राप्रपा बाँकेमा दुई अध्यक्ष !

असल शासन प्रतिनिधि

नेपालगन्ज / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाँकेको हालै सम्पन्न जिल्ला अधिवेशनमा अध्यक्ष पदमा सहमति जुट्न नसकेपछि पार्टीभित्र विवाद चुलिएको छ। अधिवेशनमा जिल्ला कार्यसमितिका अधिकांश सदस्य तथा पदाधिकारीमा सहमति जुटे पनि अध्यक्ष पदमा भने सहमति हुन नसक्दा विवाद बढेको बताइएको छ।

अधिवेशनको बन्द सत्रमा अन्य पद तथा सदस्यहरूमा सहमति जुटेपछि नेतृत्व चयनको विषय अध्यक्ष पदमा आएर रोकिएको थियो। अध्यक्षका आकांक्षीबीच सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन नगरी एकलौटी नेतृत्व घोषणा गरिएपछि विवाद थप बढेको सुस्ट पक्षका नेताहरुले बताएका छन्।

अधिवेशनबाट अरुण प्रताप सिंहको नेतृत्वमा जिल्ला कार्यसमिति घोषणा भएपछि अध्यक्ष पदमा असन्तुष्ट अर्को पक्ष अधिवेशनस्थलबाट बाहिरिएको थियो। त्यसपछि बाहिरिएको पक्षले छुट्टै निर्वाचन समिति गठन गरी दिपेन्द्रबहादुर सिंह ठाकुरलाई जिल्ला अध्यक्ष घोषणा गरेको दाबी गरेको छ। यससँगै एउटै जिल्ला अधिवेशनबाट दुई फरक व्यक्तिलाई अध्यक्ष घोषणा गरिएको भन्दै राप्रपा बाँकेमा आधिकारिक नेतृत्वको विवाद देखिएको हो।

अरुण प्रताप सिंह पक्षले अधिवेशनको निर्धारित प्रक्रियाअनुसार नेतृत्व चयन भएको दाबी गरेको छ। उक्त पक्षका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत अरुण प्रताप सिंह जिल्ला अध्यक्षमा निर्विरोध निर्वाचित भएको भन्दै बधाई तथा शुभकामना दिएका छन्। राप्रपाकी केन्द्रीय सदस्य मीना श्रेष्ठले पनि निर्वाचन प्रक्रियाबाट अरुण प्रताप सिंह निर्विरोध निर्वाचित भएकाले उहाँ नै आधिकारिक अध्यक्ष भएको बताएकी छन्। उनका अनुसार अधिवेशनको निर्धारित प्रक्रियामा सहभागी भएर निर्वाचनबाट नेतृत्व चयन गरिएको अवस्थामा बाहिरबाट गरिएको अर्को अध्यक्षको घोषणा आधिकारिक मान्न नसकिने दाबी छ।

यता, अधिवेशनस्थलबाट बाहिरिएको अर्को पक्षले भने छुट्टै निर्वाचन समिति बनाएर दिपेन्द्रबहादुर सिंह ठाकुरलाई अध्यक्षमा चयन गरिएको जनाएको छ।

रुद्र न्यौपानेलगायतका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमार्फत ठाकुर जिल्ला अध्यक्षमा सर्वसम्मत चयन भएको दाबी गर्दै उनलाई तथा नवनिर्वाचित जिल्ला कार्यसमितिलाई बधाई दिएका छन्। उनीहरूले सहमतिका आधारमा कार्यसमिति चयन गर्न सहयोग गर्ने जिल्ला पार्षद सदस्यहरूलाई धन्यवादसमेत दिएका छन्।

‘
राप्रपाका केन्द्रीय सदस्य तेजविक्रम शाहले अधिवेशनको उद्घाटन सत्र सकिएपछि बन्द सत्रमा मतदाता नामावली घोषणा गर्ने, त्यसपछि अध्यक्षमा सहमतिको प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जानुपर्नेमा त्यसो नभएको बताएका छन्। उक्त प्रक्रिया पूर्णरूपमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ। मतदाता नामावली कार्यक्रमस्थलमा सार्वजनिक गर्नुपर्नेमा पार्टी कार्यालयमा टाँस गरिएको शाहको आरोप छ। अध्यक्ष पदमा सहमति हुन नसकेपछि निर्वाचन प्रक्रियामा जानुपर्ने अवस्थामा अर्को पक्षले बाहिरिएर छुट्टै निर्वाचन समिति गठन गरी अध्यक्ष घोषणा गरेको उनको दाबी छ।

अधिवेशनमा अधिकांश सदस्य तथा पदमा सहमति जुटे पनि अध्यक्ष पदमा मात्रै देखिएको विवादले बाँके राप्रपाको संगठनभित्र अन्योल बढाएको छ। एक पक्षले अधिवेशनबाट अरुण प्रताप सिंहको नेतृत्वमा समिति घोषणा भएको दाबी गरिरहेको छ भने अर्को पक्षले अधिवेशनस्थलबाट बाहिरिएर छुट्टै निर्वाचन समिति गठन गरी दिपेन्द्रबहादुर सिंह ठाकुरलाई अध्यक्ष घोषणा गरेको छ।

दुवै पक्षले सामाजिक सञ्जालमार्फत आ–आफ्नो नेतृत्वलाई बधाई तथा शुभकामना दिइरहेका छन्। यसले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकबीच समेत आधिकारिक नेतृत्वबारे अन्योल सिर्जना गरेको छ।

  • ३१ भाद्र २०८३, बुधबार प्रकाशित

  • Nabintech