबेन्द्र अधिकारीले सहयोग गर्नु गरेका थिए ।

कार्यक्रमले वातावरण संरक्षण हरियाली प्रवर्द्धन तथा सामाजिक उत्तरदायित्वलाई एकैसाथ जोड्दै बाल सुधार गृह परिसरलाई अझ हराभरा बनाउनुका साथै प्रकृतिसँगको सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूले बताएका छन् । आगामी दिनमा पनि यस्ता वृक्षारोपण अभियानलाई निरन्तरता दिने आयोजकले जनाएको छ ।









