नेपालगन्ज /बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा आइतबार नेपालगन्जमा खबरदारी कार्यक्रम गरिएको छ ।
बालिका गरिमाको बलात्कार तथा हत्यामा संलग्नलाई हदैसम्मको कानुनी कारबाही गर्दै पीडित परिवारलाई न्याय र बालिकाहरूको सुरक्षित वातावरण सुनिश्चित गर्न माग गर्दै बास नेपालको आयोजनामा नेपालगन्जको विपी चोकमा खबरदारी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक तथा गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले बालिकामाथि हुने हिंसा र अपराधका घटनामा राज्य गम्भीर बन्नुपर्ने बताए । उनले यस्ता घटनाका दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिन नहुने भन्दै निष्पक्ष अनुसन्धान गरी कानुनअनुसार कडा कारबाही गर्न माग गरे । बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने उनको भनाइ थियो ।
नेकपा एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष मोहित शाहले बालबालिकामाथि हुने हिंसा रोक्न राज्यका सबै संयन्त्र प्रभावकारी रूपमा परिचालन हुनुपर्ने बताए । उनले दोषीलाई कानुनी दायरामा ल्याउनुका साथै यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन सुरक्षा तथा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए ।
सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले समाजमा बढ्दै गएको हिंसाप्रति नागरिक समाज र आम नागरिक थप सचेत र खबरदारीपूर्ण बन्नुपर्ने बताए । उनले पीडितलाई न्याय दिलाउन सामाजिक दबाब निरन्तर कायम राख्नुपर्नेमा जोड दिए ।
बिग्रुप बाँकेकी उपाध्यक्ष मीरा खनालले बालिकाको सुरक्षा र अधिकार सुनिश्चित गर्न परिवार, समुदाय, विद्यालय तथा राज्यका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले बालबालिकामाथि हुने हिंसा अन्त्यका लागि दोषीलाई कडा सजायसँगै सामाजिक चेतना र सुरक्षा प्रणालीमा सुधार आवश्यक रहेको धारणा राखिन् ।

कार्यक्रममा सहभागीहरूले ‘गरिमालाई न्याय देऊ’, ‘बालिकाको सुरक्षा सुनिश्चित गर’, ‘बलात्कार तथा हत्या अन्त्य गर’ लगायतका नारासहितको प्लेकार्ड प्रदर्शन गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका थिए ।
बास नेपालका कार्यक्रम प्रबन्धक मन भण्डारीले सञ्चालन गरेको कार्यक्रमको समापन बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका ५० भन्दा बढी नागरिकको सहभागिता थियो ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरास्थित बस्तीबाट साउन ३१ गतेदेखि हराएकी गरिमाको शव भदौ २ गते सोही स्थानको एक घरमा फेला परेको थियो । घटनाले बालबालिकाको सुरक्षा र महिला तथा बालिकामाथि हुने हिंसाविरुद्ध राज्य तथा समाजको भूमिका थप प्रभावकारी बनाउनुपर्ने बहसलाई पुनः सतहमा ल्याएको छ ।









