आफ्नै आँखाअघि साथीहरूलाई बाढीले बगाएको पीडादायी अनुभव सुनाउँदै सब–इन्जिनियर

असल शासन प्रतिनिधि

नेपालगञ्ज / अपर त्रिशूली–२१६ जलविद्युत् आयोजनामा कार्यरत सब–इन्जिनियर महेश रावल र उमेश रावलले आफ्नै आँखाअघि साथीहरूलाई बाढीको भेलले बगाएको पीडादायी अनुभव सुनाएका छन्।

शनिबार काठमाडौंस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा बोल्दै उनीहरूले केही मिनेटको अन्तरले आफूहरू बाँच्न सफल भएको बताएका हुन्। अछामको पञ्चदेवल विनायक नगरपालिका–७, पुल्लेतोलाका सब–इन्जिनियर उमेश रावलले बाढी आउन लागेको कुनै पूर्वसूचना नपाएको बताए। अचानक ठूलो आवाज सुनिएपछि बाहिर निस्कँदा विशाल भेल देखिएको र त्यसक्रममा धेरै साथीहरू बगेको उनको भनाइ छ। “बाढी आउने कुनै जानकारी थिएन। एक्कासी स्वाँ–स्वाँ र सुँसु गरेको आवाज आएपछि बाहिर निस्कँदा विशाल भेल देखियो। कयौँ साथीहरूलाई भेलले बगायो। हामी केही जना भिरमा घाँस समातेर ज्यान जोगाउन सफल भयौँ,” रावलले भने। उनका अनुसार आयोजनाको ड्याम, पावरहाउस र सुरुङ क्षेत्रमा गरी तीन हजारभन्दा बढी कर्मचारी तथा कामदार कार्यरत थिए। तीमध्ये एक हजारभन्दा बढी सम्पर्कविहीन हुनसक्ने अवस्था रहेको उनले बताए।

यस्तै, आयोजनाको सुरुङमा कार्यरत सब–इन्जिनियर महेश रावलले आफूहरू केही जना मात्र बाहिर निस्कन सफल भएको र धेरै साथीहरू सुरुङभित्रै फसेको जानकारी दिए। “म लगायत केही साथीहरू मात्रै भाग्न सफल भयौँ। धेरै साथीहरू सुरुङभित्रै फस्नुभएको छ। उहाँहरूको जीवन रक्षाका लागि तत्काल खोज तथा उद्धारको पहल गर्न आवश्यक छ। समयमै उद्धार गर्न सके अझै पनि सकुशल उद्धार हुने सम्भावना छ,” उनले भने।

रावलद्वयले बाढी प्रभावित क्षेत्रमा बाहिर देखिएका व्यक्तिहरूको उद्धारसँगै सुरुङभित्र फसेका श्रमिकहरूको खोजी तथा उद्धारलाई समेत उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन्।

  • १४ भाद्र २०८३, आईतवार प्रकाशित

  • Nabintech