सुनकोशी गाउँपालिका–७ मतानबास र नागी क्षेत्रको वन हुँदै दक्षिणतर्फ झर्ने सालुखोलामा रहेका झरनाहरू पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बन्न थालेका छन् ।
प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र स्थानीय जनविश्वाससँग जोडिएको सालुखोलाका साना–ठूला गरी करिब एक दर्जन झरनालाई पछिल्लो समय सरस्वती झरना नामले चिनिन थालिएको हो ।
सरस्वती झरना हेर्दा सामान्य प्राकृतिक झरनाजस्तो देखिए पनि यसको इतिहास र स्थानीय जनविश्वास भने निकै पुरानो छ। सालुखोलाको आसपास वनझाँक्री, वनदेवता, नाग–नागिनीको बास हुने तथा यस क्षेत्रलाई दिव्यस्थलका रूपमा मान्ने परम्परा रहेको स्थानीय बुढापाकाहरू बताउँछन् ।
विगतमा सालुखोला क्षेत्रमा दिसापिसाब गर्न नहुने, जुठा खानेकुरा फाल्न नहुनेजस्ता मान्यता र किंवदन्तीसमेत प्रचलित थिए । सालुखोलाको शिर सुनकोशी गाउँपालिका–७ मतानबास र नागीको वन क्षेत्रमा पर्छ। महाभारत लेकको शिरबाट दक्षिणतर्फ छाँगोका रूपमा झर्ने यो खोलामा लामो समयसम्म खडेरी पर्दा पनि पानी नसुक्ने गरेको स्थानीयको भनाइ छ।
सरदर हिउँदमा समेत करिब दुई घट्ट पानी बराबरको बहाव रहने सालुखोलाका छाँगामा विगतमा हिउँदमा समेत पाहा पाइने गरेको स्थानीयहरू सम्झन्छन्।
सालुखोलाको पानी विगतमा स्थानीय कृषि र जनजीवनसँग समेत जोडिएको थियो । तत्कालीन मझुवा गाउँ पञ्चायतले नागी, मझुवा, गैरीगाउँ र निगुली क्षेत्रमा सिँचाइका लागि सालुखोलाको पानी कुलोमार्फत लैजाने प्रयास गरेको थियो।
त्यसबेला मदनबहादुर कार्की, अग्निधर प्रसाईं, तुलबहादुर गोले, रुमबहादुर कार्की र दलबहादुर कार्कीलगायत जनप्रतिनिधि तथा स्थानीय अगुवाहरूको महत्वपूर्ण योगदान रहेको स्थानीयको भनाइ छ।
सिन्धुली जिल्ला पञ्चायतको केही सहयोग र मझुवालीहरूको श्रमदानमा कुलो निर्माण गरी सालुखोलाको पानी चौकीटार हुँदै धोबीखोलामा झारिएको थियो।
तर पछि मझुवा र भद्रकाली गाउँ पञ्चायतबीच पानीको स्रोतलाई लिएर विवाद भएपछि उक्त कुलो लामो समय सञ्चालन हुन सकेन।
प्राकृतिक रूपमा समेत समृद्ध सालुखोला क्षेत्र विगतमा बाघ, भालु, घोरल, मृग, बँदेललगायत वन्यजन्तु तथा विभिन्न प्रजातिका चराचुरुङ्गीको बासस्थान रहेको स्थानीय बताउँछन्।
हाल यस क्षेत्रमा रहेका करिब एक दर्जन झरनामध्ये मुख्य झरना दामे गाउँबाट पश्चिमतर्फ रहेको छ।
झरनाको प्रचारप्रसार बढेसँगै मनोरञ्जन र प्राकृतिक सौन्दर्य अवलोकनका लागि यहाँ पुग्ने आन्तरिक पर्यटकको संख्या पनि बढ्दै गएको छ। यद्यपि वर्षायाममा झरना तथा छाँगा क्षेत्रमा ढुंगा खस्ने, माथिल्लो क्षेत्रमा वर्षा हुँदा आकस्मिक बाढी आउने र पहिरोको जोखिम रहने भएकाले पर्यटकले सावधानी अपनाउनुपर्ने स्थानीयको सुझाव छ।
स्थानीयका अनुसार सरस्वती झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडक तथा गोरेटो बाटो निर्माण, सूचना बोर्ड, सुरक्षा व्यवस्थापन र व्यापक प्रचारप्रसार आवश्यक छ।
बीपी राजमार्गको नजिकै रहेको यो क्षेत्रलाई व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने र त्यसबाट स्थानीयस्तरमा रोजगारी, व्यापार तथा आर्थिक गतिविधि विस्तारमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।
झरनाको प्राकृतिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्दै यहाँ पुग्ने पर्यटकले मन, विचार र आचारको शुद्धता कायम राख्नुपर्ने स्थानीयको आग्रह छ। प्रकृतिको पवित्रता र स्थानीय मान्यताको सम्मान गर्दै सरस्वती झरनाको संरक्षण गर्न सके यो क्षेत्र भविष्यमा सिन्धुलीको महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ।









