‘फर्किने बाटो’ लिएर मण्डला थिएटरको लुम्बिनी र सुदूरपश्चिम यात्रा सुरु

असल शासन प्रतिनिधि

थिएटर नेपालको प्रस्तुति नाटक ‘फर्किने बाटो’ लिएर लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा नाट्य यात्रा सुरु भएको छ। जर्मन विकास सहयोग (GIZ) को सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रमले नाटक र अन्तरक्रियात्मक खेलमार्फत स्वास्थ्य तथा सामाजिक समावेशीकरणका सवालमा समुदायसँग संवाद गर्ने लक्ष्य राखेको छ।

यात्राको पहिलो प्रदर्शन आज कात्तिक ९ गते साँझ ४ बजे कपिलवस्तुको बिजयनगर गाउँपालिकास्थित गाउँपालिका सभा हलमा हुँदैछ। यस यात्राका लागि काठमाडौँ र सुदूरपश्चिमबाट आएका कलाकारहरू कपिलवस्तुमा भेला भई नाटकको तयारी पूरा गरेका छन्।

यसै क्रममा आज स्वास्थ्य निर्देशनालय, दाङमा अन्तरक्रियात्मक खेलसम्बन्धी सहजीकरण कार्यक्रम पनि सञ्चालन हुँदैछ। खेलमार्फत सहभागीहरूलाई स्वास्थ्य तथा सामाजिक सवालमा छलफल, अनुभव आदानप्रदान र सामूहिक सहभागिताका लागि प्रोत्साहित गरिनेछ।

बिजयनगरमा पहिलो प्रदर्शनपछि नाट्य टोलीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा यात्रा गर्नेछ। निर्धारित कार्यक्रमअनुसार कात्तिक ११ गते झिमरुक गाउँपालिका, १३ गते नेपालगञ्ज, १५ गते पञ्चदेवल विनायक नगरपालिका, १७ गते त्रिवेणी नगरपालिका र १९ गते आलिताल गाउँपालिकामा नाटक प्रदर्शन गरिनेछ।

नाटक ‘फर्किने बाटो’ मञ्चीय प्रस्तुतिमार्फत समुदायका सवाललाई उजागर गर्दै दर्शकलाई ती विषयमा सोच्न, छलफल गर्न र आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको हो। स्थानीय समुदायसँगको अन्तरक्रिया र सहभागितालाई महत्त्व दिँदै अघि बढाइएको यस यात्राले स्वास्थ्य र सामाजिक समावेशीकरणका विषयमा समुदायस्तरमा संवादको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

मण्डला थिएटर नेपालले स्थानीय तह, समुदाय, सरोकारवाला निकाय तथा दर्शकलाई नाटक प्रदर्शन र अन्तरक्रियात्मक कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।

  • १० कार्तिक २०८३, सोमबार प्रकाशित

  • Nabintech