पार्वती पौड्याल “पारू” / एस.एल.सी. उत्तीर्ण गरे पछि जीवनले नयाँ अध्यायको ढोका खोल्यो। त्यो अध्याय केवल उच्च शिक्षाको सुरुआत मात्र थिएन, व्यक्तित्व निर्माण, सम्बन्धको गहिराइ र जीवन बुझ्ने विद्यालय पनि थियो। महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका ती दिनहरू आज समयले धेरै दूरी पार गरिसके पनि मनका कुनाकानीमा उस्तै उज्यालो भएर बसेका छन् । कलेजको प्राङ्गणमा टेकिएको प्रत्येक पाइला सपनाले भरिएको थियो। भविष्यको खोजीमा हिँडिरहेका हामीसँग धेरै धन थिएन, तर सम्बन्धको समृद्धि अथाह थियो । साथीहरू बीचको विश्वास, आत्मीयता र निस्वार्थपन त्यति बेला सामान्य लाग्थ्यो, तर आज फर्केर हेर्दा जीवन कै सबै भन्दा दुर्लभ सम्पत्ति रहेछ भन्ने अनुभूति हुन्छ ।
मेरो स्वभाव सबैसँग सहज घुलमिल हुने भएकाले सहपाठी देखि अग्रज र जुनियरसम्मको आत्मीय सम्बन्ध बन्यो। तर समयले केही सम्बन्धलाई यति गहिरो बनायो कि वर्षौंको दूरीले पनि तिनको न्यानोपन घटाउन सकेन। बिनि, निरू, करू र म । हामी चार जनाको मित्रता समयसँगै परिपक्व हुँदै आजसम्म उस्तै विश्वास र स्नेहका साथ अघि बढिरहेको छौं। केही सम्बन्धहरू रगतले होइन, आत्माले बाँध्ने रहेछन् भन्ने सत्यको जीवन्त प्रमाण यही मित्रता हो । त्यस बेला हाम्रो साथीहरूको ठूलो समूह पनि थियो । यज्ञ, गोपाल, कृष्ण, सूर्य, दिपक, लोचनलगायत सबैसँग बिताएका क्षणहरू सम्झनाको अमूल्य धरोहर बनेर बसेका छन् । ती दिनहरूमा खुशी किन्ने कुनै ठूलो कारण चाहिँदैनथ्यो । खाजाको समय भयो कि चौलिकाको हलुवा-परौठाले नै संसार भरिको स्वाद दिएको अनुभूति हुन्थ्यो । सानो खर्चमा बाँडिएको ठूलो खुसीले मित्रताको वास्तविक अर्थ सिकाएको थियो । अझ गोपालको बालसुलभ सरलता, रमाइला ठट्टा र सबैलाई हँसाइ रहने स्वभाव आज पनि सम्झँदा अनुहारमा मुस्कान आफैँ फक्रिन्छ ।

कलेज जीवन केवल कक्षा कोठा भित्र सीमित थिएन । साइकलको पछाडिको सिटमा बसेर करूले साइकल चलाउँदा म मेजर गणितका सूत्रहरू दोहोर्याउँदै यात्रा गरेको क्षण, गडेनपुरको गणेश मन्दिर पुगेर श्रद्धा अर्पण गर्दै कलेज तर्फ लाग्ने बिहानीहरू र घरबेटी आमाले आफ्नै छोरी झैँ माया गरेर माघ महिना भरि स्वस्थानी कथा वाचन गराउनु भएको स्नेह, यी सबै सम्झनाहरूले शिक्षा केवल पुस्तकबाट होइन, व्यवहार र संस्कारबाट पनि प्राप्त हुने रहेछ भन्ने अनुभूति गराउँछन् ।
त्यति बेलाको हाम्रो पुस्तामा प्रतिस्पर्धा भन्दा सहकार्य, देखावटी भन्दा आत्मीयता र स्वार्थ भन्दा सम्मानको भावना प्रबल थियो । एक अर्काको सफलतामा खुसी हुने, कठिनाइमा साथ दिने र सानो उपलब्धिलाई पनि सामूहिक उत्सव बनाउने संस्कारले मित्रतालाई अझ बलियो बनाएको थियो। सायद यही कारण हो, जीवनले सबैलाई आ-आफ्नो जिम्मेवारी र व्यस्तताको बाटोमा डोर्याइ सके पनि भेट हुँदा समय रोकिए जस्तो लाग्छ । वर्षौँको अन्तराल एकछिन मै हराउँछ र मन फेरि त्यही कलेजको प्राङ्गणमा पुगेर उभिन्छ । समयले उमेर बदलिदियो, जिम्मेवारी बढाइदियो, जीवनका प्राथमिकताहरू फेरिदियो । तर केही सम्झनाहरू समय सँगै झन् उज्यालिँदै जाने रहेछन् । ती सम्झनाले वर्तमानलाई ऊर्जा दिन्छन्, आत्मविश्वास जगाउँछन् र सम्बन्धको मूल्य सम्झाइ रहन्छन् । आज हामी सबै आफ्नो-आफ्नो क्षेत्रमा व्यस्त छौँ, तर मित्रताको त्यो अदृश्य डोरी अझै उत्ति कै बलियो छ। त्यसैले त भेट हुँदा औपचारिक परिचयको आवश्यकता पर्दैन, केवल एउटा मुस्कानले वर्षौँको दूरी मेटाइ दिन्छ । जीवनमा सफलता केवल पद, प्रतिष्ठा वा उपलब्धिले मापन हुँदैन । यस्तो मित्रता पाउनु, त्यसलाई दशकौँ सम्म सम्मानपूर्वक जोगाइ राख्न सक्नु र विगतका उज्याला दिनलाई वर्तमानको प्रेरणा बनाउन सक्नु नै जीवनको वास्तविक सम्पन्नता हो । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जले हामीलाई केवल शिक्षा दिएन, उसले जीवन भर साथ दिने सम्बन्ध, संस्कार, आत्मविश्वास र मानवताको अमूल्य पाठ पनि सिकायो ।

आज पनि ती बाटाहरू सम्झँदा मन भित्र एउटा मीठो विश्वास पलाउँछ। समय बित्न सक्छ, उमेर बदलिन सक्छ, तर निस्वार्थ मित्रता कहिल्यै पुरानो हुँदैन । केही यात्राहरू गन्तव्यमा पुगेर समाप्त हुँदैनन्, तिनले स्मृतिमा जीवन भर उज्यालो बालि रहन्छन् । हाम्रो कलेज जीवन त्यस्तै एउटा उज्यालो यात्रा थियो, जसको प्रकाशले आज पनि जीवनलाई उस्तै आत्मीय र अर्थपूर्ण बनाइरहेको छ ।









