नेपालगञ्ज / रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि नेपालगञ्ज उपमहानगरपालिका–२०, थपुवाका आराम दमाई र उनकी श्रीमती उजना दमाई सम्पर्कविहीन भएका छन्। आमाबुवा बेपत्ता भएपछि उनीहरूका तीन छोराछोरीको भविष्य अन्योलमा परेको छ।
आराम र उजनाका १६ वर्षीय छोरा सुभाष नेपाली, ११ वर्षीय अश्विन र ९ वर्षीया स्मारिका विगत १४ दिनदेखि आमाबुवाको पर्खाइमा छन्। आमाबुवा बाढीमा परेपछि बालबालिकाको पढाइ, बसाइ र दैनिक जीवनसमेत संकटमा परेको परिवारले जनाएको छ।
रोजगारीका लागि रसुवा पुगेका आराम र उजनाले त्यहाँबाट कमाएको रकम छोराछोरीको पढाइ तथा घरखर्चका लागि पठाउँदै आएका थिए। तर दुवैजना सम्पर्कविहीन भएपछि बालबालिकालाई खान, बस्न र पढ्नसमेत समस्या हुन थालेको छ।
सुभाषले आमाबुवाको अवस्थाबारे कुनै खबर नआउँदा आफूहरू निकै पीडामा रहेको बताएका छन्। “हाम्रो टाउकोमा हात राख्ने कोही छैनजस्तो भएको छ,” उनले भनेका छन्।
आमाबुवाको खोजीमा रहेका बालबालिका अहिले काठमाडौंमा अध्ययनरत छन्। सुभाष कक्षा ९, अश्विन कक्षा ६ र स्मारिका कक्षा ४ मा अध्ययन गर्दै आएका छन्। आर्थिक अवस्था कमजोर भएका कारण उनीहरू नेपालगञ्ज फर्किने अवस्थासमेत बनेको छ।
नेपालगञ्ज–२० का कार्यवाहक वडा अध्यक्ष चक्रबहादुर बुढाका अनुसार आराम–उजना दमाईसँगै सोही वडाका शेरसिंह रोकाय, विष्णुमति रोकाय र दीपक रोकाय पनि भोटेकोशी बाढीपछि बेपत्ता छन्। वडा कार्यालयले बेपत्ताको खोजी तथा पीडित परिवारलाई आवश्यक सहयोगका लागि समन्वय गरिरहेको जनाएको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङका अनुसार रसुवा बाढीमा बाँके जिल्लाका २३ जना अझै बेपत्ता छन् भने ३ जनाको मृत्यु पुष्टि भएको छ। यस्तै, ३२ जनाको सकुशल उद्धार गरिएको छ।
भोटेकोशीको बाढीले नेपालगञ्ज–२० का परिवारमा छोडेको पीडा अझै गहिरिँदै गएको छ। आमाबुवाको अवस्थाबारे कुनै आधिकारिक खबर नआउँदा तीन बालबालिका भने ‘आमा–बुवा फर्किएर आउनुहुन्छ’ भन्ने आशामा दिन गन्दै बसिरहेका छन्।









