मेरो एकजना साथी कलेजबाट फर्किदै गर्दा पेट दुखेर, बोमिट भएर बाटोमै पल्टिनुभयो । महिनावारी भएपछि उहाँलाई सधैँ यस्तै गाह्रो हुने रहेछ। लगातार धेरैपटक बोमिट भएपछि उहाँले औषधि नखाएसम्म यस्तै गाह्रो हुन्छ भनेर सुनाउनुभयो । यस्तो अवस्था मैले कहिले अनुभव गरेको थिएन । तर अवस्था जटिल देखेपछि मेडिकल खोज्दै आएको बाटोतिरै फर्के । अलि टाढाको मेडिकलबाट औषधि किनेर ल्याए । औषधि खाएको केहीबेरपछि मात्र उहाँलाई हल्का महसुस भयो र हिड्न सक्ने हुनुभयो।
त्यसपछि महिनावारीको समयमा केही महिलाहरूलाई यती नराम्ररी गाह्रो हुने रहेछ भन्ने थाहा पाए । उहाँ मात्र होइन, मैले यस्ता केही दिदीहरू देखेँ, उहाँहरूलाई लाग्छ – महिनावारीको २/३ दिन घरबाट बाहिर जान नपरे हुन्थ्यो। किनकि यो बेला हुने अत्याधिक रक्तश्राव, पेट दुखाई र बोमिटिङले काममा फोकस गर्न गाह्रो हुन्छ।
यो समय यातना पुर्ण हुन्छ। यो अत्याधिक पीडा सबै महिलाले नभोग्न सक्छन् । तर सबैले यो पिडा भोग्दैनन् भनेर कम आँक्न मिल्दैन।
यतिबेला सामाजिक सञ्जालमा ‘महिनावारी बिदा’को प्रस्ताव बारे चर्चा भइरहेको छ। महिनावारी बिदाकै कारण महिलाले थप विभेद र पिडाको महसुस नगरुन् भन्ने आशयले सामाजिक सञ्जालमा विभिन्न आवाजहरु आएका छन्।
‘महिनावारी बिदा’ कार्यान्वयनमा आए अनिवार्य लिनैपर्छ भन्ने होइन होला। तर आवश्यक पर्दा लिन सकियोस् भन्ने हो भने यो जरुरी छ। कानुनी मान्यताले अधिकारका रूपमा प्रयोग गर्न सकिन्छ।
तर यो विदा सरकारी, गैरसरकारी निकायमा काम गर्ने महिलाहरुका लागि मात्र कि सबैका लागि? भन्ने अर्को ठूलो प्रश्न छ। सबैका लागि हो भने यो विदाको समयमा महिलाहरूको कामको जिम्मेवारी कस्ले लिने? कसरी व्यवस्थापन गर्ने भन्नेमा पनि सरकारले विकल्प दिन सक्नुपर्छ। त्यसका लागि सिस्टमको विकास गर्नुपर्छ।
अर्को कुरा, सबैभन्दा पहिले सरकारी, गैरसरकारी निकाय वा निजी संस्थाहरुले यो बुझ्न जरुरी छ कि महिलालाई काम गर्न / गराउन सोचेजस्तो सहज छैन। प्राकृतिक रूपमा र सामाजिक रुपमा महिलाहरूले पुरुषको तुलनामा बढी संघर्ष गरिरहेका छन्। महिलालाई काममा राख्नु पुरुष भन्दा बढी चुनौतिपूर्ण हुन सक्छ कहिलेकाँहि। महिनावारी, सुत्केरी लगायतका केही विशेष परिस्थितिमा काम गराउने निकायले केही चुनौती झेल्नैपर्छ । त्यसैले त समतामूलक समाज आवश्यक परेको हो । यसको अर्थ महिलाहरुले काम गर्न सक्दैनन् भन्ने हुँदै होइन। तर बिशेष परिस्थितीमा बाहेक महिलाहरुले हरेक क्षेत्रमा अब्बल र उदाहरणीय काम गरेका छन्।
कामदारले कति समय काम गर्यो भन्ने भन्दा कस्तो परिणाम दिनेगरी काम गर्यो भन्ने महत्वपूर्ण हुन्छ ।
‘महिनावारी विदा’, ‘६ महिना प्रसुती बिदा’ को प्रस्ताव सरकारले अघि बढाइरहदा सरकारी, गैरसरकारी निकायमा मात्र काम गर्ने महिलाहरुका लागि मात्र नभई सबै महिलाहरुले उपयोग गर्न पाउने गरी व्यवस्था गर्नुपर्छ। उनिहरु विदामा बस्दा उनीहरुको जिम्मेवारी कसरी व्यवस्थापन गर्ने भन्ने विकल्प पनि दिनुपर्छ। ताकि उनिहरुको विदाले काम प्रभावित नहोस्। सुविधाले झन् पीडित नबनाओस्।









