बाजुरा / पवित्र बुढीनन्दा माताको तीर्थयात्रा २०८३ साल भदौ ७ गतेदेखि ११ गतेसम्म हुने भएको छ। तीर्थयात्रामा नेपालका विभिन्न जिल्ला तथा स्थानबाट हजारौँ श्रद्धालु भक्तजनहरू बुढीनन्दा माताको दर्शन तथा पूजा–आराधनाका लागि सहभागी हुने अपेक्षा गरिएको छ।
हरेक वर्ष बुढीनन्दा माताको दर्शन गर्न आउने भक्तजनहरूले पूजा–आराधना गर्दै आफ्नो मनोकामना व्यक्त गर्ने, आशीर्वाद प्राप्त गर्ने तथा आध्यात्मिक शान्तिको अनुभूति गर्ने परम्परा रहिआएको छ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुढीनन्दा क्षेत्र प्राकृतिक सौन्दर्यका दृष्टिले समेत आकर्षक मानिन्छ। विशाल हरियाली पाटन, रमणीय तालतलैया तथा विभिन्न प्रजातिका हिमाली फूलहरूले यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन्।
तीर्थयात्राले धार्मिक पर्यटनसँगै बुढीनन्दा क्षेत्रको प्राकृतिक तथा पर्यटकीय सम्भावनालाई समेत प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। प्रकृति, धार्मिक आस्था र आध्यात्मिक शान्तिको संगमका रूपमा रहेको बुढीनन्दामा यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने विश्वास गरिएको छ।
तीर्थयात्रामा सहभागी हुने सम्पूर्ण श्रद्धालु भक्तजनलाई बुढीनन्दा क्षेत्रका सम्बन्धित पक्षले हार्दिक स्वागत गरेका छन्।









