नेपालको एउटै धड्कन
मेचीदेखि महाकालीसम्म एउटै स्वर गुञ्जियोस्,
मुटुभित्र मातृभूमिको प्रेमदीप नै बलियोस्।
हिमशिखरको शिर उचाली गौरवगाथा गाऊँ,
पहाडका ती पाखासँगै नयाँ सपना सजाऊँ।
तराईका ती फाँटहरूमा सुन फलोस् अनन्त,
किसानका पसिनाभित्र देखियोस् सुख–शान्त।
माटोको सुगन्ध बोकी अघि बढोस् देश,
परिश्रमले निर्माण होस् समृद्ध नेपालको भेष।
भाषा फरक भए पनि भावना एउटै होस्,
जाति फरक भए पनि राष्ट्रिय चेतना होस्।
धर्म, संस्कृति, परम्परा सबैको सम्मान,
एकतामै सुरक्षित हुन्छ देशको स्वाभिमान।
बुद्धभूमिको शान्ति बोकी संसारलाई भनौँ,
हिमालझैँ अटल बनी सत्यको बाटो चुनौँ।
वीर पुर्खाको बलिदान कहिल्यै नबिर्सौँ,
नेपालको गौरवगाथा पुस्तौँपुस्ता भन्काऔँ।
समय बदलिँदै जाओस्, आदर्श नबदलियोस्,
सत्ताका रंग फेरिए पनि राष्ट्र नढलियोस्।
जनताको मुहारमा हाँसो फुल्ने दिन आओस्,
न्याय, नीति र सुशासनको दीप सधैँ बलोस्।
मनका सबै आगाहरू राष्ट्रप्रेममा ढलून्,
अज्ञानताका बादलहरू चेतनाले नै गलून्।
हातेमालो गर्दै हामी भविष्यतिर बढौँ,
नेपाल आमाको समृद्धिका लागि एक भई लडौँ।
हिमाल हाम्रो गौरव हो, पहाड हाम्रो शान,
तराई हाम्रो जीवन हो, नेपाल हाम्रो प्राण।
तीन भूगोल एउटै मुटु, एउटै हाम्रो देश,
नेपाल सधैँ स्वर्ग बनोस्—यही हो अन्तिम सन्देश।
लेखक ःगोबिन्द राज ओझा (राजन)









