तनहुँबाट मुग्लिङ हुँदै काठमाडौं तथा भरतपुरतर्फ जाने सडकखण्डमा पहिरोका कारण यातायात प्रभावित भएको छ। मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सवारीसाधन सञ्चालनमा समस्या आएको हो।
पहिरोका कारण सडकका कतिपय स्थानमा यातायात एकतर्फी सञ्चालन भइरहेको र आवश्यकताअनुसार एकतर्फी मार्गलाई दुईतर्फी बनाएर सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
सडकमा पहिरो खस्ने क्रम जारी रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले हालको अवस्थालाई मध्यनजर गर्दै सम्भव भएसम्म यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको पछिल्लो अवस्था बुझेर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न अनुरोध गरेको छ।
पहिरोका कारण सडक अवरुद्ध हुने तथा पुनः सञ्चालनमा ल्याउने क्रम चलिरहेकाले यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले आग्रह गरेको हो।
प्रहरीले जोखिमयुक्त सडकखण्डमा सवारीसाधन नरोकी सुरक्षित स्थानबाट मात्र आवतजावत गर्न तथा सम्भावित दुर्घटनाबाट जोगिन आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरेको छ।









