बाँकेको नरैनापुरमा प्यान प्रमाणपत्र वितरण

असल शासन प्रतिनिधि

नेपालगन्ज । बाँकेको नरैनापुर गाउँपालिकामा करदातालाई स्थानीय स्तरमै सहज रूपमा कर सेवा उपलब्ध गराउने उद्देश्यले सेवाको शुरुवात गरेको छ ।
करदाता सेवा केन्द्रमार्फत औपचारिक रूपमा सेवा शुभारम्भ भएसँगै गाउँपालिकाले आज पहिलो आन्तरिक राजस्व कार्यालय नेपालगंज अन्तर्गतको व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र जारी गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वली र करदाता सेवा केन्द्रका शाखा प्रमुख मुकद्दर अली मुकेरीले संयुक्त रूपमा पहिलो करदाताको रूपमा नरैनापुर गाउँपालिका वडा नं. २, बैउहवा निवासी जन्नतुल पठानिनलाई प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।
पठानिनले आफ्नो व्यवसाय मदिना परफ्युम एण्ड जनरल स्टोरका लागि स्थायी लेखा नम्बर ६२५२६८८४३ प्राप्त गरेको नरैनापुर गाउँपालिका रोजगार शाखा प्रमुख मकबुल अहमद मुकेरीले असल शासनलाई जानकारी दिए ।


गाउँपालिकाभित्रै करदाता सेवा केन्द्र स्थापना भई सेवा सुचारु भएपछि स्थानीय उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई प्यान नम्बर लिन, कर बुझाउन तथा कर सम्बन्धी अन्य प्रशासनिक कामका लागि सदरमुकाम नेपालगन्ज धाइरहनुपर्ने झन्झटिलो बाध्यताको अन्त्य भएको स्थानीयहरुले बताएका छन् ।
प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गाउँपालिकाले आफ्नै क्षेत्रभित्र कर सेवा विस्तार गरेपछि स्थानीय स्तरमै सहज, छिटो र छरितो ढंगले आर्थिक प्रशासनिक कामहरू अगाडि बढ्ने र यसले व्यवसायीहरूलाई कानुनी दायरामा आउन थप प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी शाखा प्रमुख मुकद्दर अली मुकेरीले अब नरैनापुरका करदाताहरूले आफ्नै घरपायक स्थानबाट कर सम्बन्धी सम्पूर्ण सेवाहरू सुरक्षित र व्यवस्थित रूपमा पाउने प्रतिबद्धता जनाए । करदाता सेवा केन्द्रको सुरुवातसँगै गाउँपालिकाको राजस्व संकलन थप प्रभावकारी हुने गाउपालिकाले जनाएको छ ।

  • १२ कार्तिक २०८३, बुधबार प्रकाशित

  • Nabintech