नेपालगन्जमा नाटक ‘फर्किने बाटो’ प्रस्तुत

स्वास्थ्य र सामाजिक समावेशीकरणका सवालमा समुदायसँग संवाद

असल शासन प्रतिनिधि

नेपालगन्ज/ स्वास्थ्य तथा सामाजिक समावेशीकरणका सवालमा समुदायस्तरमा सचेतना अभिवृद्धि तथा संवाद प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको नाटक ‘फर्किने बाटो’ आज नेपालगन्जमा प्रस्तुत गरिएको छ।

थिएटर नेपालको प्रस्तुति तथा जर्मन विकास सहयोग (GIZ)  को सहकार्यमा सञ्चालन भइरहेको नाट्य यात्राअन्तर्गत नेपालगन्ज उपमहानगरपालिका र बास नेपालको समन्वयमा नाटक प्रदर्शन गरिएको हो।

नाटकमार्फत स्वास्थ्य, सामाजिक समावेशीकरण तथा समुदायमा विद्यमान विभिन्न सामाजिक सवाललाई कलात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई सोच्न, छलफल गर्न र आफ्ना धारणा व्यक्त गर्न प्रेरित गरिएको थियो।

नाटक प्रदर्शनसँगै अन्तरक्रियात्मक गतिविधि तथा खेलका माध्यमबाट सहभागीहरूलाई स्वास्थ्य र सामाजिक सवालमा छलफल, अनुभव आदानप्रदान तथा सामूहिक सहभागिताका लागि प्रोत्साहित गरिएको थियो। यसले समुदायका विभिन्न सवाललाई सहज र सिर्जनात्मक माध्यमबाट उठान गर्दै आपसी संवादको अवसर सिर्जना गरेको छ।

‘फर्किने बाटो’ नाटक लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहमा प्रदर्शन गर्ने गरी नाट्य यात्रा सञ्चालन भइरहेको छ। यसअघि कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट सुरु भएको यात्राअन्तर्गत झिमरुक गाउँपालिका हुँदै नेपालगन्जमा प्रस्तुति गरिएको हो। यात्राका क्रममा पञ्चदेवल विनायक नगरपालिका, त्रिवेणी नगरपालिका र आलिताल गाउँपालिकालगायतका स्थानीय तहमा समेत नाटक प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।

मञ्चीय नाटक र अन्तरक्रियात्मक खेललाई सामाजिक रूपान्तरणको माध्यमका रूपमा प्रयोग गर्दै समुदायका वास्तविक सवालमा खुला संवाद र सहभागिता अभिवृद्धि गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ।

स्थानीय तह, सामाजिक संस्था, सरोकारवाला निकाय र समुदायको समन्वयमा सञ्चालन भइरहेको यस प्रकारको नाट्य प्रस्तुतिले स्वास्थ्य तथा सामाजिक समावेशीकरणका विषयलाई समुदायको तहसम्म पुर्‍याउन र सकारात्मक सामाजिक व्यवहार प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • १४ कार्तिक २०८३, शुक्रबार प्रकाशित

  • Nabintech