बाढी आएको एक साता बित्यो, बाजुराका दम्पती अझै सम्पर्कविहीन

असल शासन प्रतिनिधि

नेपालगन्ज । रसुवाको टिमुरे क्षेत्रमा गत भदौ १० गते आएको भीषण बाढीपछि बाजुराका एक दम्पती एक सातादेखि सम्पर्कविहीन भएका छन्।

स्वामीकार्तिक खापर गाउँपालिका–३, बाजुरा निवासी ४४ वर्षीय वीरेन्द्र प्रसाद जोशी र उहाँकी श्रीमती सत्या जैसी बाढी आएको दिनदेखि बेपत्ता भएका हुन्। परिवारजनका अनुसार उनीहरू करिब ६ वर्षदेखि टिमुरे क्षेत्रमा काम गर्दै आएका थिए। घटनाको दिन बिहान दुवै जना टिमुरेबाट चीन सीमातर्फ गएको बताइएको छ।

परिवारले मोबाइल लोकेसन ट्रेस गर्दा बिहान ८:२८ बजे पुलको बीच भागमा मोबाइलको लोकेसन देखिएपछि स्विच अफ भएको जनाएको छ। त्यसयता उनीहरूसँग कुनै सम्पर्क हुन सकेको छैन। बाढीपछि एक सातासम्म पनि दम्पतीको अवस्था अज्ञात रहँदा परिवारजन चिन्तित बनेका छन्।

उनीहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग परिवारले आग्रह गरेको छ। जोशी दम्पतीलाई कसैले देख्नुभएको, भेट्नुभएको वा उहाँहरूको अवस्थाबारे कुनै जानकारी पाउनुभएको भए नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा तत्काल जानकारी गराइदिन परिवारजनले अपिल गरेका छन्।

  • १६ भाद्र २०८३, मंगलवार प्रकाशित

  • Nabintech