स्वर्गीय विष्णु भण्डारीको परिवारलाई साढे चार लाख सहयोग

असल शासन प्रतिनिधि

ठाँटीकाध दैलेख / धौलापडा आधारभूत विद्यालय ठाटीकाँध दैलेख छडाथानका कर्मचारी स्वर्गीय विष्णु भण्डारीको परिवारलाई रु. ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

स्वर्गीय भण्डारीको निधनको १२औँ दिनको तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उहाँकी धर्मपत्नी जौकला भण्डारी तथा छोरीहरूलाई उक्त रकम हस्तान्तरण गरिएको हो। स्वर्गीय भण्डारीको असामयिक निधनपछि छोरीहरूको शिक्षा तथा पारिवारिक आर्थिक व्यवस्थापनमा टेवा पुग्ने उद्देश्यले धौलापडा स्पोर्ट्स क्लबले सञ्चालन गरेको सहयोग अभियानमार्फत संकलित रकम क्लबका प्रतिनिधि कमल शाही, बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारी, बास नेपालका केन्द्रीय काेषाध्यक्ष धिरेन्द्र शाही लगायतले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका थिए। सहयाेग अभियान, अभियानमा सहयाेग गर्ने दाताहरुकाे विवरण र सहयाेगकाे घाेषणा बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले गरेका थिए ।

श्रद्धाञ्जली सभामा बास नेपालका केन्द्रीय कोषाध्यक्ष धिरेन्द्र शाही, स्वर्गीय भण्डारीका साइला बुवा देवराज भण्डारी तथा धौलापढा स्पोर्ट्स क्लबका सदस्य कमल शाहीले स्वर्गीय भण्डारीको व्यक्तित्व, समाज र शिक्षाक्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए। वक्ताहरूले विष्णु भण्डारी इमानदार, कर्तव्यनिष्ठ र सामाजिक भावनाले ओतप्रोत भएको उल्लेख गर्दै उहाँको निधनले परिवार मात्र नभई सम्पूर्ण समुदायलाई अपूरणीय क्षति पुगेको बताए।

कार्यक्रममा स्वर्गीय भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै सहयोग अभियानमा आर्थिक, नैतिक तथा अन्य विभिन्न माध्यमबाट साथ दिने सम्पूर्ण सहयोगदाता, संघसंस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गरिएको थियो। कार्यक्रमको सञ्चालन नेमबहादुर शाहीले गरेका थिए।

  • १० श्रावण २०८३, आईतवार प्रकाशित

  • Nabintech