काठमाडौं/ रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। बाढी र त्यसपछिको विपद्बबाट रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी २२ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी मानवीय क्षति नुवाकोटमा भएको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको छ। यस्तै, धादिङमा पाँच महिला, दुई पुरुष तथा दुई जनाको लिङ्ग खुल्न बाँकी रहेको गरी नौ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ। रसुवामा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले नदी किनार तथा आसपासका बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ। विभिन्न स्थानबाट हालसम्म ६५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको विवरण अनुसार रसुवाबाट ४३ जना, नुवाकोटबाट १९ जना र धादिङबाट तीन जना घाइतेको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये छ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने ३६ जनाको धुन्चेमा व्यवस्थापन तथा उपचार भइरहेको जनाइएको छ। एक प्रहरीसहित अन्य घाइतेको नुवाकोटमा उद्धार गरी उपचारको व्यवस्था गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ। बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेकाले केही स्थानमा उद्धार टोली पुग्न कठिनाइ भएको बताइएको छ।
प्रहरीले मृतक तथा बेपत्ता व्यक्तिहरूको विवरण संकलन गर्ने, प्रभावित क्षेत्रको खोजी गर्ने र थप जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कामलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाएको छ। विपद्को अवस्था पूर्ण रूपमा नियन्त्रणमा नआएकाले स्थानीयवासीलाई नदी तथा खोलानाला आसपास नजान र सतर्क रहन आग्रह गरिएको छ।
बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको यकिन विवरण संकलन भइरहेको र खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक, घाइते तथा प्रभावितको संख्या थपघट हुन सक्ने प्रहरीको भनाइ छ।









