बर्दिया/ भेरी साहित्य समाजको आयोजनामा बर्दियाको बाँसगढीमा सांस्कृतिक तथा साहित्यिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। धरा भाषा साहित्य कला प्रतिष्ठान बाँसगढीको सहआयोजना तथा बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा आठ जातजातिका मौलिक कला, संस्कृति, लोकनृत्य तथा साहित्यिक रचनाहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रममा बाँके र बर्दियाका विभिन्न समुदायका कलाकारहरूले आ–आफ्नो जातीय पहिचान झल्किने भेषभूषामा सजिएर मौलिक लोकनृत्य प्रस्तुत गरेका थिए। विशेषगरी लोपोन्मुख अवस्थामा रहेका परम्परागत लोककला र सांस्कृतिक प्रस्तुतिले दर्शकहरूको ध्यान आकर्षित गरेको थियो।
कार्यक्रममा थारु समुदायका युवा तथा युवतीहरूले सखिया, पैया र हुडुङ्गवा नाच प्रस्तुत गरेका थिए। त्यस्तै, मधुवन नगरपालिकाका राजी समुदायले झुम्रा नाच, बैजनाथ गाउँपालिकाका कलाकारले सिंगारु नाच, माछागढका कलाकारले पैचोरी लहरे नाच तथा बाँसगढीका कलाकारले मारुनी नाच र लोकभजन प्रस्तुत गरेका थिए। मगर समुदायको कौडा नृत्य र झिझिया नाचले पनि कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
युवा पुस्ताको सक्रिय सहभागितामा प्रस्तुत गरिएका सांस्कृतिक कार्यक्रमले मौलिक कला र संस्कृतिको संरक्षण तथा पुस्तान्तरणको सन्देश दिएका थिए। यसैबीच, लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नाटकसमेत प्रस्तुत गरिएको थियो।

सांस्कृतिक प्रस्तुतिसँगै साहित्यिक रचनावाचन कार्यक्रम पनि आयोजना गरिएको थियो। साहित्यकार देवकी निरौलाले गजल वाचन गर्नुभएको थियो भने हिक्मत रावल, जीवराज पाण्डे, ज्ञानेन्द्र पौडेल, त्रिलोचन सुवेदी, नेरामाविका तिलक जैसी र अञ्जना बुढाले कविता प्रस्तुत गरेका थिए।
कार्यक्रममा साहित्यकार हरि सुवेदीले लोकसाहित्यको महत्त्वबारे प्रकाश पार्दै लोककला, साहित्य र संस्कृतिको संवर्द्धनले लोप हुन लागेका मौलिक परम्पराको संरक्षण गर्नुका साथै नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा बोल्दै मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाटले विभिन्न जातजातिका रैथाने कला, संस्कृति र परम्परा समाजका अमूल्य सम्पत्ति भएको उल्लेख गरेका थिए। उनले यस्ता सम्पदाको संरक्षणका लागि स्थानीय सरकार, साहित्यकार, कलाकार र समुदायबीच सहकार्य आवश्यक रहेको बताए।
त्यसैगरी, बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्काले साहित्यले समाज परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै मौलिक कला, संस्कृति र परम्पराको संरक्षण सबैको साझा दायित्व भएको बताए। बाँसगढी क्षेत्रमा पहिलोपटक आयोजना गरिएको यस्तो कार्यक्रमले स्थानीय कला, साहित्य र संस्कृतिको विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै उनले भेरी साहित्य समाजलाई योजनाबद्ध रूपमा अगाडि बढ्न शुभकामना दिएका थिए।
भेरी साहित्य समाज बर्दियाकी अध्यक्ष निरञ्जना चन्द ‘निरु’को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँसगढी नगरपालिकाका नगरप्रमुख खडकबहादुर खड्का, मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, साहित्यकार, कलाकार, रचनावाचक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी कलाकार तथा अन्य व्यक्तिहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको आयोजकले जनाएको छ। समाजका महासचिव सुन्दर गुरुङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सल्लाहकार खगेन्द्र नेपालले गरेका थिए।









