नेपालगन्ज / बाजुराको हिमाली गाउँपालिका–६, बोल्ढिक माइतीघर भएकी २२ वर्षीया निशा पाण्डे शर्मा हुम्लाको ताँजाकोट गाउँपालिका–२, मैलास्थित आफ्नै घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी प्राप्त भएको छ।
प्राप्त जानकारीअनुसार, दसैँको टीकाका दिन निशाले आफ्नी आमासँग फोनमा कुरा गर्दै आफू माइती आउन लागेको बताएकी थिइन्। तर, त्यसको एक घण्टा नबित्दै उनको मृत्युको खबर आएको बताइएको छ। यस घटनाले परिवार तथा आफन्तजनलाई गहिरो शोकमा पारेको छ। कलकलाउँदो २२ वर्षको उमेरमा भएको उनको असामयिक निधनले घटनाको वास्तविकताबारे प्रश्नहरू उब्जाएको छ। घटनाको प्रकृति र परिस्थितिबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने भन्दै निष्पक्ष अनुसन्धानको आवश्यकता देखिएको छ।
निशाको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणले भएको हो भन्ने विषयमा आधिकारिक पुष्टि भइसकेको छैन। त्यसैले सम्बन्धित प्रहरी प्रशासनले घटनाको सूक्ष्म अनुसन्धान गरी आवश्यक प्रमाण सङ्कलन, पोस्टमार्टम प्रतिवेदन तथा अन्य तथ्यका आधारमा वास्तविकता सार्वजनिक गर्नुपर्ने देखिन्छ। यदि घटनामा कसैको संलग्नता पुष्टि भएमा दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।









