प्रधानाध्यापक सन्ध्यालाई स्व. नयन राज रावल स्मृति सम्मान

असल शासन प्रतिनिधि

नेपालगञ्ज/ दमयन्ती फाउन्डेशन नेपालका संस्थापक अध्यक्ष स्वर्गीय नयन राज रावलको १०औँ वार्षिक पुण्यतिथिको अवसरमा स्थापना गरिएको स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार–२०८३ सन्ध्या गुप्तालाई प्रदान गरिएको छ ।

शैक्षिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै आज गुप्तालाई उक्त सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी १० हजार १ रुपैयाँ रहेको छ  । गुप्ता मंगल प्रसाद नमुना माध्यमिक विद्यालयमा प्रधानाध्यापक रूपमा कार्यरत छिन् ।

उनले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप पुरस्कार र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । स्व. रावलको स्मृतिमा स्थापना गरिएको उक्त सम्मान तथा पुरस्कार प्रत्येक वर्ष उनको पुण्यतिथिको अवसरमा प्रदान गरिँदै आएको रावलकी धर्मपत्नी एवम् दमयन्ती फाउन्डेशनका अध्यक्ष इन्दु रावलले बताइन् । रावलले गुप्तालाई दोसल्ला ओढाई सम्मानपत्रका साथ सम्मान गर्नुका साथै नगद पुरस्कार प्रदान गरेकी थिइन् ।

स्व. रावलको स्मृतिलाई जीवित राख्दै उनले देखाएको असल कर्म र सामाजिक सेवाको बाटोमा अघि बढ्न प्रेरणा लिनुपर्नेमा बक्ताहरुको जोड थियो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव नमस्कार शाह, जिल्ला अध्यक्ष मन भण्डारी, लेखक एवम् साहित्यकार नरेन्द्रजंग पिटर, किरण आचार्य, अग्रज पत्रकार झलक गैरे लगायतले बोलेको थिए ।

संस्थाका अध्यक्ष रावलले १०औं स्मृति दिवसको अवसरमा बास नेपालको भवन निर्माणार्थ केन्द्रिय अध्यक्ष शिव कुमार बर्मालाई रु. ११ हजार १ सय रुपैयाँ समेत प्रदान गरेकी थिइन् ।

  • ३० श्रावण २०८३, शनिबार प्रकाशित

  • Nabintech