नेपालगञ्ज /सुसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बाँकेका बिभिन्न संस्थाहरुले आर्थिक सहयोग गरेका छन्। गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको समन्वयमा विभिन्न संस्थाबाट संकलित ५४ हजार ७ सय रुपैयाँ महासंघको केन्द्रीय खातामा जम्मा गरिएको छ।
बाढीबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले महासंघको केन्द्रीय समितिले गरेको आह्वानअनुसार बाँके शाखाले जिल्लास्थित सदस्य संस्थाहरूसँग समन्वय गरी सहयोग रकम संकलन गरिएको शाखा अध्यक्ष मन भण्डारीले बताए ।
सहयोग गर्ने संस्थाहरूमध्ये समाज विकास तथा प्रवर्द्धन केन्द्रले १५ हजार रुपैयाँ, नेपाल परिवार नियोजन संघ बाँके शाखाका पदाधिकारी तथा कर्मचारीबाट ११ हजार ५ सय रुपैयाँ, बाँके नेत्रहीन संघ र इन्रुडेक बाँकेले ५–५ हजार रुपैयाँ सहयोग गरेका छन्।
त्यसैगरी बिग्रुपले ५ हजार ५ सय रुपैयाँ, दलित महिला संघ (फेडो) बाँकेले ३ हजार रुपैयाँ, बास नेपालले २ हजार ५ सय रुपैयाँ तथा कमिट नेपाल र नाइस नेपालगञ्जले २–२ हजार रुपैयाँ सहयोग गरेका छन्। राष्ट्रिय अपाङ्ग अल्बिनो नेपाल बाँकेले १ हजार १ सय रुपैयाँ, स्याक नेपालले १ हजार रुपैया र युवा घरले १ हजार १ सय रुपैयाँ सहयोग गरेका छन्।
संकलित रकम बाढी प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि उपयोग गर्ने उद्देश्यले महासंघको केन्द्रीय खातामा जम्मा गरिएको बाँके शाखाले जनाएको छ। विपद्का समयमा नागरिकको जीवनरक्षा, राहत व्यवस्थापन र पुनःस्थापनाका लागि नागरिक समाज तथा गैरसरकारी संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले यस अभियानमा विभिन्न संस्थाले सहयोग गरेका हुन्।
गैरसरकारी संस्था महासंघ नेपालले बिभिन्न जिल्लाबाट संकलित रकम एकमुष्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने छ ।
महासंघ बाँके शाखाले सहयोग गर्ने सम्पूर्ण संस्था, पदाधिकारी तथा कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै संकलित रकम बाढीपीडितको राहत तथा पुनःस्थापनामा सदुपयोग हुने विश्वास व्यक्त गरेको छ। विपद् प्रभावित समुदायलाई सहयोग गर्न संस्थाहरूबीचको सहकार्य, एकता र मानवीय भावना आवश्यक रहेको सन्देशसमेत यस अभियानले दिएको छ।
बाँके जिल्ला स्थित बिभिन्न संस्थाहरुले यस अघि नै राहत सामाग्री तथा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेका छन् ।









