धौलापडा माईको गविर धौलापडा गुफा

– नेम बहादुर शाही

प्रकृतिको अनौठो संरचना धौलापडा गुफा एक पर्यटकिय सम्भावना बोकेको ठाउँ हो । यसको आन्तरिक संरचना विचित्रको छ । भित्रपस्ने ढोका सानो भएपनी यसको भित्री भाग भने खुल्ला छ । यो गुफाको भित्र ढुंगाका स्वनिर्मित अनौठा र कलात्मक विभिन्न प्राणीका स्तन वा थुन आकृतिका संरचना गुफाको माथिल्लो भागमा रहेका छन भने भित्तामा देविदेउताका आकृतिहरु देखिन्छन् । यो गुफा प्राकृतिक रुपमा जति सुन्दर र कलात्मक छ त्यतिकै यो संग जोडिएको धार्मिक आस्था पनी रोचक र अनौठो लाग्ने खालको छ । यो गुफामा धौलादेवि माईको वास हुने जनविश्वासका आधारमा स्थानिय क्षेत्रका वासिन्दाहरु यसलाई धौलापडा माईको नामले पुकारन्छ भने यो गुफालाई र्माईको गविर वा वास वस्ने ठाउँको रुपमा पुजा गर्छन् ।
कर्णाली प्रदेशको दैलेख जिल्ला ठाटिकाँध गाउपालिका वडा नं. ६ को उत्तरमा पर्ने ठाउँ छडाथानमा अवस्थित छ, धौलापडा गुफा । ठाटिकाँध गाउपालिकाको सदरमुकाम ठाटिकाँध वजारवाट करिव ५ किलोमिटरको दुरीमा रहेको यो ठाउँ ऐतिहासिक र धार्मिक महत्वको क्षेत्र हो । यो संग जोडिएको धार्मिक आस्थाको अध्ययन र अनुसन्धान गरी अलिखित तथ्यहरुको जानकारी सवैको खोजी र चासोको विषय वनेको छ । छडाथानवाट करिव १ कि.मि. को दुरीमा पुर्वतर्फको जंगलको विचमा गस्र्या भन्ने ठाउमा छ यो गुफा । पुरानो किम्वदन्ती अनुसार सत्य युगमा अहिलेको छडाथान वरिपरीको भुमि घना जंगलले घेरिएको थियो । यसै घना जंगललाई आफ्नो क्रिडास्थल वनाएर धौलादेवी र छडदेउती नामकी दुई देवीहरुले आफ्नो दैवीशक्तिको रुपमा प्रयोग गर्ने गरेको जानकारहरु बताउँछन् ।
त्यो समयमा राक्षसहरुको आतंकवाट बचाउन देवीले अदृश्य रुपमा त्यहाँका मानिसहरुको सुरक्षा गर्ने गरेक बताइन्छ । एकपटक उनिकोटे राजाका सिपाईहरु सिकार खेल्ने क्रममा घना जंगलको विचमा हराएर यी देविहरुको वासस्थानमा पुगेपछी यिनीहरुको अदभुत क्षमता र अनौठो व्यवहार राजाका सिपाईहरुले देखा थिए । राजाका सिपाईहरुले यि विलक्षण स्वभावकी देवी देखेपछी दरवारमा फर्केर राजालाई सवै घटनाको वेलिविस्तार गरे । सिपाईका कुरा सुनिसकेपछी राजाले ति देवीलाई दरवारमा ल्याएर रानी वनाउने योजनाका साथ त्यो ठाउमा पुगेका थिए । राजाका कुचाल थाहा पाएर भागेकी देवी त्यसपछी अदृश्य वनिन् । धौलादेवी अदृश्य भएपनी उनको शक्ति बढ्दै गएको बुढापाकाहरुको भनाइछ ।
धौलापडा गुफामा अदृश्य भएकी धौलादेवीको पुजा गर्न सुरु भएको घटना पनी रोचक किम्वदन्ती छ । यो कुराका जानकार वयबृद्ध अमर शाहीका अनुसार एउटा फिरन्ते जोगी वावा घुम्दै हिड्ने क्रममा घना जंगलको विचमा गुफा देखेपछी त्यो गुफा हेर्न गुफाभित्र पसेपछि गुफाभित्र उसले अचम्मको दृश्य देख्यो । गुफाको माथील्लो भागमा रहेका बिभिन्न जनाबरका स्तन (थुन) वाट गुफामा दुध झरिरहेको थियो । जोगीले यस्तो देखेपछी एउटा थुन भाँचेर आफुुसंग लिने विचार गरी थुन भाच्यो । अचानक उसले भाचेको थुन एकाएक ढुंगामा परिणत भयो भने दुध झरिहेका थुनहरुवाट दुधजस्तो चौलानी पानी झर्न थाल्यो । यस्तो घट्नापछी त्यो साधुले यो ठाउँमा ठुलै माईको शक्ति रहेको विश्वास गरेर माईको मुर्ति थापना गरी पुजा गर्ने योजना वनायो । त्यो वेला त्यो ठाउँमा वस्ति थिएन । साँझपख उसले हालको देउधुुरया भन्ने ठाउँमा गोठालाहरु वस्ने खर्कमा वलिरहेको आगो देख्यो र त्यो ठाउँमा पुग्यो । त्यतिवेला त्यहाँ सिलटाकुरया भनिने गोठालाहरु वस्थे । सिलटाकुरयासँग उसले सवै घटनाको वेलिविस्तार लगायो र पुजा गर्ने प्रस्ताव राख्यो । तर सिलटाकुरया उसको कुरामा सहमत भएनन् वरु उनिहरुले कोलार भन्ने ठाउमा वस्दै आइरहेका गोठाला खलराजाको खर्क देखाइदिए ।
साधु खलराजाका खर्कमा पुगेर खलराजालाई सवैकुरा वताएपछी खलराजा उसको कुरामा सहमत भए । जोगीसंगै गुफामा पुगेका खलराजाले सवै दैवीशक्ति देखेपछी उनले पनी त्यो ठाउँमा धौलादेवी लुकेर वसेको विश्वास गरी जोगीसंग मिलेर गुफावाट करिव ५० मिटर यता डाडामा मेहेलको रुखको फेदमा ढुंगाका मुर्ति खडा गरी धौलादेवीको दुध चढाएर मालिका चर्तुदशीका दिन पुजा गर्न थाले । फिरन्ते जोगी लामो समय त्यो ठाउँमा कुटि वनाएर वसेको थियो । त्यो वेलादेखी हालसम्म त्यहाँ धौलादेविलाई धौलापडा माईको नामले पुजाआजा गरिदै आईरहेको छ । धौलापडा गुफालाई माईको वासस्थान गविरको रुपमा पूजा गरिदै आइरहेको छ । माईको मुर्ति स्थापना गरेको मेहेलको रुखमा त्यो भन्दा पछी खलराजाका सन्तानहरुले निरन्तर रुपमा हालसम्म दुध चढाउदै आएका छन भने गुफालाई गविरको रुपमा मूख्य ठाउँ मानी पुजा गर्दै आएका छन् ।
धौलापडा गुफामा धौलादेवी वास वस्ने हुंदा उक्त गुफालाई पबित्र मानी त्यसको भित्र पस्न वन्देज लगाइएको छ । धौलापडा माईको मुख्य पुजा मालिका चर्तुदशी तिथीमा श्रावण शुक्ल  चर्तुदशीका दिन गरिन्छ । पर्वको समयमा धौलापडा माईको दर्शन गर्न हजारौ दर्शनार्थी टाढा टाढावाट त्यहाँ पुग्छन् । धौलापडा देवीले सोचेको मनोकांक्षा पुरा गर्ने जनविश्वासका आधारमा मानिसहरु खानापानी नखाएर भोको पेटमा अघिल्लो रातवाट वर्तवस्ने गर्दछन् भने धौलापडा माईको पुजा गरेर मात्र खाना खान्छन् । अनौठो संस्कार के छ भने धौलापडा गुफाभित्र यो पर्वको एकदिनमात्र मानिसहरुलाई प्रवेश गर्न दिईन्छ । अरु समय प्रवेश गरे माई रिसाएर अनिष्ट हुने जनविश्वासको कारण प्रवेश गर्ने नगरेको स्थानिय वासिन्दाहरु वताउँछन् । बढ्दो आस्था र विश्वासको कारण हाल केही वर्षदेखी भाद्र शुक्ल तृत्तिया हरितालिका तिजको दिन पनी यहाँ पुजा गरिन्छ । यो दिन मुख्य पर्वको दिन दर्शन गर्न जान नसकेका सवै आउने हुँदा यो दिन पनी ठुलै मेला लाग्दछ ।
धौलापडा माइको मुर्ति स्थापना गरी पुज्न थालेको मेहेलको रुख वुढो भएर ढलेपछी अहिले रुखको फेदलाई केन्द्रमा राखेर उक्त स्थानमा मन्दिर स्थापना गरिएको छ । पुजा गर्नको लागी मन्दिर वनाइर्एपनी मुख्य पुजा भने गुफा भित्रको गविरमा गरिन्छ । रोचक पक्ष के छ भने गविर प्रवेश गर्दा लगाएका सवै कपडाहरु, गरगहनाहरु फुकालेर सेतो कपडा वा रुमाल पहिरेर मुखमा हरिया घाँस र सुकेको एक टुक्रा काठ राखेर पशु वा अज्ञानीको भेषमा जान्छन् । गविरको ढोका सानो भएपनी भित्र एकपटकमा ५० देखी ६० जना सम्मले संगै पुजा गर्न सकिन्छ । माईको आस्था र विश्वासमा मानिसहरु सुन, चाँदी र तामाका मुर्तिहरु वनाएर माइका नाममा चढाउने र मनको वर माग्ने गर्दछन् । टाढा टाढावाट दर्शन गर्न आउने तिर्थालु भक्तजनहरु आफुले सोचेको वर माईले दिएकोले खुसी भएर आउने गरेको र धौलापडा माईको शक्ति धेरै रहेको वताउँछन् । माईको मन्दिर भएको ठाउँमा जंगलवाट करिव १२ देखी १५ मिटर लामो उत्तिसको रुख काटेर ल्याई माईको मन पर्ने राता र सेता कपडा नेजाले रुखलाई सिंगारेर माईको लिंगो वनाएर टांगो ठोक्ने चलन छ । माईको नाममा लाखौ मुल्य वरावरका कपडाहरु आउनेहुंदा टांगोले धान्न नसक्ने हंदा वरिपरीका रुखहरु सवै राता र सेता नेजाले भरिन्छन् ।
धौलापडा माईको दर्शन गर्न आउने तिर्थालु भक्तजनहरुको राती वास वस्ने सुविधाको लागी मन्दिर परिसरमा धर्मशाला निर्माण गरिएको छ । महिला र पुरुषको लागी छुटाछुटै वस्ने दुई कोठाको व्यवस्था गरिएको छ । स्थानिय युवा क्लव र मन्दिर व्यवस्थापन समितिले खानेपानी र अन्य मेला व्यवस्थापनको काम गर्दै आइरहेका छन् । भक्तजनहरुलाई नुहाउने सुविधाका लागी मन्दिर भन्दा ५० मिटर जती तल बासुधारा भन्ने स्थानमा महिला र पुरुषको लागी छुटाछुटै नुहाउने व्यवस्था गरिएका वाइस धारा निर्माण गरिएका छन् । मालिका पर्वका वेला दर्शनार्थीवाट उठेको भेटीवाट मन्दिर व्यवस्थापन समितिले विविध कार्यहरु गर्दै आइरहेका छन धौलापडा क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागी ।
धौलापडा क्षेत्रको अध्ययन र अनुसन्धान गरी यसको पर्यटकिय सम्भावनाको विकास गर्न सकेको खण्डमा यो ठाटिकाँध गाउँपालिकाको पर्यटन विकासको आधार क्षेत्र वन्न सक्छ । धौलापडा क्षेत्रमा रहेका बाइस धारा पिकनिक स्पटको लागी राम्रो सम्भावना भएको ठाउँ हो । यो ठाउँ सडक सन्जालसंग जोडिएकोले पनी यहाँ पुर्वाधारको विकास गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आर्कषण गर्न सकिन्छ । सुन्दर पर्यटकिय विजारे चौर जाने वाटोेमै पर्ने हुंदा पनी विजारे घुम्न जाने पर्यटकलाई यहाँसम्म पुगाउन सकिने उद्देश्यले रामघाट सिंहासैन सडक खण्डमा पर्ने हलानडाडा भन्ने ठाउँमा धौलापडा गुफामा जाने गेट वनाइएको छ । गेटवाट करिव ५० मिटर तल जाने कच्ची र भिरालो वाटो छ जसलाई फराकिलो पदमार्ग वनाउने तर्फ आर्थिक तथा प्राविधिक सहयोगको खोजिमा स्थानिय क्लव र मन्दिर व्यवस्थापन समिति लागेपनी स्रोतको अभावमा काम हुन सकेको छैन । पर्यटकिय क्षेत्र विकासको लागी संघ, प्रदेश र स्थानिय तहका सवै सरोकारवाला निकायको ध्यान जानु जरुरी छ । धौलापडा प्रकृतिको सून्दर संरचना भएको धार्मिक तथा ऐतिहासिक ठाउँ हो जसको महत्व भावी पुस्तामा हस्तान्तरण गर्न पनि यसको संरक्षण र विकास गर्नु अपरिहार्य छ ।

  • १२ भाद्र २०८३, शुक्रबार प्रकाशित

  • Nabintech