बास नेपालकोे सामाजिक परीक्षण : प्रभाव र उपलब्धि सार्वजनिक

असल शासन प्रतिनिधि

बास नेपालले आफ्नो वार्षिक कार्यक्रम तथा त्यसबाट परेको प्रभावका विषयमा सामाजिक परीक्षण गरेको छ । संस्थाले वर्षभरि सञ्चालन गरेका कार्यक्रम, उपलब्धि, प्रभाव, पारदर्शिता, जवाफदेहिता तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा सरोकारवालाको सहभागितामा सामाजिक परीक्षण गरिएको हो ।

शनिबार भएको संस्थाको २३ औँ साधारण सभा संगै गरिएको सामाजिक परीक्षणमा सामाजिक परीक्षक दुर्लभ बोगटीले सामाजिक परीक्षणको प्रारम्भिक प्रतिवेदन तथा प्राप्त नतिजा सार्वजनिक गर्दै बास नेपालको कार्यक्रमको प्रभाव र संस्थागत अवस्थाबारे प्रस्तुतिकरण गरेका थिए । सामाजिक परीक्षणबाट बास नेपालको भौगोलिक तथा साझेदारीको दायरा उल्लेख्य रूपमा विस्तार भएको देखिएको छ । विभिन्न क्षेत्र र सरोकारवालासँगको सहकार्य बढ्दै गएको अवस्थामा आगामी दिनमा कार्यक्रमको विस्तारसँगै संस्थाको आन्तरिक प्रणालीलाई समेत थप व्यवस्थित र सुदृढ बनाउनुपर्नेमा प्रतिवेदनले जोड दिएको छ ।


प्रतिवेदनमा बास नेपालले सुशासन, जवाफदेहिता, पारदर्शिता र विभिन्न सन्दर्भमा पैरवी गर्दै सार्वजनिक सेवाको सुधार र सवलिकरणमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उलेख गरिएको थियो । युवा नेतृत्वमा स्थापित संस्थाले भ्रष्टाचारविरुद्धको अभियान, सुशासन, सामाजिक जवाफदेहिता र नागरिक सहभागितालाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएको उल्लेख छ । संस्थाले भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति लिँदै भ्रष्टाचारमुक्त समाज निर्माण र जवाफदेहिताका औजारहरूको प्रयोग गरी शून्य सहनशीलताको वातावरण निर्माण गर्ने उद्देश्यले काम गरिरहेको र संस्थाले स्थानीय सरकारसँगको सहकार्यमा नागरिकमैत्री सेवा प्रवाह र पारदर्शिताको पक्षमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको सामाजिक परीक्षणको प्रतिवेदनले बोलेको छ ।

सामाजिक परीक्षक बोगटीका अनुसार अब बास नेपालको रणनीतिक प्राथमिकता सञ्जालको विस्तार मात्र नभई आन्तरिक प्रणालीको सुदृढीकरण हुनुपर्ने देखिएको छ । संस्थाको कार्यक्षेत्र र साझेदारी बढ्दै जाँदा त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न तथ्यांक व्यवस्थापन, प्रतिवेदन प्रणाली र जनशक्तिको क्षमता विकासमा थप ध्यान दिनुपर्ने उनको सुझाव थियो ।
त्यस्तै, विभिन्न दातृ निकाय तथा साझेदार संस्थाका लागि तयार गरिने प्रतिवेदनको व्यवस्थापनलाई पनि थप प्रभावकारी बनाउनुपर्ने सामाजिक परीक्षणले देखाएको छ । बोगटीले विभिन्न दातृ निकायका प्रतिवेदनलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न एकीकृत प्रविधिको प्रयोग तथा जनशक्तिको क्षमता विकास गर्नुपर्ने सुझाव दिएका छन् ।

सामाजिक परीक्षणका क्रममा बास नेपालका कार्यक्रमले लक्षित समुदायमा पारेको प्रभाव, सरोकारवालाको सहभागिता, संस्थाको पारदर्शिता तथा जवाफदेहिताका पक्षसमेत समीक्षा गरिएको थियो । कार्यक्रममा प्राप्त उपलब्धिसँगै आगामी दिनमा सुधार गर्नुपर्ने पक्षबारे सहभागीबाट सुझाव तथा प्रतिक्रिया संकलन गरिएको थियो ।

बास नेपालले सामाजिक परीक्षणबाट प्राप्त सुझावलाई आगामी योजना तथा कार्यक्रममा समेट्दै संस्थागत प्रणालीलाई थप प्रभावकारी बनाउने जनाएको छ । विशेषगरी तथ्यांक तथा सूचना व्यवस्थापन, प्रतिवेदन प्रणाली, जनशक्तिको क्षमता विकास र आन्तरिक समन्वयलाई सुदृढ गर्दै संस्थाको बढ्दो कार्यक्षेत्रलाई व्यवस्थित रूपमा अघि बढाउने प्रतिबद्धता जनाइएको छ ।

 

  • २१ भाद्र २०८३, आईतवार प्रकाशित

  • Nabintech