फोहोर व्यवस्थापनका श्रमिकलाई स्वास्थ्य तथा सुरक्षा तालिम

असल शासन प्रतिनिधि

नेपालगन्ज / फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको व्यावसायिक स्वास्थ्य तथा सुरक्षा र प्रजनन स्वास्थ्यसम्बन्धी दुईदिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ।

द कोकाकोला फाउण्डेशनको सहयोगमा बास नेपाल र स्वच्छ सफा (क्लिन अप) नेपाल द्वारा सञ्चालित ‘हरित नेपालगन्ज सामुदायिक फोहोर रूपान्तरण परियोजना’ अन्तर्गत २०८३ कात्तिक १५ र १६ गते तालिम आयोजना गरिएको हो। तालिममा फोहोर व्यवस्थापनको क्षेत्रमा कार्यरत १२ जना श्रमिकको सहभागिता रहेको थियो। तालिमको सहजीकरण प्रशिक्षक करुणा थापाले गर्नुभएको थियो।

तालिममा फोहोर व्यवस्थापनका क्रममा अपनाउनुपर्ने व्यक्तिगत सुरक्षा, कार्यस्थलमा हुन सक्ने जोखिम, स्वास्थ्यमा पर्न सक्ने असर, सरसफाइ तथा संक्रमणबाट बच्ने उपाय र प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा जानकारी प्रदान गरिएको थियो।

तालिमको समापन समारोहमा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूले समुदायलाई स्वच्छ र स्वस्थ राख्न महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए। श्रमिकहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकता दिँदै सुरक्षित कार्य वातावरण निर्माण गर्न यस्ता तालिम तथा सचेतनामूलक कार्यक्रम आवश्यक रहेको उन्को भनाइ थियो। प्रशिक्षक करुणा थापाले तालिममा सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्दै कार्यस्थलमा व्यक्तिगत सुरक्षाका उपाय अपनाउनुका साथै आफ्नो स्वास्थ्यप्रति सचेत रहनुपर्नेमा जोड दिइन्।

त्यसैगरी, परियोजना संयोजक मन भण्डारीले फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूलाई सुरक्षित कार्य वातावरण र आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउनु परियोजनाको महत्त्वपूर्ण प्राथमिकता रहेको बताए। उनेले श्रमिकहरूले आफ्नो कामलाई सुरक्षित, व्यवस्थित र स्वास्थ्यप्रति संवेदनशील बनाउँदै तालिमबाट प्राप्त ज्ञान तथा सीपलाई दैनिक कार्यसम्पादनमा प्रयोग गर्नुपर्ने उल्लेख गरे। साथै, व्यक्तिगत स्वास्थ्य र सुरक्षालाई बेवास्ता नगरी जोखिम न्यूनीकरणका उपाय अपनाउन उन्ले आग्रह गरेका थिए।

तालिममा सहभागीहरूले दुई दिनको प्रशिक्षणबाट फोहोर व्यवस्थापनका क्रममा हुन सक्ने स्वास्थ्य जोखिम, व्यक्तिगत सुरक्षा अपनाउने तरिका तथा प्रजनन स्वास्थ्यका विषयमा महत्त्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए। उनीहरूले यसअघि सामान्य रूपमा गर्दै आएको कामलाई सुरक्षित तरिकाले कसरी गर्ने भन्नेबारे व्यावहारिक ज्ञान हासिल भएको बताउँदै तालिम उपयोगी रहेको धारणा व्यक्त गरेका थिए।

तालिमको समापनमा सहभागी श्रमिकहरूलाई व्यक्तिगत सुरक्षा सामग्रीसमेत वितरण गरिएको थियो। उनीहरूलाई सेफ्टी हेलमेट, औद्योगिक सुरक्षा पोसाक, स्टिल बुट, हार्ड ग्लोभ्स (सुरक्षा पञ्जा), ज्याकेट, मास्कलगायतका सामग्री प्रदान गरिएको थियो।

परियोजना अन्तर्गत सञ्चालन गरिएको यस तालिमले फोहोर व्यवस्थापनमा संलग्न श्रमिकहरूको व्यावसायिक स्वास्थ्य तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नुका साथै सुरक्षित कार्य अभ्यास र व्यक्तिगत स्वास्थ्य संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

  • १७ कार्तिक २०८३, सोमबार प्रकाशित

  • Nabintech