काठमाडौं । सिंहदरबारमा जारी सर्वदलीय बैठकमा राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गर्ने प्रस्ताव आएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राहत, उद्धारदेखि पुनर्स्थापनासम्मका काममा समन्वय गर्न सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गरेका हुन्। बैठकमा लामिछानेले भने, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौं, जसले सरकारलाई निर्णय गर्न सहज होस्।’
उनले सरकारको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणालीमार्फत सञ्चालन गर्दै सबै राजनीतिक दल एकै ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा पनि जोड दिएका छन्।
सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही, जसपा नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन्।









