एन्जल्स स्कुल द्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नौ लाख सहयोग

विपद्का बेला सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको विद्यालयको भनाइ

असल शासन प्रतिनिधि

नेपालगन्ज /एन्जल्स स्कुल नेपालगन्जले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख रुपैयाँ सहयोग गरेको छ ।

विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ । विद्यालयका अनुसार सहयोगले विपद्बाट प्रभावित नागरिकप्रति मानवीय सहानुभूति, करुणा र सामाजिक उत्तरदायित्वको भावना थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

विद्यालयले स्वामी विवेकानन्दको प्रेरणादायी विचारलाई आत्मसात् गर्दै शिक्षा, सेवा र मानवीयताको क्षेत्रमा आफ्नो गतिविधि अघि बढाउँदै आएको जनाएको छ । “गरिब, अज्ञानी तथा उत्पीडितहरूका लागि सहानुभूतिको अनुभव गर, हृदयदेखि नै महसुस गर । तब तिमीमा अद्भुत शक्ति, महत्ता र अपार ऊर्जा आउनेछ” भन्ने विवेकानन्दको विचारलाई विद्यालयले आफ्नो सामाजिक सेवाको आधारका रूपमा लिएको उल्लेख गरेको छ ।

एन्जल्स स्कुलका संस्थापक श्रीमती बिना मल्लले विद्यालय स्थापनाकालदेखि नै शिक्षालाई केवल ज्ञान आर्जनको माध्यमका रूपमा नभई सामाजिक उत्तरदायित्व र सेवाको आधारका रूपमा विकास गर्ने सोच अघि बढाउँदै आएको बताउनु भयो । मल्लका अनुसार वि.सं. २०५० सालमा सर्लाही जिल्लामा आएको भीषण बाढीका क्रममा जिल्ला प्रशासनसँग समन्वय गरी संस्थापक मल्ल स्वयं प्रभावित क्षेत्रमा पुगेर असहाय तथा अनाथ बालबालिकालाई नेपालगन्ज ल्याई उनीहरूको शिक्षा तथा जीवननिर्वाहको व्यवस्था मिलाउने कार्यसमेत गर्नुभएको थियो ।

त्यसैगरी केही वर्षअघि राप्ती नदीमा आएको बाढीका कारण समस्यामा परेका ब्यक्तिहरुलाई समेत विद्यालयले आफ्नै स्रोतबाट खाद्य तथा राहत सामग्री वितरण गरेको जनाइएको छ । विपद्का समयमा पीडित तथा असहाय नागरिकको दुःखमा साथ दिने कार्यलाई विद्यालयले निरन्तरता दिँदै आएको उल्लेख गरेको छ । एन्जल्स स्कुलले शिक्षा क्षेत्रमा मात्र नभई सामाजिक सेवाका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्दै आएको जनाएको छ । प्राकृतिक विपत्ति तथा सामाजिक कठिनाइका समयमा सहयोग र योगदान गर्दै आएको विद्यालयले पछिल्लो सहयोग पनि यही सामाजिक उत्तरदायित्वको निरन्तरता भएको बताएको छ ।

विद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरेको नौ लाख रुपैयाँको सहयोगले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

  • २५ भाद्र २०८३, बिहीबार प्रकाशित

  • Nabintech