अविरल वर्षाले देशभरकाे जनजीवन प्रभावित

कहाँ केछ अवस्था ?

असल शासन प्रतिनिधि

नेपालगन्ज /देशका विभिन्न क्षेत्रमा लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो र सडक अवरोधका घटना बढेका छन्। गण्डकी, लुम्बिनी, बागमती, कर्णालीलगायतका प्रदेशका विभिन्न जिल्लामा बाढी तथा पहिरोले घर, सडक, पुल, विद्यालय र अन्य भौतिक संरचनामा क्षति पुर्‍याएको छ।

पर्वतको जलजला गाउँपालिका–८ फर्से क्षेत्रमा कालीगण्डकी नदीमा आएको बाढीले २० भन्दा बढी घर बगाएको छ। निरन्तर बढिरहेको नदीको बहावका कारण थप घर तथा संरचना जोखिममा परेका छन्। स्थानीय वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले २० देखि २५ घर बगाइसकेको छ भने सयभन्दा बढी घर जोखिममा छन्। बाढीका कारण स्थानीय विद्यालय, कृषि फर्म तथा गोठसमेत बगाएको बताइएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ।

कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जा र गुल्मी जोड्ने पक्की बेलिब्रिज पुलसमेत बगाएको छ। नदीको बहाव अत्यधिक बढेपछि पुलमा क्षति पुगेको हो।

यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पाउदार गिवाङमा पहिरोले एउटा घर पुरेको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार पहिरोले घर पुरिँदा घरभित्र रहेका दुई जना सम्पर्कविहीन भएका छन्। उनीहरूको अवस्था र मानवीय क्षतिको यकिन हुन सकेको छैन। म्याग्दीमा अझै निरन्तर वर्षा भइरहेकाले खोज तथा उद्धार र क्षतिको विवरण संकलनमा समेत कठिनाइ भइरहेको छ।

लमजुङमा पहिरोका कारण बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बेँसीसहर नगरपालिका–६ स्थित खरखरे भिरमा बिहान पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पहिरो खसेको स्थानभन्दा करिब २०० मिटर उत्तरतर्फ सडकसमेत भासिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। वर्षा भइरहेकाले पहिरो पन्छाउने तथा सडक मर्मत गर्ने काममा कठिनाइ भएको छ।

यता, मकवानपुरमा पनि हेटौँडालाई काठमाडौं जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। विभिन्न स्थानमा पहिरो खस्नु, सडक भासिनु तथा विद्युतका पोल ढल्नेजस्ता कारणले यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। हाल काठमाडौं आवतजावतका लागि त्रिभुवन राजपथ सञ्चालनमा रहेको बताइएको छ।

कान्ति लोकपथको मकवानपुरतर्फको सडकखण्ड सञ्चालनयोग्य भए पनि ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुर्चे क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिणमा रहेको छ। देशभर मनसुनी वायु र पश्चिमी वायुको प्रभावसँगै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

यसको प्रभावले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानमा समेत हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढ्नुका साथै पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढेको छ। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले खोज, उद्धार र क्षतिको विवरण संकलनको काम अघि बढाइरहेका छन्। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन र आवश्यक अवस्थामा सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ।

  • ११ आश्विन २०८३, आईतवार प्रकाशित

  • Nabintech